पश्चिम भारतकी रमाबाई रणवीरले दौडका लागि कुनै तालिम लिएकी थिइनन्, उनीसँग दौडने जुत्तासमेत थिएन । पहिलो पटक दौडमा भाग लिएकी उनी खाली खुट्टै दौडेर पहिलो भइन् । आफ्ना श्रीमान् गुमाएकी ४७ वर्षीय रमाबाई सामुदायिक स्तरमा अगस्टमा आयोजना गरिएको तीन किलोमिटरको दौडमा भाग लिनुको एउटै लक्ष्य थियो, पुरस्कार जितेर आफ्ना दुई जना छोरीको पढाइ खर्च जुटाउनु ।
अरूभन्दा चाँडो दौड पूरा गर्दा उनी निकै खुसी भइन् । यससँगै उनले ३,००० भारतीय रुपैयाँ अर्थात् ४,८०० नेपाली रुपैयाँ बराबर पुरस्कार जितेकी थिइन् । जसले उनलाई छोरीहरूका लागि किताब र पठन सामग्री किन्न थोरै भए पनि सहयोग पुग्थ्यो । उनले पुरस्कारमा पाएको पैसा धेरै थिएन । यो रकमले भारतमा उच्च शिक्षाको खर्चको एक छेउ पनि धान्दैन । उनकी एक छोरीले सरकारी जागिरका लागि तयारी कक्षा लिइरहेकी छन् ।
यो पुरस्कार त्यो कक्षाको पूरै शुल्क तिर्न पनि पुग्दैन थियो । तर ती दुई छोरीकी आमा खाली खुट्टा दौडिएको भिडिओ सामाजिक सञ्जाल र पत्रपत्रिकामा फैलिएसँगै त्यसले धेरैको ध्यान खिच्यो । यसले भारतको शिक्षा प्रणालीमाथि थप बहस चर्कायो । ‘यो गौरवको कुरा हो वा हाम्रो समाजका लागि लज्जाको विषय?,’ सामाजिक सञ्जालका एक प्रयोगकर्ताको प्रश्न छ । जीवनमा धावक बन्ने कल्पनासमेत नगरेकी ती महिला एउटा ठूलो विषयको प्रतीक बनिन् ।
शिक्षा पाएर आफ्ना सन्तानको जीवन राम्रो हुने आशामा केही भारतीय परिवारले कुन हदसम्मको सङ्घर्ष गर्छन् भन्ने प्रतीकका रूपमा उनलाई हेरिन थालियो । दौडने निर्णय गर्नु रमाबाईका निकै सजिलो थियो । ‘मेरी ठुली छोरी बिहानै आएर भनिन्, ‘आमा, म दौड प्रतियोगितामा भाग लिन चाहन्छु,’ बीड जिल्लास्थित आफ्नो घरबाट बीबीसी न्यूज मराठीसँग कुरा गर्दै उनले भनिन् । उनलाई कहाँ दौडन लागेको भनेर सोध्दा उनले नजिकै भएको बताइन् ।
पुरस्कारको पैसा जित्न सके पढाइमा सहयोग पुग्ने उनको कुरा थियो । नान्देडमा बस्ने उनकी कान्छी छोरी आरतीलाई किताब किन्न पैसा जुटाउन कठिन भइरहेको थियो । ‘मैले उनको किताब किन्न पैसा पठाउन नसकेपछि उनी आठ दिनसम्म मसँग फोनमा बोलिनन् । त्यसपछि मैले दौडनैपर्छ र दौड जित्नैपर्छ भन्ने निर्णय गरेँ,’ रमाबाईले भनिन् ।
आमा छोरी नै दौडमा
दौडन सुरु गरेपछि उनका चप्पल फुस्किन थाले । उनले चप्पल फुकालिन्, सारी बलियो बाँधिन् र खाली खुट्टै दौडिइन् । महिलातर्फ ३० वर्षदेखि ६० वर्ष उमेर समूहमा अरूलाई पछि पार्दै उनी पहिलो भइन् । उनकी जेठी छोरी पूजा पनि आफ्नो उमेर समूहमा दोस्रो भइन् र उनले पनि पुरस्कार जितिन् । तर पूजा आफ्नी आमाको प्रशंसा गर्दै उनी साहसी भएको बताउँछिन् । सन् २०१२ मा श्रीमान्को मृत्यु भएयता रमाबाईको एक्लो कमाइले उनको परिवार चल्दै आएको छ ।
‘मैले जे काम पाएँ, त्यही गरेँ । अरूका खेतमा भटमास र चना टिपेँ । बेसार पनि बटुलेँ, पिसेँ र बेचेँ,’ उनी सुनाउँछिन् । उनले १३ वर्षकै उमेरमा विद्यालयको पढाइ छाडेकी थिइन् । आफ्ना छोरीहरूले आफूले कहिल्यै नपाएका अवसर पाउनु पर्ने उनी बताउँछिन् । ‘मेरी छोरीहरूलाई राम्रो शिक्षा दिन म बाँचुन्जेल सक्दो गर्छु,’ उनले भनिन् । उनको मात्रै नभई लाखौँ भारतीय परिवारको चाहना यस्तै छ ।
एक जना सन्तानलाई शिक्षा दिलाएर दिगो पेसा नपाउँदासम्म वर्षौँको तयारी र कडा प्रतिस्पर्धा आवश्यक पर्न सक्छ । धेरै परिवारका लागि त्यसमा ठूलो खर्च पनि लाग्छ । रमाबाईकी एउटी छोरी प्रहरी भर्तीको तयारी गरिरहेकी छन् र अर्की निजामती सेवाको । सुरक्षित र प्रतिष्ठित ठानिने यी दुवै सरकारी जागिरमा उत्तीर्ण हुन उच्च प्रतिस्पर्धा गर्नुपर्छ । लाखौँ भारतीय युवा यस्ता परीक्षाको तयारीमा वर्षौँ बिताउँछन् ।
उनीहरूको प्रायः खर्च तयारी कक्षा र अध्ययन सामग्रीमा हुन्छ । तर बारम्बार प्रश्नपत्र बाहिरिएको र अन्य किसिमका अनियमितता सम्बन्धी आरोपले यो परीक्षा प्रणालीप्रतिको विश्वास कमजोर हुँदै गएको छ । यस्ता विवादले शिक्षा, रोजगारी र सुरक्षित भविष्यको अन्योलका कारण भारतीय युवामा व्यापक निराशा बढाएको छ । यही निराशाले भारतको शिक्षा प्रणालीमा परिवर्तनको माग गर्दै विद्यार्थी नेतृत्वका प्रदर्शन र युवा आन्दोलनलाई पनि बल दिएको छ ।
‘मैलेजस्तो दुःख छोरीहरूले भोग्न नपरोस्’
रमाबाईको जस्तो परिवारले शिक्षाका लागि हरेक दिन अनेक त्याग गरिरहेको हुन्छ । श्रीमान्को मृत्युपछि उनी जे काम पाइन्छ त्यही गरेर छोरीहरू पढाइरहेकी छन् । अहिले उनी कान्छी छोरी प्रहरीमा भर्तीको तयारी कक्षा लिइरहेको ठाउँमा खाना पकाउने काम गर्छिन् । रमाबाईको दौडले आम मानिसहरूसँगै भारतीय अधिकारीहरूको ध्यान पनि तान्यो । हालै भारतका प्रधानन्यायाधीश सूर्य कान्तले उनलाई ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन स्थानीय अधिकारीहरूलाई निर्देशन दिए ।
विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष सुखदेव थोराट यो परिवारको कथाले व्यापक संरचनागत चुनौती उजागर गरेको बताउँछन् । रमाबाईका लागि भने यो बहस प्राथमिकताको विषय होइन । आफ्ना छोरीहरूको भविष्य राम्रो बनाउने कुरा नै उनका लागि सबैभन्दा महत्त्वपूर्ण छ । ‘म चाहन्छु, उनीहरूले मैले भोगेजस्तो कठिनाइ भोग्न नपरोस्,’ उनी भन्छन्, ‘उनीहरूले हिलोमा सङ्घर्ष गर्नु नपरोस्, उनीहरू म जस्तो चर्को घाम र झरीमा हिँड्न नपरोस् । मैले जस्तो दुःख मेरा छोरीहरूले भोग्न नपरोस् ।’
