सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा लामो समयदेखि देखिँदै आएको समस्या समाधान गर्न सरकारले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । साउन १ गतेदेखि लागू गरिएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत लाइसेन्स छपाइ सुरु भएसँगै प्रदेश अनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गर्न थालिएको हो ।
पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लाइसेन्स छपाइमा देखिँदै आएको समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइ सुरु गरेको हो । नयाँ व्यवस्था अनुसार ईडीएलभिआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधैँ सुरक्षण मुद्रणमा पुग्छ ।
सुरक्षण मुद्रणले प्राप्त विवरणका आधारमा लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ । यसले लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुने मन्त्रालयले जनाएको छ ।
नयाँ प्रणालीमार्फत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरिएको छ । छपाइ भएका ती लाइसेन्स वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ ।
प्रदेशलाई आफ्नै व्यवस्थापनमा छपाइको बाटो
नयाँ व्यवस्थाले सम्बन्धित प्रदेश सरकारलाई सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्ने बाटोसमेत खुला गरेको छ । सोही अनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ ।
यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको छ । प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राखेर यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइको व्यवस्था मिलाइएको छ ।
नयाँ लाइसेन्स र नवीकरणमा सहजता
ईडीएलभिआरएसमार्फत छपाइ सुरु भएपछि नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउने व्यवस्था कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ । प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको हो ।
