नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको गम्भीर अवस्थामा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्ने अवस्था रहेको उल्लेख गरेका हुन् ।
कांग्रेसभित्र दुई पक्षले १५औँ महाधिवेशनको मिति तोकेर समानान्तर गतिविधि अघि बढाइरहेका बेला खड्काले आफू कुनै पक्षमा नखुलेको स्पष्ट पारेका छन् । उनले सम्भावित पार्टी विभाजन रोक्न आफूले अन्तिम प्रयास गरिरहेको पनि बताएका छन् ।
खड्काका अनुसार आफूले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावलोकनको मागसहित निवेदन दिएका छन् । उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी नभएको उनको भनाइ छ ।
उनले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको महाधिवेशनमा सहभागी हुनु आफूलाई उचित नलागेको बताएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनमा सहभागी हुनु ‘चरम अनैतिक’ हुने आफ्नो विश्वास रहेको उनले उल्लेख गरेका छन् ।
महाधिवेशनका गतिविधि रोक्न माग गर्दै अदालतमा निवेदन दिइए पनि अदालतले कार्यतालिका रोक्ने आदेश नदिएको खड्काले बताएका छन् । यही कारण कांग्रेसमा दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
विचाराधीन पुनरावलोकनको मुद्दालाई गम्भीरतापूर्वक लिएर अग्राधिकारका साथ सुनुवाइ गर्ने व्यवस्था मिलाउन पनि खड्काले सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । उनले पछिल्लो राजनीतिक परिस्थितिले पार्टी विभाजनको जोखिम बढाएको संकेत गर्दै त्यसलाई रोक्न आवश्यक पहल र सहमतिको प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।
