२०८३ असोज ५ , सोमबार 21, September 2026, Monday
मौसमविद्को चेतावनी

असोज ८ देखि १२ गतेसम्म भिषण बर्षाको चेतावनी, ‘हदैसम्म सावधान रहौँ’

बंगालको खाडीबाट आउने न्यून चापीय प्रणालीलाई त्यसले रोक्ने हुँदा त्यो नेपालतिर आएर असोज ८ देखि १२ गतेसम्म सबैभन्दा धेरै वर्षा गराउने देखिन्छ ।

देशमा यो साताको मध्यसँगै वर्षाको गतिविधि बढ्ने सम्भावना छ । कतिपय ठाउँमा अति भारीसम्म वर्षा हुन सक्ने मौसमविद्ले औँल्याएका छन् । बंगालको खाडीमा बन्न लागेको न्यून चापीय प्रणालीको प्रभाव भारतसँगै नेपालसम्म पर्ने पूर्वानुमान छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलले यसको प्रभाव असोज ८ देखि १२ गतेसम्म पर्न सक्ने जनाएका छन् । त्यो अवधिमा देशका विभिन्न भूभागमा भारी वर्षा हुनसक्छ । धेरै क्षेत्र प्रभावित हुन सक्ने सम्भावनाबारे उनले सतर्क पनि गराएका छन् ।

भारी वर्षाको कारण के ?

वर्षा गराउने त्यो न्यून चापीय प्रणाली भारतको ओडिसा हुँदै अघि बढ्ने पूर्वानुमान छ । सेप्टेम्बर २३ (असोज ७) को बिहानसम्ममा दक्षिण ओडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकै रहेको बंगालको खाडीको पश्चिम–मध्य तथा त्यससँग जोडिएको उत्तर–पश्चिमी भागमा पुग्ने उच्च सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ ।

तर, भारत र नेपालका केही विज्ञले त्यसको दिशा अझै स्पष्ट भइनसकेको बताएका छन् । त्यसको प्रभाव क्षेत्र यकिन हुन बाँकी रहेको उनीहरूको भनाइ छ । नेपालमा भीषण वर्षा हुन लागेको हो ? भन्ने प्रश्नमा मौसमविद् डा.पोखरेलले भने नेपालमा त्यसको प्रभाव पर्न सक्नेबारे तर्क पेस गरेका छन् ।

भारतका केही भूभागमा यस वर्षको मनसुनी प्रणाली अन्त्य भइसकेकाले त्यहाँबाट सुक्खा हावा बहन थालेको उनले उल्लेख गरेका छन् । ‘भारतको उत्तरपश्चिम (पन्जाब, हरियाणा, राजस्थान र दिल्लीसम्म) मनसुन सकिएकोले त्यो ठाउँ बाट सुक्खा हावा आउँदै छ,’ उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

बंगालको खाडीबाट आउने न्यून चापीय प्रणालीलाई त्यसले धेरै पर धकेलिन नदिँदा नेपालमा भारी वर्षा हुन सक्ने भन्दै उनले भनेका छन्, ‘बंगालको खाडीबाट आउने न्यून चापीय प्रणालीलाई त्यसले रोक्ने हुँदा त्यो नेपालतिर आएर सबैभन्दा धेरै वर्षा गराउने देखिन्छ ।’ पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि ठूलो जोखिम हुन सक्ने सम्भावना रहेको जनाएका छन् ।

उनले लेखेका छन्, ‘अहिलेसम्मको अवस्थामा बंगालको खाडीमा बिकसित ‘अर्नब’ नामक चक्रवात र यही समय विकसित अन्य मौसमी प्रणालीलाई हाल उपलब्ध प्रायः सबै मोडेलहरुबाट नाप्दा अवस्था भयावह देखिन्छ । संयोगवश १० गते नै सबैभन्दा ठुलो जोखिम हुनसक्ने देखिन्छ ।’

उनले गत बर्षको अति शक्तिशाली मानिएको ‘मोन्था चक्रवात’ले भारतीय पुर्वी–समुद्री तटमा भीषण क्षति गरे पनि नेपाल आइपुग्दासम्म कमजोर भएर न्युन चापीय प्रणालीमा रुपान्तरण भई अनुमानितभन्दा क्षति धेरै कम भएको सुखद् उदाहरण दिँदै भनेका छन्, ‘नडराऔँ, न आत्तिऔँ, सजग रहौँ, हदैसम्म सावधान रहौँ ।’

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार