पूर्वी नवलपरासीको एउटा भीरमा विगत छ महिनादेखि देखिएको भनिएको धुवाँको कारण पत्ता लगाउन पुगेको विज्ञको टोलीले कोइलायुक्त चट्टान र एक प्रकारको खनिजमा रासायनिक प्रतिक्रियाबाट धुवाँ र ताप उत्पन्न भएको आशङ्का गरेको छ ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेल र धौवादी फलाम कम्पनी लिमिटेडका भूगर्भविद् शशि तामाङले उक्त क्षेत्रको स्थलगत निरीक्षणपछि चट्टान र पानीको परीक्षणका लागि नमुना सङ्कलन गरिएको बताए । विज्ञहरूसहितको अध्ययन टोलीले उक्त क्षेत्रका चट्टानमा कोइलामा पाइने कार्बनयुक्त तत्त्वहरू पनि देखिएको जनाएको छ ।
अध्ययन टोलीका अनुसार हुप्सेकोट गाउँपालिका–६ मा रहेको घाँगीभीर क्षेत्रमा ठूलो मात्रामा जमिनमुनिबाट धुवाँ निस्किएको र ताप पनि बढेको छ । ‘छेउछाउ भएका रूखहरू, पातपतिङ्गरहरू पनि जलाउन सक्ने गरी नै राप छ,’ भूगर्भविद् लुइँटेलले भने, ‘त्यहाँनजिकै पानीको गुणमा पनि परिवर्तन भएर अम्लीय बनेको छ ।’
के भन्छ विज्ञहरूको टोली ?

उक्त क्षेत्रमा देखिएको चट्टानमा कोइलामा हुने अवशेष (कार्बनयुक्त चट्टान) देखिएको लुइँटेल र तामाङले बताए । त्यहाँको चट्टानमा ‘पाइराइट’ नामको खनिज पनि हुन सक्ने आशङ्का रहेको उनीहरूको भनाइ छ । त्यो (कार्बनयुक्त चट्टान) राम्रोसँग बल्न चाहिँ सक्दैन । तर सल्कियो भने बल्न नसकेको दाउराजस्तै धुवाँउँछ ।
‘सँगसँगै त्यहाँका चट्टानमा पाइराइट भनिने खनिज पनि रहेछ भने त्यसमा सल्फर हुन सक्छ । त्यसको कारणले अक्सिजन र पानीको सम्पर्कमा पुग्यो भने त्यसले केही ताप सिर्जना गरेर त्यो चट्टान बाल्न मद्दत गर्छ,’ खानी विभागका भूगर्भविद् लुइँटेलले भने । सङ्कलित चट्टानको नमुनाबाट त्यसमा कोइला र पाइराइटको मात्रासहितका विभिन्न सम्भावनाबारे अध्ययन गरिने विज्ञ टोलीले जनाएको छ ।
‘त्यहाँको कार्बनयुक्त चट्टान बलिरहेको पनि छ । त्यसमा तातोपनको कारण चाहिँ त्यहाँको चट्टानमा सल्फाइड खनिजका तत्त्वहरू पनि छन् र त्यसमा पाइराइट पनि मिसिएको हुन सक्छ,’ धौवादी फलाम कम्पनी लिमिटेडका भूगर्भविद् शशि तामाङ भन्छन् । पाइराइट नामको खनिजमा आइरन र सल्फर हुने भएका कारण पानी र अक्सिजनको सम्पर्क हुँदा रासायनिक प्रतिक्रियाबाट त्यसमा ताप र धुवाँ निस्कने जानकारहरू बताउँछन् ।
स्थानीय बासिन्दाका अनुसार पानी परेपछि यो ठाउँबाट आउने धुवाँको मात्रा अझै धेरै बढ्ने गरेको छ । ‘बर्खा सुरु हुनुभन्दा अगाडि चाहिँ सानो धुवाँ थियो । पानी पर्दै गएपछि झन् ठूलो, झन् ठूलो भयो । जति ठूलो पानी पर्छ, धुवाँ त्यति नै ठूलो आउने के,’ स्थानीय बासिन्दा फूलमाया रोका विकले भनिन् ।
खानी हुने सम्भावना छ ?

धुवाँ निस्किएको ठाउँमा अहिले मानिसहरूको भिड जम्मा हुन थालेको छ । लुइँटेलले नजिकै जाँदा हानिकारक ग्याँस पनि आउन सक्ने सम्भावना रहेका कारण मानिसहरूलाई नजिक नजान आग्रह गरिएको बताएका छन् । ‘नजिक नजान र त्यहाँबाट आएको पानी प्रयोग नगर्न भनेका छौँ । त्यसको सम्भावित अन्य जोखिमबारे हामी प्रतिवेदन उहाँहरूलाई पठाइदिन्छौँ,’ उनले भने ।
हुप्सेकोट गाउँपालिका–५ का अध्यक्ष छमबहादुर सोमै मगर धुवाँ आएको ठाउँबाट करिब एक किलोमिटर परको क्षेत्रमा मानवबस्ती रहेको बताउँछन् । निरन्तर धुवाँ आएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा खबर गरिएको मगरले बताए । ‘यहाँ खतरा हुन सक्छ, त्यतातिर नजानूस् । त्यहाँबाट निस्किएको पानी पनि नपिउनूस् भनेर मैले पनि सुझाव दिएको छु,’ उनले भने ।
धुवाँ देखिएको ठाउँमा कार्बनयुक्त चट्टान भेटिएका कारण त्यस ठाउँमा कमसल किसिमको कोइला हुन सक्ने लुइँटेल बताउँछन् । तर त्यहाँ पेट्रोलिअम वा ग्यास खानीको सङ्केत नदेखिएको विज्ञ टोलीको प्रारम्भिक ठहर छ । ‘पेट्रोलियम तथा प्राकृतिक ग्यास चाहिँ यो ठाउँमा देखिएन । तर कार्बनयुक्त चट्टान भनेको अलिकति कमसल किसिमको कोइलाजस्तै हो । तर कोइला भनेर उपभोग वा बिक्री वितरण गर्ने खालको चाहिँ त्यहाँ हेर्दा देखिएन,’ उनले भने ।
‘ज्वालामुखी होइन’

उक्त क्षेत्रमा धुवाँको मुस्लो देखिएका र एउटा चट्टानको कापबाट आगोसमेत बलिरहेको देखिने भिडिओ कतिपयले सामाजिक सञ्जालमा राखिरहेका छन् । ती भिडिओमा प्रतिक्रिया जनाउने कतिपयले उक्त ठाउँमा सुषुप्त ज्वालामुखी समेत हुन सक्ने आशङ्का गरेका छन् । खानी विभागका भूगर्भविद् लुइँटेलले यो ठाउँमा ज्वालामुखीको जोखिम नभएको बताए ।
‘ज्वालामुखीका लागि यो भेगमा उपयुक्त वातावरण छैन । अहिले त्यसमा संशय राख्न परेन,’ उनले भने । गाउँमा धुवाँले हालसम्म प्रत्यक्ष देखिने असर नगरे पनि ठूलो पानी पर्दा जमिन भासिने डरले गाउँलेहरू जागै बस्ने गरेको फूलमाया रोका विक बताउँछिन् । ‘राति अलि ठूलो पानी पर्दा जमिन भासिने हो कि भनेर रातभरि नसुतेर बस्नुपर्ने अवस्था छ । त्यो भासिएर पहिरो झर्ने हो कि भन्ने डर लाग्छ,’ उनले भनिन् ।
यो ठाउँमा सबैभन्दा पहिले गत चैततिर धुवाँ देखिएको स्थानीयवासी । पहिरो गएपछि त्यहाँ धुवाँ निस्कन सुरु भएको स्थानीयले बताएका छन् । उनका अनुसार सुरुमा कसैले आगो बालेको ठानेर स्थानीयले बेवास्ता गरेका थिए । तर बाख्रा चराउन गएका मानिसहरूले चट्टानबाट धुवाँ आइरहेको बताएपछि मात्रै धुवाँको रहस्यबारे खोजी सुरु भएको राना विकले बताइन् ।
स्थानीय बासिन्दा विक केही वर्षपहिले पनि त्यसभन्दा करिब एक किलोमिटर परको पहाडमा पहिरो पनि यसै गरी धुवाँ देखिएको बुढापाकाले सुनाएको बताउँछिन् । तर त्यस ठाउँमा पछि आफैँ धुवाँ आउन छाडेको थियो । अहिले धुवाँ देखिएको ठाउँमा पनि सुरुमा जमिन भासिएको र पछि पहिरो देखिएको स्थानीयवासीको भनाई छ । ‘त्यहाँ धेरै वर्षदेखि जमिन भासिइराखेको थियो । पहिले खेती गर्न कुलो थियो, जमिन भासिँदै गएर त्यो खेत पनि छोड्नुपर्ने भयो,’ उनले भनिन् ।
