एचआइभी महामारीका कारण फिजीको स्वास्थ्य सेवामा निकै ठूलो दबाब परेको छ । एचआइभी सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा बढेपछि फिजीले राष्ट्रिय आपतकालको घोषणा गरेको छ । सरकारले परीक्षण, उपचार र रोकथामका सेवाहरू विस्तार गरिरहेको छ ।
प्रशान्त महासागरमा रहेको यो देशमा अहिले प्रत्येक ६० जना वयस्कमध्ये एक जनामा यो भाइरस छ । पाँच वर्षअघि भने प्रत्येक १६७ जनामा एक जनालाई मात्र यो सङ्क्रमण थियो । एचआइभीका कारण उत्पन्न जटिलताले गर्दा ज्यान गुमाउने शिशुहरूको सङ्ख्या पनि बढिरहेको छ ।
१० लाखभन्दा कम जनसङ्ख्या भएको यो देशमा सन् २०२५ मा मात्रै दुई हजार १६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्यमन्त्री एन्टोनियो लालाबालतवुले अब सामान्य प्रतिक्रिया मात्र पर्याप्त नहुने बताएका छन् । लागूऔषधको बढ्दो प्रयोग, असुरक्षित यौनसम्पर्क, एउटै सुईको प्रयोग र ‘ब्लुटुथिङ’का कारण यो महामारी फैलिएको छ ।
स्वास्थ्य विशेषज्ञ र संघसंस्थाहरूले यो जानकारी दिएका हुन् । ‘ब्लुटुथिङ’ वा ‘हटस्पोटिङ’ भनेको लागूऔषधको नशामा रहेको व्यक्तिको रगत अर्को व्यक्तिले आफ्नो शरीरमा लगाउने खतरनाक तरिका हो । यसले गर्दा अफ्रिका र प्रशान्त क्षेत्रमा एचआइभी तीव्र रूपमा फैलिएको छ ।
यो तरिका सस्तो नशाका लागि प्रयोग गरिन्छ । धेरै जना मिलेर थोरै पैसामा एक पटक लागूऔषध किन्न सक्छन् । फिजीमा सिरिन्ज पाउन गाह्रो भएकाले पनि मानिसहरूले एउटै सिरिन्ज प्रयोग गर्छन् । त्यहाँ प्रत्येक ६० जना वयस्कमध्ये एक जना एचआइभीबाट सङ्क्रमित छन् । एचआइभीका कारण शिशुहरूको मृत्यु हुने दर पनि बढिरहेको छ ।
यो राष्ट्रिय संकटको सामना गर्न फिजी सरकारले सिरिन्ज र नीडल कार्यक्रम सुरु गर्ने भएको छ । फिजीसँग पर्याप्त मात्रामा सिरिन्ज र नीडल उपलब्ध छ । यो कार्यक्रम लागू गर्न सरकारले संसदमा कानुन संशोधन गर्दैछ । स्वास्थ्यमन्त्रीले मानिसहरूलाई अगाडि आएर परीक्षण गराउन आग्रह गरेका छन् ।
सामाजिक विभेदका कारण स्वास्थ्य सेवाबाट टाढा भइरहेको फिजीका स्वास्थ्यमन्त्रीले जनाएका छन् । युएनएड्सका अनुसार सन् २०२५ मा फिजीमा ९,१०० जना एचआइभी सङ्क्रमित थिए । तीमध्ये ३९ प्रतिशतलाई मात्र आफ्नो सङ्क्रमणबारे थाहा थियो । केवल २२ प्रतिशतले मात्र एन्टिरेट्रोभाइरल उपचार पाइरहेका थिए ।
विश्वको औसत अवस्था हेर्दा ७८ प्रतिशत एचआइभी सङ्क्रमितले उपचार पाइरहेका छन् । फिजीको अवस्था भने यसभन्दा धेरै फरक र चिन्ताजनक छ । फिजीको राष्ट्रिय एचआइभी रेस्पोन्स टास्कफोर्सका प्रमुख जेसन मिचेलका अनुसार यो महामारी नियन्त्रणमा लिन फिजीलाई कम्तीमा पाँच वर्ष लाग्नेछ ।
‘यो एउटा दीर्घकालीन कार्यक्रम हो । यो कोभिड जस्तो दुई वर्षमा समाधान हुने विषय होइन । एचआइभी धेरै फरक छ,’ उनले एबीसी न्युजसँग भनेका छन् । एचआइभी महामारीले फिजीको स्वास्थ्य प्रणालीलाई ठूलो भार थपेको मिचेलले बताए ।
‘पहिले नै कमजोर रहेको हाम्रो स्वास्थ्य प्रणालीमा यसले थप दबाब सिर्जना गरेको छ । औषधि उपलब्ध हुँदाहुँदै पनि मानिसहरू अस्पतालको बेडमा भर्ना हुनु परेको छ,’ उनले भने । युएनएड्सले फिजीको आपतकाल घोषणाको निर्णयलाई स्वागत गरेको छ ।
यसले सरकार र समाजलाई थप गम्भीर भएर काम गर्न मद्दत पुर्याउने उसले जनाएको छ । ‘एड्स अझै सकिएको छैन भन्ने कुरा यसले विश्वलाई सम्झाएको छ । एचआइभी महामारी जुनसुकै बेला फैलिन सक्छ । त्यसैले देशहरूले आफ्ना स्वास्थ्य प्रणालीलाई सधैं तयार राख्नुपर्छ,’ युएनएड्सकी कार्यकारी निर्देशक विनी ब्यानिमाले भनेकी छन् ।
