जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुशी भएका छन् । जटिल प्रसूति अवस्था, आपतकालीन एपेन्डिक्स, रिभर्स सुरल आर्टरी फ्ल्याप लगायत जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक हुन थालेपछि जिल्लावासी खुशी भएका हुन् ।
आधारभूत १५ शैंयाको जिल्ला अस्पतालले दैनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवासँगै सुलभ दरमा भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि अस्पतालप्रति जिल्लावासीको विश्वास बढ्दै गएको छ । बाजुरा देशकै दुर्गम हिमाली जिल्ला हो । यसअघि बाजुरावासी शल्यक्रियाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।
सीमित जनशक्ति, औषधि, उपकरण र स्रोत साधनका बीच अस्पतालले विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि यहाँ उपचारका लागि आउने बिरामीको संख्या समेत बढ्न थालेको छ । जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले प्रभावकारी विशेषज्ञ सेवा दिन सुरु भएदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेको बताए ।
उनका अनुसार अस्पतालमा हुम्ला, मुगु लगायत छिमेकी जिल्लाबाट दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । हाल एमडीजीपी, हाडजोर्नी तथा नसारोग विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भइरहेको छ । ‘विशेषज्ञ चिकित्सकको अभावमा विभिन्न सेवासँगै शल्यक्रियाका लागि धनगढी, काठमाडौंसम्म जानुपर्ने अवस्थाको अन्त्य भएको छ,’ सूचना अधिकारी गिरीले भने ।
उनका अनुसार अहिले अधिकांश जटिल शल्यक्रिया यहीं सफलतापूर्वक भइरहेका छन् । दैनिक ओपीडी तथा शल्यक्रिया सेवासँगै चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ । यहाँ बालरोग, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक, कान, घाँटी, मानसिक स्वास्थ्य तथा अन्य आकस्मिक अवस्थाका बिरामीको उपचार हुने गरेको उनले बताए ।
सीमित स्रोत साधनका बीच जिल्ला अस्पतालले निरन्तर जीवनरक्षक तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा.हरिशबहादुर मल्लले बताए । सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको अवस्थामा अस्पतालमै विशेषज्ञ चिकित्सकसहितका सेवा सञ्चालन भएपछि स्थानीयवासीलाई ठूलो राहत मिलेको बताइएको छ ।
एक वर्षमा ३५ हजारले पाए सेवा, ३५१ जना रिफर
जिल्ला अस्पतालमा एक वर्षमा करिब ३५ हजार बिरामीले उपचार सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८२–०८३ मा ३४ हजार ९५५ जना नागरिकको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । सो अवधिमा ३५१ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको थियो ।
चालु आर्थिक वर्षको भदौ मसान्तसम्म जिल्ला अस्पतालमा छ हजार ४६१ जना बिरामीले उपचार सेवा पाएका छन् । यहाँ जिल्लाका नौवटै स्थानीय तहसँगै छिमेकी जिल्ला मुगु, कालीकोट र हुम्लाका नागरिक समेत उपचारका लागि आउने गरेका छन् । त्यस्तै, चालु आर्थिक वर्षको दुई महिनामा मात्रै १३९ जनाको हाडजोर्नीसँग सम्बन्धित सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
करार कर्मचारीको भरमा अस्पताल
यहाँको जिल्ला अस्पतालमा हाल एक जना मेडिकल सुपरीटेन्डेन्ट (नवौं तह) र एक जना आठौं तहका चिकित्सकसहित कुल १८ जनाको दरबन्दी छ । तर अहिले निमित्त मेडिकल सुपरीटेन्डेन्ट (आठौं तह) सहित जम्मा नौ जना मात्रै कार्यरत छन् । बाँकी मेडिकल अधिकृतसहित ८९ जना करार सेवाका कर्मचारी कार्यरत रहेको अस्पतालले जनाएको छ ।
‘संरचना पर्याप्त छ, ५० शैंयाको अस्पताल हुनुपर्नेमा १५ शैंयाको मात्रै हुँदा कर्मचारी पनि कम छन्,’ उनले भने, ‘केही सेवा थप्यौं, तर कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भइरहेको छ ।’ चिकित्सक मल्लले सुदूरपश्चिम प्रदेश सरकारले तत्काल जिल्ला अस्पताललाई ५० शैंयामा स्तरोन्नति गरे दुर्गमका नागरिकलाई ठूलो राहत पुग्ने बताए । अस्पतालको भौतिक संरचना र सेवा विस्तारको तुलनामा जनशक्ति तथा दरबन्दी पर्याप्त नहुँदा उपलब्ध स्रोत साधनबाटै सेवा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
दुई महिनापछि एमडीजीपी सेवा
हालै सुदूरपश्चिम प्रदेश सरकारले एमडीजीपी डा. राहुल श्रेष्ठलाई छात्रवृत्ति करारमा खटाएपछि सेवा प्रवाहमा थप सहजता भएको अस्पतालका प्रमुख चिकित्सक मल्लले बताए । उनका अनुसार अर्थोपेडिक सर्जनको नियमित उपस्थितिले हाडजोर्नी तथा नसासम्बन्धी उपचार र शल्यक्रिया सेवामा थप सहजता भएको छ ।
प्रदेशको बजेट नआउँदा औषधि खरिद प्रक्रिया प्रभावित
सुदूरपश्चिम प्रदेश सरकारबाट चालु आर्थिक वर्षको बजेट नआउँदा औषधि खरिद प्रक्रिया अघि बढाउन समस्या भएको र अहिले जिल्ला अस्पतालमा निःशुल्क औषधिको अभाव हुने अवस्था सिर्जना भएको अस्पताल प्रमुख डा.हरिशबहादुर मल्लले जानकारी दिए । ‘फार्मेसीमा पर्याप्त औषधि छ,’ उनले भने, ‘९८ प्रकारका निःशुल्क औषधि दिनुपर्नेमा करिब ५० प्रकारका औषधि निःशुल्क दिन्छौं, खरिद गर्न बजेट नहुँदा समस्या भएको छ ।’
अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि औषधि, उपकरण र जनशक्तिको व्यवस्थापनमा समस्या देखिएको छ । निःशुल्क औषधिको मौज्दात समेत घट्दै जान थालेको छ । त्यसको प्रत्यक्ष असर दुर्गमका नागरिकमा पर्ने देखिन्छ । भौतिक संरचना, विशेषज्ञ सेवा र शल्यक्रिया सेवामा क्रमशः सुधार हुँदै गए पनि पर्याप्त जनशक्ति, नियमित औषधि आपूर्ति, अत्याधुनिक उपकरण तथा बजेट व्यवस्थापन जिल्ला अस्पतालका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।
दुर्गमका नागरिकले लाखौं रुपैयाँ खर्च गरेर सामान्य उपचारदेखि जटिल प्रकृतिका स्वास्थ्य सेवाका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता अझै कम गर्न सकिने देखिन्छ । यद्यपि जिल्ला अस्पताल प्रशासन र व्यवस्थापन समितिको लापरबाहीका कारण बिरामीको उपचारका लागि समयमै चिकित्सक नआउने तथा बिरामीले विभिन्न दुःख भोग्नुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै पटक–पटक अस्पतालको विरोध समेत हुँदै आएको छ । विगतको तुलनामा अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिरहेको भए पनि पर्याप्त विशेषज्ञ चिकित्सक, अत्याधुनिक उपकरण, नियमित औषधि आपूर्ति तथा व्यवस्थापकीय पक्षलाई थप बलियो बनाउनु पर्ने स्थानीय विष्णु कार्कीले बताए ।
