नेपाली कांग्रेसका सभापति गगन थापाले शनिबारदेखि सुरु हुने वडा अधिवेशन उद्घाटन गरिदिन पूर्वसभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । देउवा पक्षबाट समायोजनमा आएका नेताहरूलाई बिहीबार सानेपामा स्वागत गर्दै सभापति थापाले देउवालाई अधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका हुन् ।
‘श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, अधिवेशन उद्घाटन गरिदिने कुरा हाम्रो लागि सम्मानको विषय हुन्छ,’ उनले भने, ‘पूर्व सिनियर नेतालाई पनि अधिवेशनमा सहभागी भइदिनु हुन आग्रह गर्छु ।’ सभापति थापाले तोकिएको तिथि–मितिमा महाधिवेशन गर्नुपर्ने बाध्यता रहेको बताए ।
कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने तथा असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ । ‘हामी विधान, संविधान र अदालतको आदेशले बाँधिएका छौं । असोज १६ को अधिवेशन रोक्नु नपर्ने भनेको कानुनी भाषामा गर्नु भनेको पनि हो,’ उनले भने, ‘अधिवेशनमा सहभागी हुन सबैलाई आग्रह गर्छु ।’
थापाले सबैलाई समेट्न आफूले आवश्यक लचकता अपनाउने पनि बताए । ‘मेरो तर्फबाट गर्ने कुराहरू गर्न तयार छु । अरू केमा लचकता अपनाउनुपर्ने हो, के मिलाउनुपर्ने हो, तयार छु,’ थापाले भने, ‘कोही पनि साथी अलमलमा नरहनुहोला ।’ थापाले यसअघि पनि निर्धारित कार्यतालिका अनुसार वडा अधिवेशनलगायत महाधिवेशनका प्रक्रियामा सहभागी हुन कांग्रेसका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका थिए ।
