सागरनाथ वन विकास परियोजनाको जग्गामा नदीजन्य पदार्थ उत्खनन गर्दा रोयल्टी असुल नगरी राजस्व चुहावट गरेको मुद्दामा अदालतमा प्रतिकूल बकपत्र दिने सरकारी साक्षीविरुद्ध नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा बयान फेरेपछि रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्रराज आचार्यविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका हुन् ।
यसअघि विशाल घिमिरेसहितका प्रतिवादी संलग्न राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान अधिकारीलाई सहयोग गरेको आधारमा आचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिइएको थियो । उनलाई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेस गरिएको भए पनि गत भदौ १० गते विशेष अदालतमा बकपत्र गर्दा उनले अनुसन्धान अधिकृतसमक्ष गरेको बयानको प्रतिकूल हुने गरी बयान दिएका थिए ।
अनुसन्धानका क्रममा आचार्यले बागमती नगरपालिकासँग प्रचलित कानुनभन्दा कम मूल्यमा नदीजन्य पदार्थ खरिद गर्न सम्झौता गरेको देखिएको छ । सागरनाथ वन विकास परियोजना क्षेत्रमा रोयल्टी दाखिला नगरी गैरकानुनी रूपमा वन पैदावार उत्खनन गरी राजस्व चुहावट गर्ने मुख्य कसुरदारहरूसँगको मिलेमतोमा गैरकानुनी लाभ लिने–दिने कार्यमा सहयोग पु¥याएको पुष्टि भएपछि उनलाई मतियारका रूपमा मुद्दा चलाइएको हो ।
रसुवा कन्स्ट्रक्सनले बागमती नगरपालिकासँग सम्झौता गरी खरिद गरेको ३ हजार घनमिटरको हुन आउने नौ लाख ५३ हजार ४९६ रुपैयाँ ९० पैसा बिगो कायम गरिएको छ । अख्तियारले उनलाई मुख्य कसुरदार सरह सजायको मागदाबी गर्दै कैद, बिगो जफत र चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना हुनुपर्ने दाबीसहित विशेष अदालतमा आरोपपत्र दर्ता गराएको दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
