हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा र त्यस आसपासका क्षेत्रबाट विशेषगरी नयाँ सवारीसाधन किन्नेले सामान्यतः नछुटाउने तीर्थस्थल हो चुरियामाई । विगत वर्षमाजस्तै यस वर्ष पनि विश्वकर्मा पूजाका अवसरमा आज बिहानैदेखि ठाउँठाउँबाट दर्शनार्थी सवारीसाधन पूजा गर्ने लक्ष्यका साथ चुरियामाई आएका छन् । मकवानपुर जिल्लाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडाबाट वीरगन्ज जाने मार्गको छेउमा चुरे पर्वत शृङ्खलामा चुरियामाई मन्दिर अवस्थित छ ।
यो मन्दिरलाई विशेषतः यातायातकी देवीका रुपमा पूजाआजा गर्ने गरिने सो मन्दिरका पुजारी दीलिप नगरकोटीले बताए । नयाँ सवारीसाधन किनेपछि यहाँ आएर दर्शन गरी पूजा गरेमा राम्रो हुने जनविश्वास रहेको यातायात व्यसायी कैलाश थापाले बताए । त्यसैले हेटौँडा तथा त्यस आसपासका क्षेत्रबाट सवारीसाधन ल्याएर पूजा गर्न आउने चलन कायमै छ । चुरे पर्वत शृङ्खलामा रहेकाले यसको चुरियामाई नामकरण गरिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।
हेटौँडा बजारबाट करिब १३ किलोमिटर दक्षिणतर्फ अर्थात् वीरगन्ज जाने पूर्व–पश्चिम राजमार्गको बायाँतर्फ चुरे पहाडको फेदीमा रहेको यो मन्दिरमा दिनहुँ भक्तजनको घुइँचो लाग्छ । बूढापाकाका अनुसार यसअघि चुरियामाईको मूर्ति चुरे पर्वतको टुप्पोमा रहेकामा राणा प्रधानमन्त्री चन्द्र शमशेर राणाको पालामा भक्तजनलाई पूजाअर्चना गर्न सुविधा होस् भनेर चुरे पर्वतको टुप्पोबाट हालको फेदीमा ल्याई स्थापना गरिएको हो ।
राणाकालीन इतिहासको जीवन्त साक्षीका रूपमा रहेको यस मन्दिरले धार्मिक पर्यटनलाई जोड्ने काम गरिरहेको स्थानीयवासी बताउँछन् । मन्दिरमा आकर्षक र कलात्मक शैलीको कालो प्रस्तरको चुरियामाईको मूर्ति छ । वरपर गणेशसहित विभिन्न देवीदेवताका मूर्ति छन् । दर्शनार्थीको घुइँचोलाई व्यवस्थित गर्नका लागि फलामेबारलाई व्यवस्थित गरिएको छ । साथै पूर्व–पश्चिम राजमार्गको चोकबाट उक्लनुपर्ने करिब १० मिनेटको सिँढी बाटोलाई व्यवस्थित गरिएको छ ।
मन्दिरसम्म उक्लदा यहाँको मनोरम प्राकृतिक सौन्दर्यताले जो कोहीलाई लोभ्याउने गरेको छ । मन्दिर परिसरमा रहेको सुरुङमार्ग पनि यहाँको अर्को आकर्षण हो । विसं १८७२ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भई १८७४ सालमा सम्पन्न भएको चुरियामाई सुरुङमार्ग तत्कालीन हेटौँडा–अमलेखगन्ज रेलमार्ग अन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदा हो । करिब दुई वर्ष लगाएर सुरुङमार्ग निर्माण गरिएको हो । यसको नेतृत्व सिभिल इन्जिनियर स्व डिल्लीजङ्ग थापाले गरेका थिए ।
उनको सम्मानमा चुरियामाई मन्दिर परिसरमा सालिक निर्माण गरिएको छ । चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिका सदस्य रामकुमार पुलामीका अनुसार मन्दिर आउने दर्शनार्थीले यहाँस्थित सुरुङमार्गका बारेमा चासोका साथ जान्ने, बुझ्ने र अवलोकन गर्ने गरेका छन् । यसअघि हेटौँडा उपमहानगरपालिकाले संरक्षण र सञ्चालन गर्दै आएको सुरुङमार्गको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी हाल चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
सम्झौताअनुसार समितिले सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनसँगै नियमित रेखदेख, सरसफाइ, मर्मतसम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधार सञ्चालनको जिम्मेवारी निर्वाह गरिरहेको समितिका सदस्य पुलामीले जानकारी दिए । सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरले निर्धारण गरेको शुल्क सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ भने सङ्कलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने प्रावधान छ । लामो समयसम्म प्रयोगविहीन रहेको उक्त सुरुङको बागमती प्रदेश सरकारले स्तरोन्नति गरी संरक्षण र व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
हेटौँडा उपमहानगरपालिका चुरियामाई सुरुङ सञ्चालन कार्यविधि, २०८१’ अनुसार करिब ५०० मिटर लामो सुरुङमार्ग अवलोकनका लागि विभिन्न किसिमको शुल्क तय गरिएका समितिले जनाएको छ । निर्धारित शुल्क अनुसार पाँच वर्ष उमेरसम्मका लागि निःशुल्क व्यवस्था गरिएको छ भने नेपाली नागरिकका लागि रु ५०, विद्यार्थीका लागि रु १०, विदेशी पर्यटकका लागि रु १०० शुल्क तय गरिएको छ । चलचित्र, वृत्तचित्र, म्युजिक भिडियो निर्माणका लागि रु एक हजार शुल्क निर्धारण गरिएको छ ।
