नेपालको एउटा भूभागमा यस्तो कहालीलाग्दो विपत्ति आइपर्यो, जसले केही क्षणमै कैयौँ परिवारको संसार उजाड बनाइदियो । हिमपहिरो, बाढी र पहिरोको विनाशकारी प्रहारले रसुवा र आसपासका क्षेत्रमा घरबार, धनसम्पत्ति मात्र होइन, अमूल्य मानवीय जीवनसमेत खोसिदियो । सोच्ने, सम्झने, बुझ्ने र सम्हालिने मौका समेत नदिई आएको यो प्राकृतिक विपत्तिले धेरैलाई आफ्ना प्रियजनबाट सधैँका लागि छुटायो ।
कतै आफन्तको खोजीमा आँसु बगिरहेका छन्, कतै परिवारका सदस्यको शव पहिचान गर्नसमेत कठिन भइरहेको छ । छरिएका मानवीय अवशेष र सुनसान बनेका बस्तीहरू देख्दा त्यो ठाउँ श्मशानभन्दा पनि भयावह लाग्छ । मनले फेरि प्रश्न गर्छ, आखिर यी निर्दोष मानिसहरूले के अपराध गरेका थिए ? कुन पापको सजाय पाए उनीहरूले ? किन आफ्नै परिवारको काखबाट अकालमै खोसिनुपर्यो ?
नेपाल धर्म, संस्कार र आस्थाको देश हो । भगवान् पशुपतिनाथको दर्शन गर्न देश–विदेशबाट मानिसहरू आउँछन् । दुःखमा भगवानको नाम लिन्छन्, सुखमा भगवानलाई सम्झन्छन् । तर आज यही देशका निर्दोष नागरिक प्रकृतिको निर्मम प्रहारमा परेर ज्यान गुमाइरहेका छन् । त्यसैले मनले भगवानसँग पनि प्रश्न गर्छ, हे पशुपतिनाथ ! तपाईंको चरणमा शिर झुकाउने यी निर्दोष मानिसहरूको पीडा किन टार्न सकिएन ? किन यति ठूलो विपत्ति उनीहरूमाथि आइपर्यो ?
तर आजको शिक्षित पुस्ताले अर्को प्रश्न पनि गर्न सक्छ, यदि यो विज्ञानको युग हो र सबै कुरा विज्ञानले बुझ्न सक्छ भने, विज्ञान खोइ ? हामी आज विज्ञान र प्रविधिको चमत्कारमा गर्व गर्छौँ । मौसम विभागले सूर्य उदाउने र अस्ताउने समयदेखि तापक्रम, वर्षा, हावाहुरीलगायत मौसमसम्बन्धी पूर्वानुमान र सूचना दिन सक्छ । आधुनिक प्रविधिले आकाशमा बादलको अवस्था हेर्न सक्छ, वर्षाको सम्भावना अनुमान गर्न सक्छ, भूगर्भीय जोखिमको अध्ययन गर्न सक्छ ।
तर प्रश्न उठ्छ, यति ठूलो बाढी, हिमपहिरो र पहिरोको सम्भावित जोखिमबारे समयमै विश्लेषण किन हुन सकेन ? यदि यस्ता विनाशकारी घटना आउँदैछन् भन्ने केही घण्टा वा केही समयअगाडि नै अनुमान गर्न सकिन्थ्यो भने ‘यो दिन, यो समय र यो क्षेत्रमा ठूलो बाढी वा पहिरोको जोखिम छ, तत्काल सुरक्षित स्थानमा जानुहोस्’ भन्ने पूर्वसूचना किन पुग्न सकेन ? कम्तीमा मानिसलाई आफ्नो ज्यान जोगाउने अवसर त दिन सकिन्थ्यो कि ?
प्रकृतिलाई रोक्न नसकिएला । हिमपहिरो, बाढी र पहिरोलाई आदेश दिएर रोक्न नसकिएला । तर पूर्वसूचना दिनु, जोखिम पहिचान गर्नु, मानिसलाई सुरक्षित स्थानमा सार्नु र जनधनको क्षति घटाउनु त विज्ञान, प्रविधि र राज्यको जिम्मेवारी होइन र ? यही प्रश्नले आज मन पोलिरहेको छ । कतै यो केवल प्राकृतिक विपत्ति मात्र हो ? कतै हाम्रो पूर्वतयारीको कमजोरी त होइन ? कतै सूचना प्रणाली कमजोर भएर निर्दोष मानिसहरूले ज्यान गुमाउनुपरेको त होइन ?
र फेरि मनमा अर्को भयावह प्रश्न जन्मिन्छ, के यो केवल प्रकृतिको प्रकोप हो वा यसभित्र कुनै मानवीय लापरवाही, राजनीतिक चाल, षड्यन्त्र अथवा अन्य कुनै कारण लुकेको छ ? यस्ता प्रश्नहरू उठ्नु स्वाभाविक भए पनि प्रमाणबिना कुनै राजनीतिक षड्यन्त्र वा जानाजानी गराइएको घटना हो भनेर निष्कर्ष निकाल्नु उचित हुँदैन । तर यति ठूलो विपत्तिपछि यस्ता प्रश्नहरूको निष्पक्ष, वैज्ञानिक र पारदर्शी अनुसन्धान भने अवश्य हुनुपर्छ ।
आज श्रीकृष्ण जन्माष्टमी । संसारले भगवान् श्रीकृष्णको जन्मदिन मनाइरहेको छ । श्रीकृष्णले भगवद्गीतामार्फत कर्म, कर्तव्य, सत्य र न्यायको बाटो देखाउनुभयो । अन्यायका विरुद्ध उभिन र आफ्नो कर्तव्य पूरा गर्न सिकाउनुभयो । त्यसैले आज फेरि मनले सोध्छ, हे श्रीकृष्ण ! तपाईंले अर्जुनलाई कर्तव्य र न्यायको पाठ पढाउनुभयो । आज यी निर्दोषहरूको मृत्युमा न्याय कहाँ छ ? उनीहरूको पीडाको उत्तर कसले दिने ? सायद भगवान्ले आफ्नो तरिकाले संसार चलाउनुहुन्छ ।
सायद प्रकृतिको आफ्नै नियम हुन्छ । र विज्ञानले पनि हरेक विपत्तिको क्षण–क्षणको भविष्यवाणी गर्न सक्दैन । तर मानिसले प्रश्न गर्न पाउँछ, राज्यसँग जवाफ माग्न पाउँछ र विज्ञानसँग अझ राम्रो पूर्वसूचना प्रणालीको माग गर्न पाउँछ । किनकि आजको युगमा हामीलाई केवल प्रार्थना होइन, पूर्वतयारी पनि चाहिन्छ । केवल श्रद्धा होइन, विज्ञान पनि चाहिन्छ । केवल आश्वासन होइन, जिम्मेवारी र जवाफदेहिता पनि चाहिन्छ । आज मेरो मन साँच्चिकै विरक्त भएको छ ।
रोऊँ भने आँसु पनि सुकिसकेजस्तो लाग्छ । हेर्न सक्दिनँ, सम्झन सक्दिनँ । तर ती आमाहरूको रित्तिएको काख, ती बाबुआमाले गुमाएका सन्तान, ती श्रीमान–श्रीमतीको विछोड र आफन्तको खोजीमा भौँतारिरहेका परिवार सम्झँदा मन कसरी चुप बसोस् ? आज एउटा प्रश्न मनभित्र गहिरो गरी गुञ्जिरहेको छ, यो दुःखद अवस्थाको जवाफदेही को हो, भगवान् कि विज्ञान ? सायद यसको उत्तर भगवान् र विज्ञानलाई दोष दिएर मात्र होइन, मानव जिम्मेवारी खोजेर दिनुपर्छ ।
प्रकृतिको प्रकोप रोक्न नसकिएला, तर क्षति घटाउन सकिन्छ । विपत्ति रोक्न नसकिएला, तर पूर्वसूचना दिन सकिन्छ । सबैको भाग्य बदल्न नसकिएला, तर धेरैको जीवन बचाउन सकिन्छ । त्यसैले आजको यो विपत्तिले हामी सबैलाई एउटा गम्भीर पाठ दिएको छ, नेपाललाई अब केवल विपत्ति आएपछि उद्धार गर्ने होइन, विपत्ति आउनुअघि नै पहिचान गर्ने, सूचना दिने र नागरिकको जीवन जोगाउने सक्षम प्रणाली चाहिएको छ ।
रसुवा र आसपासका क्षेत्रमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना । हे भगवान्, पीडितलाई शक्ति दिनुहोस् । हे विज्ञान, अब हामीलाई अझ सक्षम बनाऊ । र हे राज्य, आफ्ना नागरिकको जीवनको मूल्य बुझेर जिम्मेवार बन । ॐ शान्ति ।।।
