गत वैशाख २६ गते कोहलपुरस्थित शान्तिनगर बस्तीमा नगरपालिकाले डोजर लगाएपछि यहाँ बसोबास गरिरहेकालाई अहिले विभिन्न तीन स्थानमा राखिएको छ । जसमध्ये कोहलपुरमा अवस्थित नयाँ बसपार्कको टर्मिनल भवनमा १०० परिवार, दीपशिखा आधारभूत विद्यालयमा १४ परिवार र पुरानो बसपार्कमा दुई परिवार बसोबास गर्दै आएका छन् ।
होल्डिङ सेन्टरमा आएको दुई महिना भइसक्दा पनि सुकुमवासीको स्थायी बसोबासको टुङ्गो लागेको छैन । दुई महिनाअघि कोहलपुर नगरपालिकाले सुकुमवासी बस्तीमा डोजर चलायो, यहाँका धेरै परिवारले सोचेका थिए, नगरपालिकाले चाँडै आफूहरूको उचित व्यवस्थापन गर्ने छ तर नयाँ बसपार्कको टर्मिनल भवनको एउटा कुनामा खुम्चिएर बसिरहेकी मञ्जु महताराको अनुभव सोचेभन्दा निकै फरक र पीडादायी रहेको छ ।
सुरुका दिनमा नगरपालिकाले चिकित्सक पठाउने र रेखदेख गरे जस्तो गरे पनि अहिले यहाँका सुकुमवासी यता न उताको जस्तै भएको मञ्जुले आफ्नो अनुभव सुनाइन् । होल्डिङ सेन्टरमै बसिरहेका अर्का विजय परियारले सुरक्षा अवस्था पनि उत्तिकै चिन्ताजनक रहेको बताए । उनले बसपार्क जस्तो संवेदनशील क्षेत्रमा रहेको यो सेन्टरमा बाहिरका मानिस सजिलै आउजाउ गर्ने र रातको समयमा मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको बताए ।
उनका अनुसार हालसम्म कुनै अप्रिय घटना नभए पनि महिला र बालबालिकाको सुरक्षालाई ध्यानमा राखेर नियमित आफूहरूले सुरक्षा निगरानी बढाउनु परेको बताए । सुरक्षाका लागि सिसी क्यामरा र नजिकै प्रहरी भए पनि भित्रको वातावरण सुरक्षित महसुस हुन नसकेको उनले गुनासो पोखे । नगरपालिकाले छानबिन गर्ने भन्दै पटक पटक घरटहरा हटाउने प्रक्रिया जारी राखेको छ । दुई महिनादेखिको यो अनिश्चित बसाइले विस्थापितको धैर्यको बाँध टुटिसकेको छ ।
छानबिनको प्रक्रिया लम्बिएसँगै यहाँ आश्रित बालबालिका र वृद्धवृद्धा झन् समस्यामा पर्न थालेका सुकुमवासी बालकुमारी सुनारको भनाइ छ । उनले भनिन्, ‘होल्डिङ सेन्टरमा आएको करिब दुई महिना हुन लाग्यो तर अहिलेसम्म नगरपालिकाबाट खाद्यान्न, खानेपानी वा अन्य आधारभूत सहयोग केही पनि प्राप्त भएको छैन । सबै खर्च आफैँले बेहोर्नु परेको छ । यहाँ बस्ने धेरै जना दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्छन् ।’ कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुकुमवासीको व्यवस्थापनका लागि पहल भइरहेको र अब छिट्टै नै नगरपालिकाले उचित प्रबन्ध गर्ने बताए ।
सत्यपाटी