कर्णाली प्रदेशमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्यांक अनुसार कर्णालीमा सबैभन्दा बढी सवारीहरु तीव्र गतिको कारण भएका छन् ।
आर्थिक वर्ष २०८१–०८२ मा एक हजार ८६ सवारी दुर्घटनामा परेकोमा ६४४ घट्ना तीव्र गतिका कारण भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
यस्तै आव २०८२–०८३ मा एक हजार १९७ दुर्घटना भएकोमा ७७१ सवारी दुर्घटना तीव्र गतिका कारण भएका हुन् । आव २०८१–०८२ मा ६४४ घट्ना तीव्र गतिकै कारण भएका रिजालले बताए ।
यस्तै कर्णालीमा सबैभन्दा बढी सवारी दुर्घटनामा पर्ने सवारी चालकहरु २६ देखी ४० वर्षसम्मका छन् । ४४ प्रतिशत दुर्घटना यो उमेर समूहकाबाट हुने गरेको छ । सबैभन्दा दुर्घटनामा परेका सवारीसाधनमा मोटरसाइकल छन् ।
आव २०८२–०८३ मा ४७ प्रतिशत मोटरसाइकलहरु दुर्घटनामा परेका छन् । प्रदेशमा पछिल्लो समय सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या भो थोरै घटेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्यांक अनुसार कर्णालीमा सवारी दुर्घटनाको संख्या बढेपछि मृत्यु हुनेहरुको संख्यामा कमी आएको छ ।
आर्थिक वर्ष २०८१–०८२ को तुलनामा आव २०८२–०८३ मा सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्यामा तीन प्रतिशतले कमी आएको छ । २०८१–०८२ मा १३९ जनाको मृत्यु भएकोमा आव २०८२–०८३ मा १२५ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी रिजालले जानकारी दिए ।
यस्तै दुर्घटनामा पहिलो आर्थिक वर्षमा एक हजार ८६ घाइते भएकोमा पछिल्लो आवमा एक हजार ९७ घाइते भएका छन् । सवारी दुर्घटनामा भने २३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा पछिल्लो आवमा सवारी दर्तामा १६ प्रतिशतले वृद्धि भएको थियो ।
सवारीसाधनको बढ्दो चाप, सवारीसाधनको यान्त्रिक अवस्था, साघुँरा र जीर्ण सडक, कच्ची सडक, सडक तथा राजमार्गहरुमा सुरक्षाका लागि चाहिने आवश्यक पूर्वाधारको अभाव, ट्राफिक नियमको पालनामा केवल ट्राफिक प्रहरीको लागि मात्र हो भन्ने मानविय प्रवृत्ति लगायतका कारणले सवारी दुर्घटनामा वृद्धि भएको रिजाल बताउँछन् ।
दुर्घटना न्यूनीकरणको लागि सुरक्षित कर्णाली अभियानका माध्यमबाट लक्षित वर्गलाई जनचेतनामूलक कार्यक्रम मार्फत सचेत गराइएको एसपी रिजालले बताए । यस्तै सरोकारवाला निकायसँग अन्तरक्रिया, सवारी साधनको यान्त्रिक चेकजाँच तथा चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
मादक र लागु पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकहरुलाई कारबाहीको दायरामा ल्याइएको उनले बताए । गएको आर्थिक वर्षमा आठ हजार २७८ विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
सत्यपाटी