बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगन्जस्थित मत्स्य विकास केन्द्रले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । केन्द्रले उत्पादन गरेका माछाका भुरा तथा खाने माछा बिक्रीबाट आर्थिक वर्ष २०८२–०८३ मा राजस्वमा उल्लेख्य वृद्धि गरेको हो ।
मत्स्य विकास केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रिमबहादुर थापाका अनुसार आर्थिक वर्ष २०८१–८२ मा ३३ लाख १४ हजार ४०० रुपैयाँ राजस्व सङ्कलन भएकोमा गत आवमा १७ लाख ७४ हजार २४२ रुपियाँ वृद्धि भई ५० लाख ८८ हजार ६४२ रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ५३ दशमलव ५३ प्रतिशत बढी हो ।
लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन तथा बिक्री भएकाले राजस्वमा पनि वृद्धि भएको अधिकृत थापाले बताए । उनका अनुसार गत आवमा ह्याचलिङ भुरा दुई करोड, फ्राई भुरा १५ लाख र फिङ्गरलिङ भुरा १२ लाख गरी कुल दुई करोड २७ लाख भुरा उत्पादन गर्ने लक्ष्य राखिएको थियो । त्यस्तै खाने माछा (इयरलिङ) पाँच क्विन्टल उत्पादन गर्ने लक्ष्य थियो ।
तर केन्द्रले लक्ष्यभन्दा बढी ह्याचलिङ दुई करोड ५९ लाख, फ्राई भुरा ६३ लाख ८१ हजार ५८० र फिङ्गरलिङ भुरा २६ लाख २४ हजार ६७२ गरी कुल तीन करोड ४९ लाख ६ हजार २५२ भुरा उत्पादन गरेको छ । यसैगरी खाने माछा (इयरलिङ) १७ दशमलव २१ क्विन्टल उत्पादन भएको केन्द्रले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा केन्द्रले ह्याचलिङ दुई करोड १८ लाख, फ्राई भुरा ३३ लाख १५ हजार २० र फिङ्गरलिङ भुरा २१ लाख २२ हजार ५२० गरी कुल २ करोड ७२ लाख ३७ हजार ५४० भुरा उत्पादन गरेको थियो । सो अवधिमा खाने माछा (इयरलिङ) ५ दशमलव ९४ क्विन्टल उत्पादन भएको थियो ।
सीमित साधनस्रोतका बाबजुद पनि माछाका भुरा उत्पादनमा उल्लेख्य प्रगति भएको अधिकृत थापाले बताए । ‘वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्ने लक्ष्य हुन्छ । हामीले लक्ष्यभन्दा धेरै उत्पादन गर्दै आएका छौँ,’ उनले भने, ‘गत आवमा नयाँ प्रविधिको प्रयोग गरेकाले अघिल्ला वर्षको तुलनामा उत्पादन निकै बढेको हो ।’
वार्षिक दुई करोडभन्दा बढी भुरा उत्पादन गर्दै आए पनि किसानको माग भने अझै पूरा गर्न नसकिएको केन्द्रले जनाएको छ । अधिकृत थापाका अनुसार केन्द्रले उत्पादन गरेको भुराले किसानको मागको करिब ७० प्रतिशत मात्र धान्दै आएको छ। बाँकी माग किसानले निजी नर्सरीबाट पूरा गर्ने गरेका छन् ।
‘हामीले उत्पादन बढाउँदै लगे पनि माग उत्पादनभन्दा धेरै छ । दक्ष प्राविधिक जनशक्तिका कारण क्षमताभन्दा बढी उत्पादन गर्न सफल भएका छौँ,’ उनले भने । केन्द्रको कुल ३ दशमलव ५९ हेक्टर जमिनमध्ये १ दशमलव ८५ हेक्टर जलाशय क्षेत्र रहेको छ । सो क्षेत्रमा भुरा उत्पादनका लागि साना–ठूला गरी २३ वटा पोखरी निर्माण गरिएका छन् ।
तीमध्ये चार वटा रेयरिङ पोखरी, १२ वटा नर्सरी पोखरी, छ वटा माउ पोखरी र एउटा खाने माछा पोखरी रहेका छन् । केन्द्रका अनुसार अण्डाबाट निस्केको पाँचदेखि सात दिनसम्मको भुरालाई ‘ह्याचलिङ’, २५ देखि ३५ दिनसम्मकोलाई ‘फ्राई’, ३५ देखि ४५ दिनसम्मकोलाई ‘फिङ्गरलिङ’, ४५ देखि ६० दिनसम्मकोलाई ‘एड्भान्स फिङ्गरलिङ’ र ६० दिनभन्दा माथिको भुरालाई ‘इयरलिङ’ भनिन्छ ।
लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहत रहेको उक्त केन्द्रले ग्रास कार्प, सिल्भर कार्प, बिगहेड कार्प, भाकुर, रहु, नैनी तथा कमन कार्प प्रजातिका माछाका भुरा उत्पादन गर्दै आएको छ । उत्पादित भुरा बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्युठान, रोल्पा लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका किसानलाई उपलब्ध गराउँदै आएको केन्द्रले जनाएको छ ।
सत्यपाटी