२०८३ साउन ९ , शनिबार 26, July 2026, Sunday

आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिँदै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ साउन ९ गते शनिबार

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । आजकै दिनदेखि घर–घरमा तुलसीको बिरुवा तुलसीको मठमा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु हुन्छ ।

सनातन वैदिक परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज मठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक मान्यता छ ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा.डा.देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ ।

विष्णुको शयनकालका यी चार महिनालाई चतुर्मासा पनि भनिन्छ । वैदिक परम्परा अनुसार एक वर्षमा २४ वटा एकादशी पर्छन् । सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासका आठ एकादशीमा व्रत बस्ने चलन छ ।

कामकाजका कारण नियमित व्रत बस्न नसक्नेहरूले भने हरिशयनी र हरिबोधिनी एकादशीमा फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका विष्णु र नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने धार्मिक परम्परा छ । धार्मिक महत्वसँगै तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिको रूपमा पनि लिइन्छ। वैज्ञानिक अध्ययनले तुलसीले वातावरण शुद्ध बनाउन र अक्सिजनको मात्रा बढाउन सहयोग गर्ने देखाएको छ ।

तुलसी रोपिएको स्थानमा हावा स्वच्छ रहने र विभिन्न रोगका कीटाणुको प्रभाव कम हुने विश्वास पनि गरिन्छ । वास्तुशास्त्रमा समेत तुलसीलाई शुभ र सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ ।

चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी)का दिन भगवान दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ । तुलसी विवाह सम्पन्न भएपछि अग्निस्थापना तथा हवन गरी चतुर्मास व्रतको समापन गर्ने परम्परा रहेको छ ।

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार