२०८३ साउन ९ , शनिबार 26, July 2026, Sunday

मनसुन प्रतिकार्य सुरक्षा बेस तयारी अवस्थामा

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन ९ गते शनिबार

गत केही दिनदेखि सुरु भएको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्दै गएको बेला बाढी र डुबानको सम्भावित जोखिमलाई ध्यानमा राखेर तालिम प्राप्त सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

समितिका अनुसार सोही क्रममा सशस्त्र प्रहरी बलले बाँकेका सम्भावित बाढी जोखिमयुक्त क्षेत्रको पहिचान गरेर राप्तीसोनारी–६ कुण्डामा स्थापना गरेको शसस्त्र प्रहरी बल अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेसलाई चौबिसै घण्टा तयारी अवस्थामा राखिएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाढी र डुबान लगायतका विभिन्न प्रकारका विपदमा तत्काल उद्धार र सहयोगमा खटिनका लागि राप्तीसोनारी–६ कुण्डामा शसस्त्र प्रहरी बल अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरेर ‘स्ट्यान्डबाइ’ राखिएको बताए ।

सशस्त्र प्रहरी नायब निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा सो बेसमा खटिनु भएका तालिमप्राप्त सुरक्षाकर्मीलाई आवश्यक उपकरणसहित २४ घण्टा नै तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले जनाए ।

शसस्त्र प्रहरी बल अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेसमा रहेका सुरक्षाकर्मीलाई सवारीसाधन तथा आवश्यक उद्धार उपकरणसहित ‘स्ट्यान्डबाइ’ राखिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टले बताए ।

उनले मनसुनका बेला सम्भावित बाढी तथा विपद्मा छिटो प्रतिकार्य गर्न र स्थानीय बासिन्दाको सुरक्षाका लागि तत्काल उद्धार एवं राहत कार्यमा खटिनका लागि सो बेस सञ्चालनमा ल्याइएको बताए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले राप्ती नदीमा आउने बाढी र डुबान कटानबाट सबैभन्दा बढी राप्तीसोनारीका स्थानीय बासिन्दा पीडित हुने गरेकाले उनीहरुलाई तत्काल जोगाउन यो बेसले निकै सहयोग पुग्ने बिश्वास गरिएको बताए ।

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार