२०८३ भदौ १५ , सोमबार 1, September 2026, Tuesday

बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा

जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाको दिनमा पनि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ । आजैदेखि सार्वजनिक बिदा (शनिबार र आइतबार) समेत सेवा सञ्चालन हुने गरी काम सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले जानकारी दिए ।

चालु आर्थिक वर्षको सुरुआतदेखि नै राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको अत्यधिक चाप बढेकाले सार्वजनिक बिदाका दिन बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म राष्ट्रिय परिचयपत्र सम्बन्धी काम जारी रहने उनले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँके जारी गरेको सूचनामा भनिएको छ, ‘केहि दिनयता यस कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउने सेवाग्राहीको संख्या उल्लेख्य रुपमा बढ्न गएको सन्दर्भलाई दृष्टिगत गरी सेवा सहजताका लागि आगामी श्रावण ९ र १० गते शनिवार र आइतबार सार्वजनिक विदाका दिनमा समेत बिहान १०ः०० वजेदेखि अपरान्ह ४ः०० वजेसम्म राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन गरिने व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।’

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार