२०८३ साउन ५ , मंगलबार 21, July 2026, Tuesday

२१ करोडको नेपाली अचार विदेश निर्यात

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ साउन ५ गते मंगलबार

पछिल्लो समय व्यावसायिक रूपमै अचार उत्पादन हुन थालेको छ । गृहिणीदेखि विद्यार्थी र पूर्वसांसदसम्म अचार उद्यममा लागेको देखिएको छ । ‘आमाको अचार’की संगीता पाण्डेले ३ हजार रुपैयाँमा १० किलो डल्ले खुर्सानीबाट अचार उद्यम सुरु गरेकी थिइन् ।

‘मैले १० किलो डल्लेको अचारबाट सुरु गरेकी थिएँ, अहिले टन–टनको बन्छ,’ उनले भनिन्, ‘यसपालि डेढ टन खुर्सानीको बनाएँ । तामा, करेला, आँप, काँक्रो जस्ता टन–टनमा सामान ल्याएर अचार बनाएर बेच्छु ।’ आफूलाई भुलाउने बाटोका लागि ४९ वर्षको उमेरमा अचार उद्यम सुरु गरेकी पाण्डेको उद्यमले १४ वर्ष पार गरिसकेको छ ।

आमाको अचार ९० प्रतिशत निर्यात हुने गरेको उनले सुनाइन् । आमाको अचार ब्रान्डमा आँप, मेथी, आलसको छोप, गुन्द्रुक, भटमास, लप्सी, मुला, हरियो खुर्सानीलगायतको अचार बनाउने गरेकी छन् । साथै कुटेको मसलाअन्तर्गत चिकेन मसला, बेसार, बिर्यानी मसला, बफ मसला, चिया मसला, चाट मसला, सुकुटीलगायत बिक्री गर्दै आएकी छन् ।

पूर्वसांसद शान्ता चौधरीले समेत नियमित आम्दानीको स्रोतका लागि अचार व्यवसाय सुरु गरेकी छन् । अनौपचारिक रूपमा एक वर्षअघिदेखि व्यवसाय सुरु गरे पनि उनले औपचारिक रूपमा भने पुस २०८० देखि दाङमा ‘शान्ताको अचार उद्योग’ सुरु गरेकी हुन् । अचार बनाउने आफ्नै सीपलाई व्यावसायिक रूपमा लैजाँदा नियमित आम्दानीको स्रोत बन्ने भएकाले अचार उद्योग सुरु गरेको समेत उनले सुनाइन् ।

अचार बनाउने रहर नभएर बाध्यता भएको र त्यो नै प्रेरणाको स्रोत भएको उनले जनाइन् । अचार बनाउन सुरु गर्दा उनले पाँच सय रुपैयाँ खर्चिएकी थिइन् । अहिले उनले ३५ जनालाई रोजगारी दिइरहेकी छन् । पछिल्लो समय नेपालमा बनेको अचार विभिन्न मुलुकमा पुग्न थालेको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्र २१ करोड १६ लाख ९८ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

यस वर्ष इटाली, अस्ट्रेलिया, बेलायत, क्यानडा, जापान, कोरिया, अमेरिका, बेल्जियम, मौरिसस, डेनमार्क, यूएई, मलेसिया र भारतमा अचार निर्यात भएको विभागले जनाएको छ । पछिल्ला ११ महिनामा सबैभन्दा बढी इटालीमा तीन करोड ७३ लाख ८७ हजार रुपैयाँको ५७ हजार २६७ किलो अचार निर्यात भएको छ । अस्ट्रेलियामा तीन करोड ६४ लाख ८९ हजार र बेलायतमा तीनकरोड ६१ लाख छ हजार रुपैयाँको अचार निर्यात भएको थियो ।

सबैभन्दा कम भारतमा चार हजार रुपैयाँको अचार निर्यात भएको विभागको भनाइ छ । भारतमा अचार निर्यात न्यून देखिए पनि आयात भने बढ्दो छ । भारतबाट तीन करोड ३३ लाख ९१ हजार रुपैयाँको अचार आयात भएको छ । चीनबाट आठ करोड ४८ लाख ८१ हजार, कोरियाबाट तीन लाख ६५ हजार, जापानबाट ३७ हजार र भुटानबाट दुई हजार रुपैयाँको अचार आयात भएको विभागको तथ्यांक छ । विभागका अनुसार अचार आयात र निर्यात बढ्दो छ ।

चालु आर्थिक वर्षको ११ महिनामा २१ करोड १६ लाख ९८ हजार रुपैयाँको अचार निर्यात हुँदा ११ करोड ८६ लाख ७५ हजार रुपैयाँको आयात भएको छ । आर्थिक वर्ष २०८१–०८२ मा १८ करोड २६ लाख ४६ हजार रुपैयाँको अचार निर्यात हुँदा नौ करोड २१ लाख ६१ हजार रुपैयाँको अचार आयात भएको थियो । आर्थिक वर्ष २०८०–०८१ मा १५ करोड आठ लाख १७ हजार रुपैयाँको अचार निर्यात हुँदा सात करोड २१ लाख ६४ हजार रुपैयाँको अचार आयात भएको थियो ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार