प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको मिति नजिकिँदै जाँदा तयारी तीव्र पारिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको औपचारिक भ्रमणमा जाँदै छन् । भारत भ्रमणको आवश्यक तयारीसँगै भ्रमणका क्रममा हुने द्विपक्षीय तथा प्रतिनिधिमण्डलसहितको भेटवार्तामा प्रस्तुत गरिने एजेन्डालाई ठोस रूप दिन परराष्ट्र मन्त्रालय अन्तिम तयारीमा जुटेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल कोप सम्मेलनबाट फर्केलगत्तै प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डालाई अन्तिम रूप दिन मन्त्रालयले मन्त्रालयगत र बहुपक्षीय छलफललाई तीव्र बनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा, मितिलगायत अन्य विस्तृत विवरण उपयुक्त समयमा औपचारिक जानकारी गराइने छ ।’
भारतसँग जोडिएका संयुक्त तथा सम्भावित नयाँ साझेदारीका विषयलाई एजेन्डामा समावेश गर्न परराष्ट्र मन्त्रालयमा तीव्र गतिमा काम भइरहेको छ । छुटेका विषयवस्तु समावेश गर्ने, भएकालाई सङ्क्षेपीकरण गर्ने, पुनरवलोकन गर्ने र आवश्यक थप परामर्श गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । एक दुई दिनभित्र दुईपक्षीय सहमतिमा भ्रमणको औपचारिक मिति घोषणा गर्ने हुने मन्त्रालय स्रोतले जनाएको छ ।
छलफल हुने सम्भावित विषय
भ्रमणका क्रममा प्रधानमन्त्री शाहको भारतीय प्रधानमन्त्री मोदीसँग एकल वार्ता हुने सम्भावना छ । जसमा दुई देशको हितसँगै आपसी साझेदारीलाई दिगो र जनमैत्री बनाउने विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ । भ्रमणलाई लिएर भारत सरकारका तर्फबाट हालसम्म सार्वजनिक भएको जानकारी अनुसार दुई देशका प्रधानमन्त्रीले जनकपुर–अयोध्या रेलवे सेवाको संयुक्त उद्घाटन गर्नेछन् ।
त्यस्तै काभ्रेस्थित प्रहरी प्रशिक्षण केन्द्रको पनि उद्घाटनको सम्भावना रहेको छ । भ्रमणमा क्रममा सम्पर्क सञ्जाल अन्तर्गत रेलवे, सिधा हवाई उडान र सडक तथा पूर्वाधार निर्माणमा साझेदारी हुने सम्भावना छ । जसलाई तिहारअघि भएको दुई देशको परराष्ट्र सचिवस्तरीय बैठकले समेत अनुमोदन गरिसकेको छ । जसअनुसार दुई देशबिच व्यापार तथा पारवहन, विकास सहयोग, ऊर्जा तथा जनस्तरको सम्बन्ध र भोटेकोशी हिमबाढीपछिको पुनर्निर्माणमा सहयोगका विषयमा दुई देशका प्रधानमन्त्रीले छलफल गर्नुहुने छ ।
ऊर्जा सहकार्यमा यस पटक नेपालको हितमा हुने गरेर भारतले सघाउने पहलको सुरुवात भइसकेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूतको भेट र त्यसपछि भएका पहल त्यसका उदाहरण हुन् । प्रधानमन्त्रीको सानो प्रतिनिधिमण्डलबाहेक उद्योगी व्यापारीको छुट्टै टोली पनि भारत जाँदैछ । नयाँ सरकार बनेपछि प्रधानमन्त्री शाहको छिमेकी मुलुकमा हुन लागेको पहिलो भ्रमण हो ।
त्यस्तोमा कूटनीतिक चातुर्यता र राष्ट्रिय हितको सिद्धान्तलाई हरेकले ख्याल गर्नुपर्ने पूर्वपरराष्ट्र सचिव डा.मदनकुमार भट्टराई औँल्याउँछन् । पुराना बल्झिरहने विषयबाहेक देश र जनताको दीर्घकालीन हित हुने सवालमा साझेदारी गर्न सके भ्रमण सफल हुने उनको विश्वास छ । भट्टराईले भने, ‘राजनीतिक विमर्शले मात्र देशको हित हुँदैन, नेपालमा कम्तीमा पाँच सात वटा उद्योग खोल्ने र लगानीको वातावरण बनाउन सकियो भने देशमा भएको बेरोजगारी र आर्थिक समस्याले राहत पाउने छ भन्ने ख्याल प्रधानमन्त्रीले गर्नु पर्छ ।’
विगतमा जस्तो जाने, हात मिलाउने र घुमेर आउने लम्बेतान प्रवृत्तिभन्दा कृषिमा आधुनिकीकरणसँगै जलस्रोत र ऊर्जाको समुचित उपयोग गर्ने, आधुनिक प्रविधि, नवप्रवर्तन जस्ता विषयमा योजना साटासाट गर्ने विषयमा गहन छलफल गर्नुपर्छ । वार्तासँगै हरेक वर्ष कम्तीमा एक पटक सँगै खाना खान भेट हुने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए । एकपटक भेटेपछि बर्सौं कुराकानी नगर्ने चलनले समाधान दिँदैन । उनले थपे, ‘कहिले कुशीनगरमा, कहिले लुम्बिनीमा, कहिले अयोध्यामा र कहिले जनकपुरमा एक दिन भेट्ने कार्यसूची बनाउन सके निरन्तर वार्ता र छलफलको वातावरण बन्छ । त्यसका लागि नेपालको प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई प्रस्तावसँगै निमन्त्रणा दिनुपर्छ । अर्को वातावरण भारतले आफैँ बनाउँछ ।’
