बाँकेको राप्ती सोनारी गाउँपालिकामा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी १० परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । राप्तीसोनारी गाउँपालिका–४, बैजापुरका १० परिवारलाई आज बुधबार एक कार्यक्रमबीच जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको हो ।
जिल्ला भूमि समस्या समाधान समिति बाँकेको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको सहयोग र सहकार्यमा वडा कार्यालय बैजापुरमा आयोजित कार्यक्रममा लामो समयदेखि जग्गाधनी प्रमाण पुर्जाको पर्खाइमा रहेका परिवारलाई जग्गाको कानुनी स्वामित्व स्थापित गर्ने प्रमाणपुर्जा वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला भूमि समस्या समाधान समिति बाँकेका अध्यक्ष दिलकुमार तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरी र राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।
राप्तीसोनारी गाउँपालिका–४ का वडाध्यक्ष मिनराज खड्काका अनुसार जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नेमा स्थानीय भीम बहादुर विष्ट र दिपा विष्ट, चेतप्रकाश दमाई र निर्मला दमाई, जंगे कामी र कलि कामी, विस्णी दमाई र मंसराम दमाई, केशरी घर्ती मगर र देविराम घर्ती मगर, दुर्गा बहादुर पुन र मनु देवी पुन, टंक बहादुर मल्ल र विष्ण्ॉदेवी मल्ल, जानकी विष्ट र छविलाल विष्ट, वीरबहादुर घर्ती मगर तथा सीताकुमारी कुम्हार र पुरन कुम्हार रहेका छन् ।
कार्यक्रममा सांसद चौधरी, गाउँपालिका अध्यक्ष पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख जिल्ला अधिकारी तामाङ र वडाध्यक्ष खड्काले लाभग्राही परिवारलाई संयुक्त रूपमा जग्गाधनी दर्ता प्रमाणपुर्जा हस्तान्तरण गरेका थिए । जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि वर्षौंदेखि भूमिहीन अवस्थामा रहेका परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । यसले उनीहरूलाई सुरक्षित बसोबासको आधार तयार गर्नुका साथै राज्यबाट प्राप्त हुने विभिन्न सेवा तथा सुविधामा पहुँच स्थापित गर्न समेत सहयोग पुग्नेछ ।
