२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

पर्यटकको चाप बढेसँगै लुक्लामा उडान वृद्धि

सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने अति व्यस्त तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आजभोलि सगरमाथा तथा अन्य हिमशृङ्खला अवलोकन गर्न आउने पर्यटकको आगमन बढेपछि दैनिक रूपमा २०० भन्दा बढी उडान भइरहेका छन् ।

विमानस्थलका निमित्त प्रमुख नवराज कटुवालका अनुसार लुक्लामा हेलिकप्टरसमेत जोड्दा दैनिक औसतमा करिब २०० उडान हुने गरेका छन् । यो सिजनमा लुक्लामा विदेशी तथा स्वदेशी पर्यटकको आगमन बढेको छ ।

सगरमाथा क्षेत्रको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको तेन्जिङ हिलारी विमानस्थलमा सगरमाथा आधार शिविर, गोक्यो उपत्यका, कालापत्थर लगायतका हिमाली गन्तव्यमा जाने तथा यात्रा सकेर फर्कने पर्यटकको चहलपहल बढेको हो ।

पदयात्राका लागि विभिन्न देशबाट पर्यटक आउने क्रम पछिल्ला दिनमा बढेसँगै लुक्ला विमानस्थलमा यात्रुको चापसमेत बढेको हो । विशेषगरी नाम्चे बजार हुँदै सगरमाथा आधार शिविर जाने पर्यटकको सङ्ख्या बढेको छ ।

यात्रुको चाप बढ्नु र लुक्ला–काठमाडौँबीच सीमित उडान हुनुका कारण हवाई टिकट पाउन कठिन भएको छ । टिकट नपाउँदा कतिपय यात्रु विमानस्थलमै लामो समय पर्खिन बाध्य भएका छन् । लुक्लामा तारा एयर, समिट एयर र सीता एयरले नियमित हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।

यस्तै, विभिन्न हेलिकप्टर कम्पनीले पनि खुम्बु क्षेत्रमा पर्यटक ओसारपसार तथा हिमाल अवलोकनका लागि उडान सञ्चालन गरिरहेका छन् । समिट एयरका लुक्ला प्रमुख लाक्पाकाजी शेर्पाका अनुसार पछिल्लो समय विभिन्न देशबाट पर्यटक लुक्ला आउने क्रम बढेको छ । पर्यटकको प्रमुख आकर्षण सगरमाथा आधार शिविर बनेको उनले बताए ।

पर्यटक आगमन बढेसँगै लुक्ला तथा आसपासका क्षेत्रका होटल, रेस्टुरेन्ट, पर्यटन गाइड, भरिया र स्थानीय व्यापारीको व्यवसायमा समेत चहलपहल बढेको छ । पदयात्राको व्यस्त मौसमले पर्यटन व्यवसायमा निर्भर स्थानीय बासिन्दाका लागि आम्दानी र रोजगारीका अवसर सिर्जना गरेको छ ।

यद्यपि, पर्यटकको चाप बढ्दै जाँदा कतिपय होटल तथा व्यवसायीलाई आगन्तुकको व्यवस्थापन गर्न कठिनाइसमेत हुन थालेको छ । शरद ऋतु सगरमाथा क्षेत्रमा पदयात्राका लागि उपयुक्त मौसम मानिने भएकाले पर्यटकको आगमन बढेको बताइएको छ ।

केही दिनअघि खराब भएको मौसममा सुधार भएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य मनोरम दृश्य अवलोकन गर्न जहाजमार्फत आउने पर्यटकको सङ्ख्या उच्च रहेको बताइएको छ । दैनिक ५०० भन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक लुक्लामा मात्र आउने गरेका छन् । खुम्बु क्षेत्रको बाटोमा हिँड्नसमेत समस्या भइरहेको लुक्लाका तोया श्रेष्ठले बताए ।

केही समयअघि एकोहोरो रूपमा पर्यटक आउने गरेकोमा अचेल फर्कनेको सङ्ख्यासमेत उस्तै रहेको छ । यो मौसममा हरेक वर्ष लुक्ला विमानस्थलमा बढी उडान हुने गर्दछ । सिजनका बेला पर्यटकीय विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर एयरलाइन्सहरूले उडान गर्ने भएकाले जिल्लाका अन्य विमानस्थलमा भने उडान कम हुँदै आएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर २ गते बुधबार