२०८३ जेठ २७ , बुधबार 10, June 2026, Wednesday

मनसुन भित्रन चार दिन बाँकी, पूर्वबाट प्रवेश गर्ने सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ २७ गते बुधबार

यस वर्षको मनसुन भित्रने समय आउन अब चार दिन मात्र बाँकी छ । अघिल्लो वर्षदेखि मनसुन भित्रने समय केहीदिन पर सर्दै जुन १३ तारिखमा स्थानान्तरण भएको हो । सोही अनुसार आउँदो एक साताभित्र मनसुन भित्रने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार भारतको केरलामा जुन ४ तारिखमा मनसुनको न्यून चापीय रेखा प्रवेश गरिसकेको छ । त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब १० दिन लाग्छ । मौसमविद् रोजन लामिछानेले भने, ‘बङ्गालको खाडीबाट अगाडि बढेको मनसुन केरलाबाट अगाडि बढ्ने क्रममा रहेको छ, नेपालको पूर्वी भू–भागबाट प्रवेश गर्न सक्छ ।’

सुरुवातमा पूर्वको थोरै भू–भागमा मनसुन फैलने सम्भावना रहेको उनले बताए । मनसुनको नेपाल आगमनबारे यतिखेर मौसमविद्हरूको टिमले अध्ययन गरिरहेका छन् । मौसमविद् लामिछानेले सुनाए, ‘केही दिनदेखि लगातार हामी सामूहिक तथा अन्तर्राष्ट्रिय छलफल गरिरहेका छौँ, कसरी आउँछ र कत्तिको प्रभावकारी आउँछ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।’

कसरी आउँछ मनसुन ?

हरेक वर्ष वसन्त ऋतुपछि वर्षा ऋतु आउँछ । यो ऋतुहरूको फेरबदलका क्रममा जमिन र समुद्रको सतह दुवैतिर हावाको दबाब बढ्छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार गर्मीको समयमा समुद्रबाट जमिनतिर पानीको कणसहितको हावा बहन्छ भने जाडोको समयमा जमिनको तातो हावा समुद्रतिर जान्छ । यही समग्र प्रक्रियालाई नै मनसुन भनिन्छ ।

मनसुन भित्रने भनेको चाहिँ पानीका कणसहितको जलवाष्पयुक्त हावा जमिनतिर बहनु हो । उनले भने, ‘गर्मीमा जमिनभन्दा समुद्रको हावाको दबाब क्षेत्र बढी बन्छ, त्यो तातिएको हावा जमिनतर्फ सर्छ, त्यो प्रक्रियालाई नै मनसुन भित्रने भनिएको हो ।’ नेपालमा वर्षभरिमा पर्ने वर्षाको ८० प्रतिशत वर्षा मनसुनकै समयमा पर्छ ।

नेपालमा आउने मनसुनी हावाको सिर्जना सुरुवातमा पृथ्वीको दक्षिण गोलाद्र्धस्थित दक्षिण अफ्रिकी मुलुक माडागास्करआसपासमा हुन्छ । त्यहाँको वातावरणीय परिवर्तनसँगै बङ्गालको खाडीमा पनि मनसुनी वायुको दबाब बढ्छ । त्यहाँबाट त्यो जलवाष्प मनसुनी वायु बनेर भारतको केरला, मध्यप्रदेश हुँदै नेपालको पूर्वी क्षेत्रबाट भित्रने गर्छ ।

जेठको चौथो साता प्रवेश हुने मनसुन असोजको तेस्रो सातामा बाहिरिने गरेको छ । मौसमविद् अधिकारीका अनुसार नेपालको मनसुनमा वर्षा गराउने अर्को प्रणाली अरब सागरमा विकास हुन्छ । त्यहाँको जलवाष्पयुक्त वायुले नेपालको मध्य र पश्चिम भू–भागमा मनसुनी वर्षा गराउने गर्छ । नेपालमा भित्रने मनसुनी न्यून चापीय रेखाको सरदर स्थान भारतको गङ्गा किनार आसपास हो ।

त्यहाँबाट त्यो रेखा जलवाष्पयुक्त वायुसहित नेपालको दक्षिण तराई नजिक सर्दा नेपालमा वर्षा बढी हुने गरेको छ । कृषि मौसमविद् रामेश्वर रिमालले भने मनसुन भित्रने एकिन नभएको बताए । उनले भने, ‘मनसुन भित्रनै नेपालमा ढिला होला जस्तो छ, उता किसानले ब्याड हालिसके, खेती कसरी गर्ने भनेर हामीले भन्न सकेका छैनौँ ।’

मनसुन भित्रेपछि पनि अर्को पानी चाहिने बेला वर्षा भएन भने धान डढ्छ वा अतिवृष्टि हुँदा डुब्छ । सुक्खा र डुबान सहनेखालको धान लगाउनु भनेर प्रारम्भिक रूपमा भनेका छौँ । सरकारलाई सुझाव र समग्र कृषिको अनुमान मनसुन भित्रिएपछि तय गर्न सकिने उनले बताए ।

अलनिनो प्रभाव

विश्व मौसम सङ्गठन र क्षेत्रीय मनसुन फोरमले यस वर्षको मनसुनमा कम वर्षा हुने अनुमान एक महिनाअघि नै गरिसकेको छ । जसले दक्षिण एसियाली मुलुकमा कम वर्षासँगै वर्षाको बदलिँदो प्रवृत्तिसमेत भित्र्याउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य सङ्गठनले अनुरोध गरेको छ । माल्दिभ्सको मालेमा अघिल्लो महिना आयोजित मनसुन फोरमले दक्षिण एसियाका नौ राष्ट्रमा हुने मनसुनको विश्लेषण गरेको थियो ।

जसमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्काका मौसम सङ्गठनसहित पूर्वानुमान विश्लेषण भएको थियो । हिन्द महासागर र अरब सागरमा अहिले तटस्थ अवस्थामा रहेको अलनिनो (पानी कम पार्ने प्रणाली) प्रणालीले नेपालमा मनसुन भित्र्याउन खासै अवरोध गरेको अवस्था छैन । तर मनसुन भित्रिएको एक महिनालगत्तै अलनिनो प्रणाली बलियो हुने अवस्था देखिएको मौसमविद् रोजन लामिछानेले बताए ।

अलनिनो तटस्थ हुँदा लानिनो सक्रिय रहन्छ । जसले मनसुनमा वर्षा गराउन मद्दत गर्छ । उनले भने, ‘तर जुलाई र अगस्टमा लानिनोलाई विस्थापित गर्दै अलनिनो अधिक बलियो हुने अनुमान विश्वका मौसमविद्ले गर्नुभएको छ, जुन नेपालको मनसुनी वर्षाका लागि राम्रो सङ्केत हैन ।’ विश्व मौसम सङ्गठनका अनुसार जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको चक्रले दक्षिण एसियाको धेरैजसो भू–भागको जीवनलाई सिञ्चित गर्छ ।

यस मनसुनमा पूर्वानुमान गरिएको औसतभन्दा कम मनसुनी वर्षाले ती सबै चक्रमा नकारात्मक असर पार्ने सम्भावना रहेको छ । विश्व मौसम सङ्गठनको पूर्वानुमानको पुनर्विश्लेषण गर्दै संयुक्त राष्ट्रसङ्घले यस वर्ष विश्वव्यापी तापक्रम थप बढ्ने र त्यसले चरम मौसमी घटना निम्त्याउन सक्ने भएकाले त्यसको प्रतिकार गर्न हरेक मुलुकलाई गत साता अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार