२०८३ जेठ २७ , बुधबार 10, June 2026, Wednesday

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व संकलन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ २७ गते बुधबार

सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ ।

त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण संघ (एनएमए)ले अनुमति दिँदै आएको छ । यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्यान्डका ३२, फ्रान्सका २७ जना रहेका छन् । यस वर्ष ३१ वटा हिमाल चढ्नका लागि एक हजार १९५ आरोहीले अनुमति लिएकामा सगरमाथा आरोहण अनुमति लिने ४९५ रहेका छन् ।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले सगरमाथा आरोहण अनुमति लिनेमा ५६ देशका ३९० पुरुष र १०५ महिला रहेको जानकारी दिए । अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा ‘गाइड’ गरी करिब एक हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको उनले बताए । यस वर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चीनका आरोही पुगेका छन् ।

यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्यान्डका ११ आरोही पुगेका छन् । यस वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरीता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । सोलुखुम्बुका शेर्पा गत जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नो रेकर्ड तोडेको बोर्डका सूचना अधिकारी गौतमले जानकारी दिए ।

यस्तै, महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी छन् । उनले पनि आफ्नै रेकर्ड तोडेकी छन् । सरकारले सगरमाथा आरोहण अनुमतिबाट रु एक खर्ब आठ करोड १० लाख ७२५ राजस्व सङ्कलन गरेको बोर्डका सूचना अधिकारी गौतमले जानकारी दिए । उनका अनुसार लोत्से हिमालबाट रु छ करोड ६८ लाख ७१ हजार ९९० राजस्व सङ्कलन भएको छ ।

यस्तै, मकालु पहिलोबाट रु.तीन करोड १७ लाख ८५ हजार ८००, आमादब्लमबाट रु.एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजङ्गाबाट रु.एक करोड ६५ लाख ४० हजार ५००, अन्नपूर्ण पहिलोबाट रु.एक करोड २० लाख ४९ हजार १७५ राजस्व सङ्कलन भएको छ । यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएबापत सरकारले रु.एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार