पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्ये एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा आयात तथा निर्यात दुवै वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ११ प्रतिशतले आयात र करिब १० प्रतिशतले निर्यात वृद्धि भएको हो ।
यस वर्ष वैशाख महिनासम्म यो नाकाबाट ७० अर्ब २३ करोड ९ लाख २४ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । गत वर्ष सोही अवधिमा ६३ अर्ब ३२ करोड ७० लाख ६० हजार रुपैयाँ बराबरको सामान आयात भएको थियो । गत वर्षको तुलनामा हालसम्म करिब सात अर्ब रुपैयाँ बराबरको आयात वृद्धि भएको देखिन्छ ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चालु आर्थिक वर्षको १० महिनामा यो नाकाबाट दुई अर्ब ८२ करोड ६९ लाख ६७ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ । गत वर्ष सोही अवधिमा दुई अर्ब ५८ करोड ३० लाख २६ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।
यसअनुसार करिब २४ करोड रुपैयाँभन्दा बढीले निर्यात वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । यो नाकाबाट सबैभन्दा बढी आयात हुने वस्तुहरूमा पेट्रोलियम पदार्थ, चामल, दाल, कपडा, मकै लगायत खाद्यान्न, चिनी, तरकारी तथा फलफूल र विभिन्न मेसिनरी सामानहरू छन् । त्यसैगरी, निर्यात हुने वस्तुहरूमा जडीबुटी, खोटो–रोजिन, टर्पेन्टाइन तेल, काजु हस्क, अदुवा सुठो, खरेटो कुचो, बहुमूल्य पत्थर, सिलाजित पेस्ट र सिमेन्ट खैरो रहेका छन् ।
यसका साथै खयर कत्था, वनस्पतिका सार, एसेंशियल आयल, रिठ्ठा तथा नौनी बटर घ्यूको निर्यात पनि उल्लेख्य रूपमा वृद्धि भएको भन्सार कार्यालय प्रमुख पौडेलले बताए । उनका अनुसार आयात–निर्यात दुवै वृद्धि भए पनि राजस्व संकलन भने करिब दुई प्रतिशत मात्र वृद्धि भएको छ । नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा १६ अर्ब ४६ करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
सत्यपाटी