२०८३ जेठ २७ , बुधबार 10, June 2026, Wednesday

बाजुराको रानीसैनमा ३५ बढी परिवार लखेटिए, भेडीगोठमा आगजनी

सत्यपाटीसत्यपाटी । बाजुरा । २०८३ जेठ २७ गते बुधबार

दुई साताअघिको कुटपिट र दुर्व्यवहार घटना सेलाउन नपाउँदै बाजुराको रानीसैन, लाम्पाटा क्षेत्रमा पुनः तनाव बढेको छ । हुम्ला क्षेत्रका बासिन्दाले बाजुराको हिमाली गाउँपालिका–३ स्थित रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी गरेको स्थानीयले बताएका छन् ।

स्थानीय भोटे समुदायका अनुसार हुम्लाबाट आएका व्यक्तिहरूले रानीसैन क्षेत्रमा भेडा चराउनका लागि अस्थायी रूपमा बसोबास गर्दै आएका बाजुराका नागरिकलाई २३ जेठमा लखेट्नुका साथै उनीहरूका भेडीगोठमा आगजनी गरेका छन् । रानीसैनमा भोटे समुदायले प्रयोग गर्दै आएका मोबाइल फोनसमेत खोसेर लगिदिएको भोटे जनजाति महासंघका केन्द्रीय अध्यक्ष जनक भण्डारीले बताए ।

जनजाति समुदायका ३५ बढी परिवार रानीसैनमा भेडा, घोडासहित पुगेका थिए । हुम्लाबाट आएका स्थानीयले ‘यो हुम्लाको क्षेत्र हो’ भन्दै उनीहरूलाई लखेटेर भेडीगोठमा आगजनीसमेत गरेका हुन् । अस्थायी बसोबासका लागि प्रयोग गर्दै आएको बासस्थान जलाउनुका साथै अमानवीय व्यवहार गरेको स्थानीयले बताएका छन् । भेडीखर्कमा लगिएको खानेकुरा तथा भाँडाकुँडासमेत जलाइदिएको भोटे जनजाति महासंघले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पनि भेडीगोठ जलाएको देख्न सकिन्छ । प्रहरीकै अगाडि हुम्लाका एक स्थानीयले ‘रानीसैन हुम्लाको हो, बाजुराका जनजातिलाई यहाँबाट धपाएको हो’ भनेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । रानीसैन क्षेत्र नक्सा र गुगल म्यापमा बाजुरामा रहेको प्रष्ट देखिन्छ । लाम्पाटा र चियाचौरको जग्गामा बाजुराको मालपोत र नापी कार्यालय रहेको छ ।

यही जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहितको टोलीमाथि आक्रमण गरिएको थियो । घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए ।

जेठ ३ गते हुम्लाबाट आएका स्थानीयले लाम्पाटा गाउँ पुगेर वडा सदस्य पेमागारा गुरुङ लगायत स्थानीयलाई कुटपिट गरी बन्धक बनाएका थिए । पछिल्लो घटनाले रानीसैन क्षेत्रको विवाद झन् जटिल बन्दै गएको स्थानीयको भनाइ छ । भोटे समुदायका व्यक्तिहरूले आफूहरू असुरक्षित बनेको गुनासो गर्दै तत्काल सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी आगजनी, कुटपिट तथा लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । पछिल्लो समयमा भएको रानीसैन घटनाबारे जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरा तथा सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले प्रहरीको टोली आज रानीसैन पुग्ने र घटनाबारे जानकारी लिने बताए ।

निरौलाका अनुसार बुधबारबाट हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्नेगरी तयारी भइरहेको छ । उक्त चौकीमा सशस्त्रको २१ जना र जनपथका ७ जना जनशक्ति रहनेछन् । बाजुरा प्रहरी प्रमुख शैलेश्वरी बोहोराले प्रहरी निरीक्षक लक्षिराज जोशीको नेतृत्वमा रानीसैनमा प्रहरी पठाइसकेको बताइन् । हुम्लाबाट पनि प्रहरीको टोली केही दिन पहिले नै रानीसैन पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार