प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गरेको छ । हालको १६ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्रीहरू नियुक्त भएका छन् ।
यससँगै सरकारमा महिला सहभागिता ३७.५ प्रतिशत अर्थात् झन्डै ४० प्रतिशत पुगेको छ, जसलाई राज्यको नीति निर्माण तहमा महिला सशक्तीकरणको एउटा बलियो उदाहरण मानिएको छ ।
यस मन्त्रिपरिषद्मा सोविता गौतमले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् भने गीता चौधरीलाई कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रीको कार्यभार दिइएको छ ।
त्यसैगरी, सीता वादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व गरेकी छन् । स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी निशा मेहतालाई सुम्पिएको छ ।
मन्त्रिपरिषद्का अन्य महिला सदस्यहरूमा प्रतिभा रावल हुनुहुन्छ, जसले संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हालेकी छन् ।
पछिल्लो पटक शुक्रबार प्रधानमन्त्री शाहको सिफारिसमा गौरीकुमारी यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएपछि महिला मन्त्रीको सङ्ख्या ६ पुगेको हो ।
गत चैत १३ गते सरकार गठन हुँदा सुरुमा पाँच जना महिला मन्त्रीहरू नियुक्त भएका थिए । यादवको नियुक्तिसँगै मन्त्रिपरिषद्ले थप पूर्णता पाउनुका साथै समावेशी स्वरूप अझै स्पष्ट देखिएको छ ।
सत्यपाटी