२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday
विचार

पृथ्वीपथ र आधुनिक नेपालको आवश्यकता

पृथ्वीपथ इतिहासको पानामा सीमित दर्शन होइन, भूराजनीतिक सन्तुलन, आर्थिक आत्मनिर्भरता, दिगो विकास र सुदृढ राष्ट्रिय एकताको समन्वित दृष्टिकोण हो ।
शुभायू सुवेदीशुभायू सुवेदी । काठमाडौं । २०८२ पुस २७ गते आइतबार

राष्ट्रनिर्माता पृथ्वी नारायण शाहद्वारा प्रतिपादित पृथ्वीपथ केवल ऐतिहासिक नारा वा विगतको नीति मात्र होइन, आजको बदलिँदो विश्व परिवेशमा पनि नेपालको भूराजनीतिक स्थायित्व, आर्थिक आत्मनिर्भरता, दिगो विकास र राष्ट्रिय एकताको मार्गदर्शक सिद्धान्त हो । उहाँले नेपालको भौगोलिक अवस्थिति, सांस्कृतिक विविधता र राजनीतिक संवेदनशीलतालाई गहिरो रूपमा बुझ्दै अघि सारेका विचारहरू आज झनै सान्दर्भिक बन्दै गएको देखिन्छ । भूराजनीतिक दृष्टिले नेपाल दुई उदाउँदा शक्तिशाली मित्रराष्ट्र भारत र चीनबीच अवस्थित छ ।

पृथ्वी नारायण शाहले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’को संज्ञा दिँदै सन्तुलित, र स्वाभिमानी कूटनीति अपनाउनुपर्ने चेतावनी दिनुभएको कुरा हामी माझ अवगत छ । आज विश्वमा शक्ति सन्तुलनका परिवर्तनहरू भइरहेका बेला, ठूला राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धा बढिरहेको समय र दक्षिण एसिया साथै एसियामा भूराजनीतिक चासो तीव्र हुदै गइरहेको अवस्थामा, कुनै एक पक्षमा अत्यधिक निर्भर नभई राष्ट्रिय हित केन्द्रमा राख्ने सन्तुलित विदेश नीति नै नेपालको आन्तरिक सुरक्षाको दृष्टि र स्थायित्वको आधार हो ।

पृथ्वीपथले सुझाएको यही मूलमन्त्रको कूटनीति आजको डरलाग्दो वातावरणमा आवश्यक देखिन्छ । आर्थिक दृष्टिले हेर्दा पृथ्वीपथको मूल आत्मा आत्मनिर्भरता र स्वदेशी उत्पादनको प्रवद्र्धनमा निहित छ । कृषि, वन, जलस्रोत, पर्यटन र खनिजजस्ता प्राकृतिक साधनहरूको विवेकपूर्ण उपयोग गरी राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने उहाँको सोच आज हामीले गरेको बहससँग प्रत्यक्ष रूपमा मेल खान्छ । आयातमुखी अर्थतन्त्र, बेरोजगारी र वैदेशिक निर्भरता बढ्दो अवस्थामा स्वदेशी उद्योग, कृषिमा आधुनिकीकरण, ऊर्जा उत्पादन र सीपमूलक जनशक्ति विकासमा जोड दिनु नै आर्थिक स्वाधीनताको मार्ग हो ।

पृथ्वीपथले सिकाएको आत्मनिर्भरता बिना राजनीतिक स्वाधीनता पनि दीगो रहन सक्दैन भन्ने यथार्थ आजको अर्थतन्त्रले स्पष्ट देखाइरहेको छ । विकासको सन्दर्भमा, पृथ्वीपथले केवल भौतिक पूर्वाधारको निर्माण मात्र होइन, समग्र र समावेशी विकासको अवधारणालाई जोड दिन्छ । हिमाल, पहाड र मधेशलाई एउटै आर्थिक र प्रशासनिक संरचनामा जोडेर सन्तुलित विकास गर्ने सोचले क्षेत्रीय असमानता घटाउने आधार तयार गर्छ । सडक, जलविद्युत्, सिँचाइ, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भर र दीगो लगानी, साथै वातावरणीय सन्तुलनको संरक्षण, आजको विकास रणनीतिको अनिवार्य अङ्ग हो ।

प्राकृतिक स्रोतको दोहन होइन, संरक्षण र सदुपयोग नै दीर्घकालीन समृद्धिको मूल आधार हो भन्ने सन्देश पनि पृथ्वीपथमा निहित छ । राष्ट्रिय एकताको सवालमा पृथ्वीपथको महत्व झनै गहिरो छ। विविध भाषा, जाति, संस्कृति र भौगोलिक पहिचानबीच पनि सबैलाई एउटै राष्ट्रिय भावनामा बाँध्ने सोच नै नेपालको ऐतिहासिक शक्ति हो । संघीय संरचनामा गइसकेको वर्तमान नेपालमा राजनीतिक प्रतिस्पर्धा, क्षेत्रीय आकांक्षा र पहिचानका मुद्दाबीच पनि राष्ट्रिय एकता, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धता कमजोर हुन नदिनु अत्यन्त आवश्यक छ । पृथ्वीपथले सिकाएको एकता नै शक्ति हो भन्ने मूल मन्त्र आज पनि राज्य सञ्चालन र सामाजिक सहअस्तित्वको आधार बन्नुपर्छ ।

सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको संरक्षण पनि पृथ्वीपथको अर्को महत्वपूर्ण पक्ष हो । विविध भाषा, जाति, संस्कृति र भौगोलिक विशेषताबीच पनि सबैलाई एउटै राष्ट्रको भावनामा बाँध्ने सोच नै नेपालको बलियो आधार हो । संघीय संरचनामा गएको वर्तमान नेपालमा पनि एकता र सहकार्यको भावना कमजोर नपरोस् भन्ने चेतना पृथ्वीपथबाट प्राप्त हुन्छ । पृथ्वीपथ इतिहासको पानामा सीमित दर्शन होइन, भूराजनीतिक सन्तुलन, आर्थिक आत्मनिर्भरता, दिगो विकास र सुदृढ राष्ट्रिय एकताको समन्वित दृष्टिकोण हो ।

बदलिँदो विश्व परिवेशमा राष्ट्रिय स्वाभिमान जोगाउँदै, आफ्नै स्रोत र क्षमतामा आधारित समृद्धि निर्माण गर्दै, सबै नेपालीलाई एउटै राष्ट्रको सूत्रमा बाँध्ने मार्ग नै पृथ्वीपथको सार हो । त्यसैले पृथ्वीपथ आजको नेपालको मात्र होइन, भोलिको समृद्ध र स्वाधीन नेपालको पनि अनिवार्य मार्गदर्शन हो । यसरी हेर्दा, पृथ्वीपथ केवल अतीतको नीति होइन, वर्तमानको आवश्यकता र भविष्यको मार्गदर्शन हो । राष्ट्रिय एकता, स्वाभिमान, आत्मनिर्भरता र सन्तुलित कूटनीतिलाई व्यवहारमा उतार्न सके मात्र समृद्ध, स्वाधीन र शक्तिशाली नेपाल निर्माणको सपना साकार हुन सक्छ । त्यसैले पृथ्वीपथ आजको नेपालको अपरिहार्य आवश्यकता हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार