बडादशैँका बेला टीका थापेपछि पाइने दक्षिणाभन्दा ठूलाबडाले दिने आशीर्वाद महत्त्वपूर्ण पक्ष भएको संस्कृतिविद्हरूले बताएका छन् । श्रद्धा र गच्छेअनुसार दक्षिणा दिइने भएकोले कम अथवा बेसी भनेर चर्चा गर्न नहुने उनीहरूको सुझाव छ । खासगरी दशमीको दिन टीका ठूलाबडाले लगाइदिएपछि चेलीबेटी, ज्वाइँ, भान्जाभान्जी तथा नातिनातिनालाई दक्षिणा दिने चलन रहेको छ । बुवाआमाले छोराबुहारीलाई टीका लगाइदिने भए पनि दक्षिणा चाहिँ धेरैजसो छोराबुहारीले आमाबुवा तथा सासूससूरालाई दिने चलन छ ।
‘दक्षिणा गौण कुरा’
संस्कृतिविद् तथा पशुपति विकास कोषका भूतपूर्व सदस्य सचिव गोविन्द टण्डन मानिसहरूको आम्दानी बढ्दै गएपछि दक्षिणाको कुरा बढी चर्चामा आउन थालेको बताउँछन् । ‘पहिलापहिला दक्षिणा भनेको एउटा गौण पक्ष थियो । त्यसलाई खासै महत्त्व दिइन्नथ्यो,’ नेपालीसँग उनले भने । ‘पछि मानिसहरूको आम्दानी बढ्न थालेपछि उनीहरूले दक्षिणालाई महत्त्व दिन थाले, पैसाको कुरा हुन थाल्यो । तर यसमा सबैभन्दा ठूलो कुरा आशीर्वाद हो,’ टण्डनले थपे ।
आफन्तजनकहाँ ठूलाबडाबाट टीका ग्रहण गरी आशीर्वाद लिने चलन मुख्य भएको उनी बताउँछन् । ‘आशीर्वाद जस्तो दक्षिणा कहाँ ठूलो कुरो हुन्छ ? दक्षिणा हिजो पनि गौण थियो, अहिले पनि गौण नै राख्दा राम्रो हुन्छ,’ टण्डन भन्छन् । अर्की संस्कृतिविद् प्रियम्बदा काफ्ले पनि दक्षिणाभन्दा मान्यजनको आशीर्वाद ठूलो कुरा भएकोमा सहमति जनाउँछिन् । ‘छोरीलाई जति धेरै दक्षिणा दियो उसको घरमा त्यति धेरै शान हुन्छ भन्ने हिसाबले पनि दिने गरेको देखिन्छ । तर त्यस्तो कुरालाई त्याग्दै जानुपर्छ । अपनत्व, सद्भावना ठूलो कुरा हो भन्ने आत्मसात् गर्नुपर्छ,’ उनले भनिन् ।
चलन कहिलेबाट ?
दशैँमा टीका लगाइदिएपछि दक्षिणा दिने चलन ठ्याक्कै कहिलेबाट शुरू भयो भन्ने कुरा कतै उल्लेख भएको नपाइएको संस्कृतिविद् टण्डन औँल्याउँछन् । ‘दक्षिणाको सन्दर्भमा त्यति चर्चा पाइँदैन, तर हाम्रो परम्परामा टीका लगाइदिएपछि दक्षिणा दिने चलन छ,’ उनले भने, ‘दशैँको विषयमा खोज्दै जाँदा विक्रम संवत्को १२०० सम्म हामी पुग्न सक्छौँ । त्यसभन्दा अगाडि लिच्छविकाल, मध्यकालमा देवीदेउताको पूजाआजाबारे उल्लेख गरेको प्रशस्त पाइन्छ ।’ तर दशैँको सन्दर्भ पाइँदैन । दुर्गा सप्तशती विक्रम संवत् १२०० देखि पाइएको हुनाले सम्भवतः त्यही बेलादेखि दशैँको परम्परा चलेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।
‘दक्षिणाको विषयमा चर्चा विरलै पाइन्छ,’ टण्डनले थपे । ब्राह्मण तथा साधुसन्तलाई भोजन गर्न डाकेपछि खुवाइसकेपश्चात् खाली हात पठाउनु हुँदैन भन्ने उल्लेख भएकोले त्यसैबाट प्रभावित भएर दशैँमा टीका थाप्न आउनेलाई दक्षिणा दिने प्रचलन शुरू भएको हुन सक्ने उनको तर्क छ ।
‘कसैले पूजा, कर्मकाण्ड गराउँदा उसलाई दक्षिणा नदिए फल प्राप्त नहुने, त्यो पूरा नहुने अनि ब्राह्मण वा भिक्षुलाई खुवाएपछि खाली हात नफर्काई केही पत्रम्पुष्पम् दिनुपर्ने शास्त्रहरूमा उल्लेख भएको पाइन्छ,’ टण्डन भन्छन्, ‘दक्षिणा दिनुपर्छ भन्ने चलन धार्मिक, सामाजिक पक्षमा छ । त्यही कुराको सिको वा प्रभाव दशैँमा आएको देखिन्छ ।’ ब्राह्मण, विद्वान्ले अध्ययन गर्ने र ज्ञानगुनका कुरा बाँड्ने भएपछि त्यो लिए बापत दक्षिणा दिने चलन शुरू भएको संस्कृतिविद् काफ्ले बताउँछिन् ।
‘गुण र कर्मअनुसार वर्णको विभाजन गरिएको अनि सोबमोजिम ज्ञान बाँड्ने ब्राह्मणलाई दक्षिणा दिने प्रचलन शुरू भएको हो । पैसा कमाउने वैश्य र शासन चलाउने क्षत्रीयहरूले दक्षिणा दिन थालेका हुन्,’ उनी भन्छिन् । काफ्लेका अनुसार केही नदिई ज्ञानगुनका कुरा नलिने भन्ने मान्यताअनुसार ब्राह्मण तथा विद्वान्लाई दक्षिणा दिन थालिएको हो । ‘त्यसकारण ब्राह्मणलाई दक्षिणा दिएर, प्रसन्न पारेर केही सोध्ने भन्ने शास्त्रमा विधान छ । दक्षिणा भनेको सम्मान गरेको हो, पूजा गरेको हो भन्ने अवधारणाबाट चलन चल्यो,’ उनले भनिन् ।
उनले थपे, ‘यज्ञ गर्दा पनि विनादक्षिणा पूरा हुँदैन भन्नुको अर्थ उसका सबै चीज हामीले लियौँ भन्ने हो नि त । हामीले आशीर्वाद लिँदा दक्षिणा दिएर ढोग्ने चलन छ ।’ काफ्लेका अनुसार बाहुन तथा क्षेत्रीमा सासूससूराबाट टीका थापेर आशीर्वाद लिँदा ज्वाइँले दक्षिणा दिने चलन नभए पनि अरू कतिपय जातजातिमा दिने प्रचलन पनि छ ।
कति दिने, के दिने ?
दक्षिणा कति दिनुपर्छ भन्ने कुरा दिने व्यक्तिको आर्थिक हैसियतमा निर्भर गर्ने विषय भएको संस्कृतिविद्हरूको तर्क छ । दक्षिणा स्वरूप यति वा उति दिनुपर्छ भन्ने कुराको कुनै नियम नभएको उनीहरू बताउँछन् । ‘दिने पद्धतिको हाम्रो धर्मसंस्कार भएको हुनाले दक्षिणामा पनि त्यस्तो अवस्था देखिन्छ । हैसियत छ भने लोभ गर्ने कुरा उपयुक्त हुँदैन । तर लिने ठाउँमा कम र दिने ठाउँमा बढी गर्नुपर्यो,’ संस्कृतिविद् काफ्ले भन्छिन् ।
तर दक्षिणा सकेसम्म कम लिनु नै उपयुक्त हुने उनको तर्क छ । ‘धेरै लिन खोज्नु हुँदैन । थोरै दिए अहोभाग्यको कुरा हो । दिने व्यक्तिको धेरै बोझ बोक्नुपरेन नि त,’ उनी थप्छिन् । संस्कृतिविद् टण्डन पनि श्रद्धा र गच्छेले दिइने कुरालाई बोझ बनाउन नहुनेमा जोड दिन्छन् । ‘दक्षिणा भनेको श्रद्धाले, गच्छेले दिने कुरा हो । क्षमता छैन भने बोझ बन्न सक्छ, गह्रौँ हुन सक्छ । त्यो भएपछि त्यस्तो चलन आफसेआफ नाश भएर जान्छ,’ उनी थप्छन् ।
संस्कृतिविद् काफ्लेका अनुसार दक्षिणा स्वरूप अरू सामानभन्दा पनि सामान्यतया नगद नै दिने चलन चलिआएको छ । तर दक्षिणा पाइन्छ भन्दैमा जस्तोसुकै स्रोतबाट आर्जन गरिएको रकम पनि लिन नहुने उनको सुझाव छ । ‘दिनेले कसरी कमाएको पैसा हो, कालोधन हो कि सेतो धन हो, कुन भावनाले उसले दिइरहेको छ भन्ने कुरा पनि हेर्नुपर्छ । नराम्रो धन हो दिने दिने व्यक्तिको पाप हामीलाई सर्छ । सेतो धनको परिणाम सुखद हुन्छ भने कालोधनको परिणति दुःखपूर्ण हुन्छ ।’
सत्यपाटी