२०८३ असार १२ , शुक्रबार 26, June 2026, Friday

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

सत्यपाटीसत्यपाटी । चितवन । २०८३ असार १२ गते शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय क्षेत्रहरू चलायमान भएका थिए ।

गत आइतबार उद्घाटन भएको महाधिवेशन आज समापन हुँदै छ । शनिबारदेखि नै प्रतिनिधि, परिवेक्षकहरुले यहाँका होटलहरु भरिन थालेका थिए । आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार एक सातामा ५० करोडभन्दा माथिको व्यापार भएको बताउँछन् ।

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्षसमेत रहेका गौतम झण्डै २० करोड आवासमा प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले खर्च गरेको बताए । एकै दिन २० हजार जनासम्म चितवनमा बसेको उनको भनाइ छ । महाधिवेशनको उद्घाटन र त्यसको भोलिपल्ट ठूलो सङ्ख्यामा रास्वपा समर्थकहरू जिल्लामा आएको गौतमले बताए ।

अन्य दिनमा क्रमशः घट्दै गएको भन्दै उनले यसको प्रत्यक्ष लाभ भरतपुरलाई परेको बताए । सौराहा लगायतका पूर्वी क्षेत्रका होटल र नवलपरासीको गैँडाकोटका होटलसम्म प्रतिनिधिहरू बसेको उनले बताए । आवासको व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने हुन्थ्यो भने चार दिन खानाको व्यवस्था पार्टीले गरेको थियो ।

अघि पछि र अनुकूलको खाना प्रतिनिधिहरूले आफैँ खाएका थिए । पार्टीको मात्र रु चार करोडभन्दा बढी खर्च हुने भन्दै उनले यहाँका सबै क्षेत्र एक साता चलायमान भएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार दुई हजार २०० हाराहारी साना ठूला गाडी बाहिरबाट आएका छन् ।

उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली झण्डै एक साता जिल्ला चलायमान भएको बताए । होटल रेष्टुरेण्ट भरिँदा यसले अन्य क्षेत्रलाई चलायमान बनाउने उनले बताए । दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, फलफुल जस्ता कृषि जन्य उत्पादनको राम्रो खपत भएको उनले बताए । उनले भने, ‘मुख्य रूपमा भरतपुरको आर्थिक चक्रमा राम्रो प्रभाव परेको छ ।’

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओम पाण्डे भरतपुरका होटलहरुले राम्रो व्यापार पाएको बताउछन् । त्यसपछिको व्यापार सौराहालगायतका क्षेत्रमा भएको उनको भनाइ छ । पहिलो पटक जिल्लामा आएका रास्वपाका नेता कार्यकर्ताले पर्यटकीय गन्तव्यहरू हेर्ने अवसर पाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार