बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको विद्युत सेवा समेत निरन्तर अनियमित हुन थालेपछी स्थानीय बासिन्दाको जनजीवन अतिनै कष्टकर बन्दै गएको हो ।
गर्मीको बेला पनि पूर्वसूचना बिना पटकपटक विद्युत जाने आउने क्रम बढेकोले बाँकेका सर्वसाधारण, व्यवसायी तथा उद्योगीहरू समस्यामा परेका छन् । उनीहरुका अनुसार वर्षौंअघि लोडसेडिङ अन्त्य भएको घोषणा गरिए पनि अहिले फेरी छिन छिनमा विद्युत आउने जाने तथा कुनै कुनै बेला लामो समयका लागि बन्द हुने हुँदा स्थानीयलाई ठुलो समस्या भएको छ ।
नेपालगन्ज नागरिक अगुवा नमस्कार शाहले अत्यधिक गर्मीका बेला घण्टौँसम्म विद्युत अवरुद्ध हुँदा नागरिकको दैनिक जीवन कष्टकर बनेको जनाउँदै यसबाट घरायसी कामकाजदेखि व्यापार, उद्योग, शैक्षिक संस्था र सरकारी कार्यालयसम्मका गतिविधि प्रभावित भएको बताए । उनले विद्युतको अनियमित आपूर्तिका कारण इन्टरनेट सेवा अवरुद्ध हुने, खानेपानी वितरण प्रभावित हुने तथा साना उद्योग व्यवसायको उत्पादन र कारोबारमा प्रत्यक्ष असर पर्ने गरेको बताए ।
बारम्बारको ट्रिपिङ र भोल्टेज उतारचढावले विद्युतीय उपकरणहरू बिग्रिने जोखिम समेत बढेको भन्दै उपभोक्ताले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । केहिदिन पहिले सोही समस्यालाई लिएर नागरिक समाजका अगुवाको एक टोलीले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रलाई भेटेर समस्या अवगत गराएका थिए । तर, अवस्थामा खासै परिवर्तन नभएको उनीहरूको गुनासो छ ।
यस्तो भीषण गर्मीको बेला विद्युत अनियमित किन भएको भनी जानकारी माग्दा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख मिश्रले यसको मुख्य कारण अकस्मात् हुने प्राविधिक समस्या, मर्मत सम्भार तथा प्रणाली स्तरोन्नतिको कार्य लगायत केन्द्रबाटै सिस्टम र सर्किट फेल हुने हुँदा नियमित रुपमा विद्युत दिन नसकिएको बताए ।
उनले बाँकेमा कुनैपनि प्रकारको लोडसेडिङ नभएको दाबी गर्दै नेपालगन्ज र कोहलपुरमा बेला बेलामा देखिने विद्युत अनियमितताले स्थानीयलाई समस्यामा पारेको स्वीकार गरे । नेपालगन्ज वितरण केन्द्रका प्रमुख मिश्रले आफूले नियमित रुपमा फल्ट भएको वा सम्भावित फल्ट हुने स्थानमा आफै पुगेर अन्य प्राविधिकसँगै विद्युत नियमित गर्ने कार्य गरिरहेको बताए । यो वर्ष केही समस्या भएपनि अर्को वर्ष अहिलेका समस्या नदोहोरिने गरि वितरण केन्द्रले विशेष योजनाका साथ काम गरिरहेका उनको भनाइ छ ।
सत्यपाटी