एक तथ्याङ्क अनुसार बादी समुदायका करिब पाँच प्रतिशत महिला अझै यौन शोषणमा रहेको बताइएको छ । राष्ट्रिय बादी सञ्जालका अध्यक्ष केशव बादी (नेपाली)ले ‘बादी समुदायमा मानव बेचबिखन तथा यौन शोषण रोकथामका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेको अवधारणापत्रमा यस्तो जनाइएको हो ।
सामुदायिक सशक्तीकरण तथा रूपान्तरण (कमिट) नेपालद्वारा आयोजित कार्यक्रममा उनले बादी समुदायमा शिक्षा, चेतना र सशक्तीकरणको अवस्था क्रमशः सुधार हुँदै गए पनि समाजको दृष्टिकोणमा अपेक्षित सकारात्मक परिवर्तन आउन नसकेको बताए । अवधारणापत्र अनुसार ३०० महिलामध्ये १४ जना अर्थात् करिब पाँच प्रतिशत बादी महिला यौन शोषणमा रहेका छन् ।
विभेद, पूर्वाग्रह र सामाजिक बहिष्करण अन्त्य गर्न राज्य, स्थानीय तह, नागरिक समाज तथा सञ्चार क्षेत्रको साझा प्रयास आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले बादी समुदायको सम्मानपूर्ण जीवनयापन, शिक्षा, रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सबै निकाय जिम्मेवार बन्नुपर्ने बताए ।
उनले मानव बेचबिखन तथा यौन शोषण जस्ता सामाजिक अपराध नियन्त्रणका लागि समुदाय, स्थानीय सरकार र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । साथै, समुदायका महिला तथा युवाको सशक्तीकरणमार्फत मात्रै दीर्घकालीन परिवर्तन सम्भव हुने उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारी, कोहलपुर नगरपालिका वडा नं.३ का वडाध्यक्ष डम्बरबहादुर खड्का, वडा नं.१२ का वडा सदस्य पानसरा बाठा, लगायतले बादी समुदायमाथि हुने विभेद, मानव बेचबिखन तथा यौन शोषण अन्त्यका लागि सबै पक्ष संवेदनशील र उत्तरदायी बन्नुपर्ने धारणा व्यक्त गरे ।
सत्यपाटी