२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

आठ हजार ८१६ कैदीबन्दी अझै फरार

बाँकेको बैजनाथ गाउँपालिका-२ नौवस्तामा रहेको बाल सुधार गृह ।

गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौ वटा बाल सुधार गृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार ४२२ मध्ये ९६४ जना बाल सुधार गृहबाट भागेका थिए ।

झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनपुरबाट कैदीबन्दी भागेका उनले बताए ।

यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बाल सुधार गृहबाट पनि कैदीबन्दी भागेका थिए । निर्देशक न्यौपानेका अनुसार अहिलेसम्म कारागारबाट भागेकामध्ये पाँच हजार ४९५ र बाल सुधार गृहबाट भागेकामध्ये २४४ कैदीबन्दी फिर्ता आएका छन् ।

अझै आठ हजार ८१६ कैदीबन्दी फरार रहेका र खोजी कार्य जारी रहेको विभागले जनाएको छ । नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार