२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

मनसुन बर्हिगमनमा समय लाग्ने, आज केही स्थानमा भारी वर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ३ गते शुक्रबार

नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन सक्रिय रहेकाले तत्काल बर्हिगमन हुने देखिएको छैन ।

भारतमा औसतको तुलनामा करिब दुई दिन छिटो गरी मनसुन बर्हिगमन भइरहेको छ । नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने समय हो । नेपालमा यसपाली १५ दिन छिटो मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने मिति सरदर जुन १३ हो ।

मनसुन जारी रहेकाले आगामी दिन पनि वर्षाको हुने महाशाखाले उल्लेख गरेको छ । यद्यपि, तुलनात्मक रुपमा मनसुन क्रमशः कमजोर हुँदै गइरहेको छ । मनसुन आज र भोलिभन्दा शनिबार कमजोर हुने महाशाखाको पूर्वानुमान छ । ठूलो वर्षाको सम्भावना नरहे पनि खण्डित रुपमा ४० मिलिमिटरसम्म वर्षा हुने जनाइएको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेहो छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज शुक्रबार देशभर साधरणतया बदली रही कोसी, वाग्मती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । असोज ४ गते कोसी, वाग्मती र गण्डकी प्रदेश लगायत देशका बाँकी भू–भागमा साधारणतया बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार