राप्तीसोनारी गाउँपालिका–५, बाँकेको वडा कार्यालयको आँगन आइतबार अपराह्न असाधारण उत्साह र भावनाले भरिएको थियो । घाम अलि मधुरो हुँदै जान थालेको बेलामा हल्का बतास चलिरहेको थियो, तर भिडभाडको माहोलले त्यो बतास पनि महसुस गर्न गाह्रो हुन्थ्यो । कार्यक्रम स्थलमा रङीचंगी पोसाकमा सिँगारी आएका लाभग्राही परिवार, स्थानीय जनप्रतिनिधि र गाउँका बासिन्दा खचाखच थिए ।
कतै हाँसोको आवाज गुन्जन्थ्यो, कतै भावुक संवाद भइरहेका थिए, अनि कतै भविष्यका योजनाहरूको चर्चा चलिरहेको थियो । विभिन्न वडाबाट आएका ३१ जना लाभग्राहीका अनुहारमा एउटै कुरा झल्किरहेको थियो, ‘एक नयाँ सुरुवातको उत्साह ।’ केहीको आँखामा आशाको चमक थियो, केहीको आँखामा जीवनको कठिन अध्याय सम्झिँदा आँसु झरिरहेका थिए । सबैका हातमा चाबी र प्रमाणपत्र थियो, तर त्यो धातुको चाबी मात्र होइन, उनीहरूका लागि नयाँ जीवनको ढोका खोल्ने प्रतीक बनेको थियो ।
कार्यक्रम सुरु हुनुअघि नै केही लाभग्राहीहरू घरको नक्सा र भविष्यका योजनाबारे उत्साहित भएर कुरा गर्दै थिए । कोही नयाँ घरमा पहिलो रात कस्तो हुने हो भनेर कल्पना गरिरहेका थिए, कोही घरको आँगनमा बोट बिरुवा रोप्ने सपना बुनिरहेका थिए । यही भिडबिच वडा नं.६ की आशा थारु आफ्नो प्रमाणपत्र काखमा अड्याएर उभिइन् । उनको अनुहारमा मुस्कान त थियो, तर स्वरमा विगतका सङ्घर्षको भारीपन झल्किरहेको थियो । ‘यो चाबी मात्र चाबी होइन, यो हाम्रो जीवनको नयाँ ढोका हो,’ उनले काँपेको स्वरमा भनिन् ।
उनले आफ्नो कथा सुनाउँदै थपिन्, ‘वर्षौँदेखि उनी र उनका परिवार एउटा सानो कच्ची घरमा बस्थे, जसको छानो वर्षामा चुहिन्थ्यो र हिउँदमा चिसोले कठ्यांग्रिन्थ्यो । हावा चल्दा छाना खटखट आवाज गर्दै उड्न खोज्थ्यो, अनि हरेक वर्षको मनसुन उनीहरूका लागि डर र चिन्ताको मौसम बन्थ्यो । ‘कहिलेकाहीँ त रातभर पानी पुछ्दै बस्नु पथ्र्यो, बच्चाहरूलाई कुन कुनामा सुताउने भनेर अलमल पथ्र्यो । अब त्यो चिन्ता सकियो,’ उनले गर्वको मुस्कानसहित भनिन् । यसपटक उनको घर पक्की इँटा, बलियो छाना र उज्यालो कोठासहित बनेको छ ।
उनको कल्पना छ, ‘घरको भान्साको ढोकाबाट बिहानको घाम पस्नेछ, छतमा बालबालिकाले खेल्नेछन्, अनि वर्षातमा उनीहरूलाई अब कहिल्यै भिज्नुपर्दैन ।’ वडा नम्बर ४ का दीपक सुनारले आफ्नो पुरानो टहराको कथा सुनाउँदा सबै मौन भए । ‘पहिले हावा चल्दा छाना उड्थ्यो, पानी पर्नासाथ भुईँमा पोखरी बन्थ्यो । अहिले यो नयाँ घरमा बच्चाहरूलाई पढाउन सकिन्छ, सरसफाइ गर्न सजिलो हुन्छ,’ उनले भने । वडा नं.५ की निर्मा बस्नेत भन्छिन्, ‘अब हामी पाहुना बोलाउन सक्ने भयौँ। पहिले घरै लाजमर्दो थियो, अब गर्व गर्न मिल्नेछ ।’
उनीसँगै यहाँका विपन्न वर्गका व्यक्तिलाई अब घरमा बस्दा असुरक्षित महसुस भएको छ । गाउँपालिकाले यस्तै खाले ५२ घर निर्माण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा निर्माण गरेको विपन्न वर्ग आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरी आइतबार ३१ जनालाई हस्तान्तरण गरेको थियो । ती घर करिब एक करोड १६ लाख रुपैयाँको लागतमा बनेका थिए । सोमबार थप २१ जनालाई २१ जनालाई घर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए । २१ वटा घर ८८ लाख ८६ हजार ८२६ मा निर्माण भएका हुन् ।
‘यो केवल घर होइन, यो सम्मान र सुरक्षा हो । हामीले यसलाई विपन्न वर्गलाई आत्मसम्मानसहित बस्न पाउने अधिकारको रूपमा लिएका छौँ,’ उनले भने । उनका अनुसार गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ, ताकि गाउँका कुनै पनि नागरिकले छानाविहीन रात काट्न नपरोस् । गाउँपालिकाकी उपाध्यक्ष मनीषा सिंह थारुले घरसँगै एक सुरक्षित र गरिमामय जीवन सुरु गर्ने आधार पनि दिएको बताइन् । अब यी परिवारलाई शिक्षा, स्वास्थ्य र आयआर्जनका अवसरतर्फ पनि अघि बढाउन अग्रसर हुने उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले यस योजनाको व्यवस्थापकीय पक्ष औँल्याउँदै भने, ‘गाउँपालिकाले बजेट मात्र नभई समयमै कार्यान्वयन गरेर परिणाम देखाउने यो एउटा सफल उदाहरण हो । यो कार्यक्रमले प्रत्यक्ष रुपमा ती परिवारको जीवनस्तरमा सुधार ल्याउनेछ ।’ घर हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, वडाध्यक्ष, स्थानीय अगुवा तथा लाभग्राहीका आफन्तहरू उपस्थित थिए । प्रत्येक लाभग्राहीलाई प्रमाणपत्र र चाबी हस्तान्तरण गर्दा उपस्थित भीडले ताली बजाएर स्वागत गर्थे ।
विशेषज्ञहरूका अनुसार आवाससँगै रोजगारीको अवसर, आधारभूत सेवा र समुदायमा समावेशीकरण भए मात्र यस्तो कार्यक्रमको दीर्घकालीन प्रभाव सुनिश्चित हुन्छ । गाउँपालिकाले आगामी वर्षमा यस्ता घरमा बगैँचा, पानी ट्याङ्की र घरपरिवारको आयआर्जनका लागि साना तालीम कार्यक्रम जोड्ने योजना बनाएको छ । राप्तीसोनारीको उक्त दिन केवल घरको चाबी हस्तान्तरण मात्र थिएन, ‘यो ३१ परिवारका लागि सुरक्षित भविष्यको ढोका खोल्ने क्षण थियो । आँसु, मुस्कान र तालीबिच बाँडिएका ती चाबीहरू अब नयाँ कथा लेख्नका लागि तयार छन् ।’
सत्यपाटी