२०८३ वैशाख ३ , बिहीबार 16, April 2026, Thursday

नेपालगन्जबाट करिब १२ करोड रुपैयाँको पाठ्यपुस्तक बिक्री

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख ३ गते बिहीबार

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८३ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ । नयाँ शैक्षिक सत्रका लागि वैशाख २ गतेसम्ममा कार्यालयले झण्डै १२ करोड रुपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ ।

प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख रुद्र खनालले यस वर्षको शैक्षिकसत्रका लागि वैशाख २ गतेसम्म नेपालगन्ज कार्यालयबाट ११ करोड ९८ लाख १० हजार २१८ रुपैयाँ बराबरको पाठ्यपुस्तक बिक्री गरिसकिएको जानकारी दिए । उनका अनुसार वैशाख २ गतेसम्म आठ लाख ७८ हजार ६९१ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको छ ।

कर्णालीको हुम्लामा दुई वटा बिक्रेतामार्फत १५ हजार ९५८ थान, डोल्पामा १० वटा बिक्रेतामार्फत ३७ हजार १३८ थान, रुकुम पश्चिममा २१ वटा बिक्रेतामार्फत एक लाख ६६ हजार ३५५ थान, जाजरकोटमा चार वटा बिक्रेतामार्फत ३० हजार ९१७ थान र सल्यानमा १५ वटा बिक्रेतामार्फत ६५ हजार ५६७ थान पाठ्यपुस्तक बिक्री गरिएको छ ।

त्यसैगरी लुम्बिनीको रुकुमपूर्वमा दुई वटा बिक्रेतामार्फत ३० हजार ४२८ थान, रोल्पामा १५ वटा बिक्रेतामार्फत एक लाख ९१ हजार ३९१ थान, दाङमा चार वटा बिक्रेतामार्फत एक लाख ६१ हजार २४५ थान, बर्दियामा १४ वटा बिक्रेतामार्फत एक लाख १६ हजार ६७९ थान र बाँकेमा नौ वटा बिक्रेतामार्फत ६३ हजार १३ थान गरी जम्मा आठ लाख ७८ हजार ६९१ थान पाठ्यपुस्तक बिक्री गरिएको छ ।

प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख खनालका अनुसार पहिलो चरणमा चैत १६ गतेदेखि ३० गतेसम्म तालिका बनाएर सोही बमोजिम जिल्ला जिल्लाका बिक्रेताहरुलाई पाठ्यपुस्तक बिक्री गरिएको थियो भने २०८३ वैशाख १ गतेदेखि दोस्रो चरण अन्तरगत पाठ्यपुस्तक बिक्री वितरण भइरहेको छ ।

कक्षा ३ को ३१ हजार ६२२ थान, कक्षा ५ को ७० हजार ७३४ थान, कक्षा ६ को एक लाख ४२ हजार १९३ थान, कक्षा ७ को एक लाख ४८ हजार १२० थान, कक्षा ८ को एक लाख ६४ हजार ७१५ थान, कक्षा ९ को एक लाख ५८ हजार ४५४ थान, कक्षा १० को एक लाख ५१ हजार ३१९ थान पाठ्यपुस्तक बिक्री गरिएको प्रमुख खनालले जानकारी दिए ।

उनका अनुसार कक्षा ११ को पाँच हजार ७७३ थान र कक्षा १२ को पाँच हजार ७६१ थान पाठ्यपुस्तक बिक्री गरिएको छ । नेपालगन्ज कार्यालयमार्फत कर्णालीको हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित १० वटा जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ ।

गत वर्ष १० जिल्लाका १२० बिक्रेतामार्फत् १९ करोड ६० लाख रुपैयाँ बराबरका १४ लाख ७३ हजार थान पुस्तक बिक्री वितरण भएको र यस वर्ष २१ करोड रुपैयाँ बराबरका १५ लाख ९१ हजार थान पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले विराटनगर, पोखरा, भरतपुर, जनकपुर, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी र काठमाडौँ गरी नौ स्थानमा रहेका आफ्नो बिक्री केन्द्रबाट पाठ्यपुस्तकहरू बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार