२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

पहिलो भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत २९ गते आइतबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आफ्नो देश भ्रमणको निम्तो दिएपछि सरकारले आन्तरिक तयारी थालेको छ । यद्यपि नेपाल सरकारले यसको औपचारिक घोषणा गरिसकेको छैन । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्ति दिएका छन् र प्रधानमन्त्री बालेनले त्यो स्वीकार गरेका हुन् ।

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्ल्यूआइओएन)सँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताएका हुन् । यद्यपि भ्रमणको मिति तोक्न भने बाँकी रहेको उनको भनाइ छ ।

‘हाम्रा प्रधानमन्त्री (बालेन शाह)ले बधाई सन्देशमा (भ्रमणको) निमन्त्रणा प्राप्त गर्नुभएको छ । प्रधानमन्त्रीले स्वीकार पनि गर्नुभएको छ,’ उनले डब्ल्यूआइओएनसँग भनेका छन्, ‘तर मिति र समय हाम्रा संयन्त्रले निर्धारण गर्नेछन् ।’ परराष्ट्रमन्त्री खनालले मौरिससमै गत शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

त्यस क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको उनले उल्लेख गरेका छन् । मुख्य रूपमा हामीले नयाँ सरकारको हैसियतले हाम्रा प्राथमिकताहरू तयार पार्नेबारे कुरा गर्¥यौँ,’ परराष्ट्रमन्त्री खनालले भनेका छन् ।

प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार