२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

प्रधानमन्त्री र १५ मन्त्री : कसको सम्पत्ति कति ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत ३० गते सोमबार

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइट मार्फत् प्रधानमन्त्री बालेन शाहसहितका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् कुन मन्त्रीको सम्पत्ति कति छ ?

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरणमा बालेनकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नम्बर ९ मा ५ आना जमिन रहेको र धनुषामा १.२ विघा जमिन रहेको उल्लेख छ । त्यस्तै बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख छ ।

बालेनले श्रीमती सविनासँग १९० तोला सुन रहेको उल्लेख गरेका छन् । सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रकम रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनले आफ्नो आयको स्रोत फेसबुक, युट्युब र स्पोटिफाइ रहेको उल्लेख गरेका छन् । उनले आफ्नो अन्य सम्पत्ति विवरणका रूपमा फेसबुक, युट्युब र एक्समा भएको फलोअर संख्या समेत देखाएका छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेको चार जिल्लामा घरघडेरी र चार जिल्लामा जग्गा छ । ‍सम्पत्ति विवरण अनुसार वाग्लेको नाममा ललितपुरको सानेपामा अपार्टमेन्ट छ । १२८४ वर्गमिटरको उक्त अपार्टमेन्ट दुई करोड रूपैयाँ बराबरको हो । त्यस्तै ललितपुरको भैँसेपाटीमा ४ आना ३ पैसा क्षेत्रमा ५ करोड रूपैयाँको अर्को घर उनले देखाएका छन् । काभ्रेको धुलिखेलमा पनि उनको नाममा अपार्टमेन्ट छ ।

९ आना क्षेत्रफलमा रहेको उक्त आवासीय अपार्टमेन्टको मूल्य ३ करोड ७५ लाख रूपैयाँ देखाइएको छ । तनहुँको बन्दीपुरमा ३ आना ३ पैसा क्षेत्रफलमा घर छ । त्यसको मूल्य २ करोड रहेको उनले उल्लेख गरेका छन् । यी घरजग्गा उनले अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीबाट जोडेको उल्लेख गरेका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा जीवनराज वाग्लेको नाममा ३ रोपनी, गोरखाको शहीद लखन गाउँपालिका ८ मा ३ रोपनी जग्गा उनले देखाएका छन् । वाग्लेको नाममा गोरखा नगरपालिकामा ५ रोपनी जग्गा छ । जीवनराज वाग्लेको नाममा चितवनको रत्ननगर नगरपालिका ४ र १४ मा ५ रोपनी जग्गा छ । स्वर्णिम वाग्लेकै नाममा तनहुँको भानु नगरपालिकामा ६ रोपनी जग्गा छ ।

यी जग्गा क्रमश, २० लाख, ५ लाख, ८० लाख र ८ लाख ५० हजार रूपैयाँमा खरिद गरेको उनले जनाएका छन् । यी जग्गाजेथा क्रमश, पिताको रोजगारी र बचत, पैत्रिक सम्पत्ति, अन्तर्राष्ट्रिय रोजगारी, पिताको बचत र अन्तर्राष्ट्रिय रोजगारी, श्रीमतीको आयबाट जोडेको उनले बताएका छन् । स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको उल्लेख गरेका छन् । यसको स्रोत पनि पारिवारिक तथा रोजगारीबाट जोडेको उल्लेख छ ।

अर्थमन्त्री वाग्लेले हिमालयन, सानिमा, स्ट्यान्डर्ड चार्टड बैंकमा गरी आफूसँग १ करोड ९० लाख मौज्दात रहेको बताएका छन् । आफू र पत्नीको आय एवं सापटीबाट जोडेको उनले उल्लेख गरेका छन् । उनीसँग सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३, सांग्रिला विकास बैंकको २५ हजार ७६२ कित्ता सेयर छ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड, ठूलो खोला, अपर मादी खोलाको गरी ९० लाख, ६० लाख, ३ करोड मूल्यको सेयर रहेको उल्लेख गरेका छन् ।

उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८, स्ट्यान्डर्ड चार्टड बैंकबाट ७५ लाख, ग्लोबल आइएमईबाट १ करोड ५ लाख र व्यक्तिगत सापटीबाट २ करोड ५० लाख रूपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । यसमध्ये राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टड बैंकबाट ३८ र ७५ लाख रूपैयाँ भने चुक्ता गरिसकेको उल्लेख गरेका छन् ।

परराष्ट्र मन्त्री शिशिर खनाल

परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण अनुसार खनालको काठमाडौंको टोखामा ६ आनामा बनेको घर छ । त्यो उनको पैतृक सम्पत्ति हो । जग्गा बुवा सूर्यभक्त खनालको नाममा छ । खनालको तनहुँको भानु–७ मा १५ रोपनी, पूर्वी नवलपुरको देवचुली–२ मा १३ रोपनी, नेपालगञ्ज–२ मा ३ कट्ठा जग्गाजमिन छ ।

यो सबै पैतृक सम्पत्ति हो । सबै बुवाको नाममा छ । मन्त्री खनालसँग सुन २२ तोला, चाँदी २५ तोला, नगद १० लाख मौज्दात छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ३ लाख २० हजार ५४७, नबिल बैंकमा २ लाख १ हजार ४०५, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार १४१, एनआइसी एसियामा ४ लाख ५१ हजार २९०, ग्लोबल आइएमइमा ४३ हजार ८०३, नबिल बैंककै अर्को खातामा ४ हजार ८८२ रूपैयाँ मौज्दात छ ।

उनको नाममा पिक एण्ड ड्रप नेपालको ३३, रिग्पा इन्टरनेसनल प्राइभेट लिमिटेडको १००, ताजा एग्रो फार्मको १६ प्रतिशत सेयर छ । बिडब्लुपी माइक्रो फाइनान्सको २५६०, ओम मेघाश्री फर्माक्युटिकल्सको ५०००, ग्लोबल आइएमइको १०९ र नबिल बैंकको ५० कित्ता कित्ता सेयर छ । यसबाहेक १६ विभिन्न कम्पनीको सेयर छ । उनले विभिन्न मितिमा २० लाख, ५५ लाख, २५ लाख बैंक, व्यक्तिगत माध्यमबाट ऋण लिएर भुक्तानी गर्न बाँकी रहेको बताएका छन् ।

गृहमन्त्री सुधन गुरूङ

गृहमन्त्री सुधन गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरू सबै जनाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गृहमन्त्री गुरूङले धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा भनेर खुलाएका छन् । बुबा दिलबहादुर गुरूङ (पिता) को नाममा चितवनमा ३० कट्ठा, बाजे रामसल गुरूङ र परिवारको नाममा २२१ रोपनी पैतृक जग्गा भएको खुलाएका छन् ।

८९ तोला सुन, ६ किलो चाँदी पैतृक सम्पत्ति देखाएका छन् । गुरूङको लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ र सानीमा बैंकमा एक हजार ५७४ रुपैयाँ देखाएका छन् । होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका छन् । लगुम प्रमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका छन् ।

धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर देखिएको छ । एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखाएका छन् । उनले आफ्नो सेयर व्यवसाय, पैतृक सम्पत्ति र लगानीमार्फत आर्जन गरेको खुलाएका हुन् । त्यस्तै उनले लगुम प्रिमियमको नाममा रहेको ०३२ च ४४७७ एमजी एस ५ कार पनि देखाएका छन् । उक्त कार गत असोज १६ गते ४७ लाख ९९ हजार रूपैयाँमा किनेको खुलाएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले सम्पत्ति विवरणमा १८ तोला सुन र १५ तोला चाँदी देखाएकी छन् । उनले यी गरगहना विवाहमा आफूले पाएको पनि उल्लेख गरेकी छन् । आइतबार सार्वजनिक विवरण अनुसार उनको ससुराको नाममा काठमाडौंको बूढानीलकण्ठमा घरघडेरी छ । मन्त्री बादीको नाममा सुर्खेतमा पनि घरघडेरी छ । पतिको नाममा नुवाकोटमा पनि घरघडेरी छ ।

उनले आफूसँग ५० हजार रुपैयाँ मौज्दात रहेको जानकारी गराएकी छन् । आफू र ससुराको नाममा एनआइसी एसिया, प्रभु बैंक आदिमा नगद १५ लाख मौज्दात रहेको जानकारी दिएकी छन् । पति र आफ्नो नाममा ५६०० कित्ता सेयर छ । सवारी साधनको नाममा आफूसँग स्कुटर, पतिसँग मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख छ । स्कुटर ३ लाख ३० हजार र मोटरसाइकल २ लाख ७० हजारमा खरिद गरेको पनि उनले बताएकी छन् । त्यस्तै उनले कुखुरा २० वटा र कुकुर एउटा रहेको पनि विवरणमा उल्लेख छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण अनुसार मन्त्री श्रेष्ठको पैत्रिक नाममा काठमाडौंका दुईवटा घर छ । काठमाडौं महानगरपालिका वडा नम्बर २४ मा २ आना, काठमाडौं महानगरपालिका वडा नम्बर १४३ मा ४ आना जग्गामा बनेको घर छ । उनले आफूसँग सुन १५, चाँदी ५० तोला रहेको उल्लेख गरेका छन् ।

उनले लुम्बिनी विकास बैंकमा २४ लाख १७ हजार २००, एभरेष्ट बैंकमा ७३ हजार २४८, सिटिजन्स बैंकमा १ लाख ४३ हजार ३३, सिनर्जी कोअपरेटिभ लिमिटेडमा १५ लाख, सिनर्जी कोपरेटि लिमिटेडमा पत्नीसहितको सगोलमा २५ लाख, वाणिज्य बैंकमा १२ लाख ४२ हजार, नबिल बैंकमा १ लाख ६३ हजार ६३६, सिनर्जीमै १००० नगद मौज्दात रहेको उल्लेख गरेका छन् । यी सबै रकमको स्रोत स्वआर्जन रहेको उनले बताएका छन् ।

आफूसँग विभिन्न कम्पनीको २० हजार ९७८ गरी अहिलेको मूल्य अनुसार १ करोड ४५ लाख ४८ हजार ४२० रूपैयाँको सेयर रहेको बताएका छन् । उनले आफूसँग ५० लाख रुपैयाँ ऋण रहेको देखाएका छन् । उनले यो ऋण पारिवारिक र बैंक स्रोतबाट लिएको बताएका छन् । ल्याण्ड क्रुजर, स्कुटर र इभी गाडीसहित तीनवटा सवारी साधन रहेको उल्लेख गरेका छन् । यी सबैको मूल्य करिब ३१ लाख हाराहारी रहेको उनले देखाएका छन् । आफूले करिब ३ लाख मूल्यका विभिन्न ब्राण्डका घडी रहेको पनि उल्लेख गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेकी प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सम्पत्ति विवरण अनुसार उनको नाममा काठमाडौंको बूढानीलकण्ठमा ५ आना बनेको घर छ । जुन जग्गा ७० लाखमा खरिद गरेको उनले बताएकी छन् । यो उनको पतिले जोडेका हुन् । प्रतिभा रावलको नाममा बाराको कोलाबीमा १० धुर जग्गा छ ।

जुन उनले ५ लाखमा खरिद गरेकी हुन् । उनीसँग सुन तथा गरगहना २५ तोला छ । नबिल बैंकमा ३ लाख, ग्लोबल आइएमइमा १ लाख ७८ हजार, एभरेष्ट बैंकमा २० लाख रुपैयाँ नगद मौज्दात छ । विभिन्न कम्पनीको करिब १ लाख मूल्यको साधारण सेयर छ । एभरेष्ट बैंकमा २० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको र ४४ लाख मूल्यको सवारी साधन रहेको उनले बताएकी छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आफूसँग १० लाख ५० हजार ३३५ रूपैयाँ बैंकमा रहेको विवरण सार्वजनिक गरेकी छन् । उनीसँग सुन १५ तोला, चाँदी ९ तोला र हीरा १ तोला पनि छ । मन्त्री गौतमले सवारी साधन खरिदका लागि ऋण लिएको विवरण पनि उल्लेख गरेकी छन् ।

राष्ट्रिय वाणिज्य बैंकबाट गाडी किन्न २० लाख रूपैयाँ ऋण लिएर हालसम्म ७ लाख तिरेको तथा एभरेष्ट बैंकबाट सवारी साधन खरिदकै लागि २५ लाख ऋण लिएको उनले भरेको विवरणमा उल्लेख छ । मन्त्री गौतमले पति गृहेन्द्र घिमिरेले सवारी साधन खरिदकै लागि ९५ लाख रूपैयाँ ऋण लिएको विवरणमा उल्लेख गरेकी छन् । घिमिरेले एभरेष्ट बैंकबाट उक्त कर्जा लिएको र त्यसमा पारिश्रमिक अनि पुरानो गाडी दिएर नयाँ किनेको विवरणमा उल्लेख छ ।

कृषि तथा पशुपन्छी विकास तथा वन–वातावरण, मन्त्री गीता चौधरी

कृषि तथा पशुपन्छी विकास तथा वन–वातावरण मन्त्री गीता चौधरीले आफ्नो सार्वजनिक सम्पत्ति विवरणमार्फत विभिन्न चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार मन्त्री चौधरीसँग ५ तोला सुन र १०० तोला चाँदी छ । सम्पत्ति विवरणमा उल्लेख भए अनुसार मन्त्री चौधरीको उक्त सम्पत्तिको स्रोत पैतृक सम्पत्ति र स्वआर्जन हो ।

मन्त्री चौधरीको नाममा पाँच वटा बैंक खातामा एक लाख २६ हजार नगद रहेको विवरणमा उल्लेख छ । उनले ५० हजार रूपैयाँ पर्ने घडी प्रयोग गर्दै आएकी छन्, जसको स्रोत स्वआर्जन भएको विवरणमा खुलाएकी छन् । मन्त्री चौधरीले प्रयोग गरिरहेको मोबाइलको मूल्य ९० हजार र ल्यापटपको मूल्य ७५ हजार रूपैयाँ भएको उल्लेख छ । मन्त्री चौधरीले स्कुटर किन्दा गर्दा आफूलाई ऋण लागेको सम्पत्ति विवरणमा जनाएकी छन् ।

स्कुटर किन्दा एक लाख ५० हजार रूपैयाँ लिएको कर्जामध्ये ८४ हजार तिरिसकेको उल्लेख छ । उनले स्वआर्जनबाट खरिद गरेको अर्को स्कुटर पनि भएको उल्लेख गरेकी छन् जसको मूल्य ३ लाख ३० हजार रूपैयाँ भएको जनाएकी छन् । मन्त्री चौधरीले माइती पक्षबाट प्राप्त भएका २ वटा बाख्रा र १० वटा कुखुरासमेत सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खडकराज पौडेल ‘गनेस’

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खडकराज पौडेल ‘गनेस’ले डिजिटल पुस्तकालय सञ्चालन गर्न २५ लाख रूपैयाँ लगानी गरेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको सम्पत्ति विवरणमा मन्त्री पौडेलले उक्त लगानीबारे उल्लेख गरेका हुन् । बुक लिफ्टर प्रालि मार्फत डिजिटल पुस्तकालय चलाउन लगानी गरे पनि सञ्चालनमा आउन बाँकी रहेको उनले उल्लेख गरेका छन् ।

मन्त्री पौडेलले आफ्नो सम्पत्ति विवरणमा घर र घरले चर्चेको जमिन भाउजू सन्तोषी शर्माको नाममा रहेको उल्लेख गरेका छन् । घर भएको जमिन १७५ वर्ग मिटर रहेको र खरिद मूल्य २ करोड ६० लाख रूपैयाँ रहेको उनले विवरणमा बताएका छन् । उक्त घरजग्गा बैंकमार्फत ऋण लिएर जोडेको उनले विवरणमा जनाएका छन् । पोखरा १४ मझेरीपाटनका स्थायी बासिन्दा पौडेलका आमा खीमकुमारी पौडेलको नाममा विभिन्न स्थानमा पैतृक जग्गा जमिन रहेको उल्लेख छ ।

पोखरा– १४ मा आमा खिमकुमारीको नाममा एक ठाउँमा ३ हजार ८९१ वर्गमिटर, अर्को ठाँमा १ हजार ३११ वर्गमिटर र अर्को ठाउँमा १३८ वर्गमिटर जमिन पैतृक सम्पत्तिका रूपमा रहेको पौडेलको सम्पत्ति विवरणमा उल्लेख छ । बैंक, वित्तीय संस्था तथा सहकारीमा पौडेलले नगद मौज्दात रहेको उल्लेख गरेका छन् । उनको नाममा एमएमबी बैंकमा ५१ रूपैयाँ, माछापुच्छ्रे बैंकमा ८ लाख ८ हजार ४९६ रूपैयाँ, मझेरी सहकारीमा १ लाख ३५ हजार रूपैयाँ नगद मौज्दात छ । यस्तै, श्रीमती नताशा पराजुलीको नाममा माछापुच्छ्रे बैंकमा रहेको छुट्टा छुट्टै खातामध्ये एउटामा २ लाख ४ हजार ८४० र अर्को खातामा १० लाख रूपैयाँ बचत रहेको देखाएका छन् । उक्त रकम नियमित बचत रहेको पौडेलले उल्लेख गरेका छन् ।

छोरी श्रेया पौडेलको नाममा ७२ हजार ९३६ रूपैयाँ रहेको र उक्त रकम उपहार आएको पौडेलले विवरणमा जनाएका छन् । मन्त्री पौडेलले सेयर कारोबारमा पनि उल्लेख्य लगानी गरेको देखिएको छ । बिजीडब्लुटीमा ६५२ कित्ता सेयर रहेको, एसआइएसमा १० हजार कित्ता र मझेरी सहकारीमा ७ हजार ५०० रूपैयाँ सेयर लगानी गरेको उल्लेख गरेका छन् । मन्त्री पौडेलले घर बनाउन माछापुच्छ्रे बैंकबाट १ करोड ३० लाख रूपैयाँ र मझेरी सहकारीबाट १० लाख रूपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । यी दुवै ठाउँमा लिएको ऋण नतिरेको पनि जनाएका छन् ।

सवारी सधानको नाममा मन्त्री पौडेलसँग २ वटा स्कुटर देखिएको छ । ग १२ प ३७२८ नम्बरको स्कुटर २०१७ मा २ लाख रूपैयाँमा खरिद गरेको र ग १२ प २६०५ नम्बरको स्कुटर सन् २०१७ मा खरिद गरेको उनले उल्लेख गरेका छन् । स्कुटर खरिद गर्न पैतृक सम्पत्ति प्रयोग गरेको उनले विवरणमा जनाएका छन् । उनले केही पशु र चराचुरूंगी भएको पनि उल्लेख गरेका छन् । उनले मझेरीपाटनमा ‘मझेरी मंजील फार्म हाउस’ सञ्चालन गरेको उल्लेख गरेका छन् । उक्त फार्म हाउसमा २ करोड रूपैयाँ लगानी गरेको र उक्त रकम परिवारिक भएको उल्लेख गरेका छन् । श्रीमती नताशाको नाममा बर्थ डे जोन स्टोर्स प्रालि रहेको उल्लेख गरेका पौडेलले यसमा पनि पारिवारिक रुपमा १५ लाख रूपैयाँ लगानी गरेको सम्पत्ति विवरणमा जनाएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो नाममा २५ तोला सुन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरणमा मन्त्री पोखरेलले २५ तोला सुन रहेको विवरण सार्वजनिक गरेका हुन् । त्यस्तै उनले १०० तोला चाँदी र २५ हजार रूपैयाँ नगद रहेको विवरण सार्वजनिक गरेका छन् । अनुमानित ७५ लाख बराबरको यो सम्पत्ति उनले विभिन्न मितिमा प्राप्त गरेको बताएका छन् ।

आमाको ‘दाइजो’, बुबाको नेपाल राष्ट्र बैंकमा कार्यरत रहँदाको पारिश्रमिक सुविधा र पैतृक सम्पत्तिबाट प्राप्त गरेको विवरणमा उल्लेख गरेका छन् । उनले सानिमा बैंक लिमिटेड नक्सालमा रहेको आफ्नो बैंक खातामा २ लाख ४८ हजार १९८ रूपैयाँ बचत गरेका छन् । सोही बैंकको डलर खातामा ५ डलर र एनआइसी बैंकमा एक लाख ९९ हजार २९६ रूपैयाँ रहेको उल्लेख गरेका छन् । यो रकम उनले काठमाडौं महानगरपालिकामा कार्यरत रहँदा आर्जन गरेको बताएका छन् ।

उनले आफ्नो बुबा र आमाको नाममा रहेका जग्गा रहेको पनि उल्लेख गरेका छन् । काठमाडौं–४ मा ४ आना २ पैसाको जग्गा र विराटनगर–४ मा एक कट्ठा जग्गा आफ्नो बुबा रमेशकुमार पोखरेलको नाममा देखाएका छन् । त्यस्तै, ललितपुरको गोदावरीमा एक रोपनी १४ आना १ पैसा २ दामको जग्गा आमा मिनाक्षी ओझा पोखरेलको नाममा छ । उनकै नाममा १३५.१४ वर्गमिटरको जग्गा गोकर्णेश्वर–२ मा छ ।

त्यस्तै आमा समेत मावली परिवारको नाममा ११ रोपनी जग्गा गोदावरी–७ मा रहेको खुलाएका छन् । मन्त्री सस्मितले हिमालयन बैंकबाट २५ लाख रूपैयाँ ऋण समेत लिएका छन् । उनले बिवाइडी डल्फिन कार ३९ लाख ६५ हजार रूपैयाँमा खरिद गरेको बताएका छन् । उनको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रूपैयाँ र ऋण ७५ लाख रूपैयाँ देखिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसँग ८० तोला सुन र १५० तोला चाँदी रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री यादवले पैतृक सम्पत्तिका रूपमा ५० तोला र खरिद गरेको ३० तोला गरेर ८० तोला सुन रहेको विवरण पेस गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार उनीसँग भएको चाँदी पनि पैतृक सम्पत्ति हो ।

३० तोला सुन व्यवसाय र रोजगारीबाट खरिद गरेको विवरणमा उल्लेख छ । यादवको सप्तरीको राजविराज–९ मा ११ कट्ठा १३ धुर जमिनमा बनेको घर र राजविराज–९ मै १ बिघा ६ कट्ठा बढी जमिन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यो सबै जमिन पैतृक सम्पत्ति रहेको विवरणमा उल्लेख छ । राजविराज–८ मै काजल कुमारी यादवको नाममा रहेको १० धुर जमिन भने खरिद गरेको उनले उल्लेख गरेका छन् ।

यादवको सम्पत्ति विवरणमा विभिन्न बैंकहरूमा उनी र काजल कुमारी यादवको नाममा ७० लाख रूपैयाँभन्दा बढी नगद मौज्दात छ । त्यो रकम व्यवसाय, तलब, कृषि, भाडा, सापटी र ऋण रहेको उल्लेख छ । उनले २०७३ सालमा २ लाख ७० हजार रूपैयाँमा खरिद गरेको यामाहाको मोटरसाइकललाई सम्पत्तिका रूपमा देखाएका छन् । यसबाहेक यादवसँग २ लाख ५० हजार रूपैयाँ पर्ने म्याकबुक (ल्यापटप), २ लाख २६ हजार ९ सय रूपैयाँ पर्ने आइफोन र ५० हजार रूपैयाँ पर्ने रेडमी मोबाइल एक–एक थान छ ।

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्साल

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्सालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै बैंकमा ९० लाख रूपैयाँ रहेको जनाएका छन् । विवरण अनुसार लम्सालको रूपन्देहीमा एक कट्ठा १० धुर क्षेत्रफलमा घर छ । त्यस्तै, नवलपरासीको कावासोती नगरपालिकामा १० कट्ठा १५ धुर र स्याङ्जाको बिरूवा गाउँपालिकामा ७ रोपनी खेत, २२ रोपनी बारी छ । लम्सालले ३० तोला सुन र ५० तोला चाँदी रहेको सम्पत्ति विवरण पनि पेस गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिना

सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको अधिकांश अचल सम्पत्ति श्रीमतीको नाममा छ । तिमिल्सिनाको विवरणमा काठमाडौंको नागार्जुनमा घर र जग्गा हुनुका साथै ४८ लाख रूपैयाँ व्यक्तिलाई ऋण सापटी दिएको उल्लेख छ । मन्त्री तिमिल्सिनाले बुझाएको विवरण अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित सनराइज हाइटमा श्रीमती मञ्जु गैरेको नाममा १४२.७० वर्गमिटर क्षेत्रफलमा बनेको घर छ ।

सोही वडामा १७४.८५ वर्गमिटर क्षेत्रफलको जग्गासमेत रहेको र उक्त सम्पत्तिको स्रोत श्रीमतीले स्वदेश तथा विदेशमा श्रम गरी आर्जन गरेको पारिश्रमिक र भत्ता देखाइएको छ । चल सम्पत्तितर्फ मन्त्री तिमिल्सिनासँग ५ तोला सुन र १० तोला चाँदी छ । सुनका गहनाहरू पुर्ख्यौली, विवाहमा प्राप्त र उपहार स्वरूप आएको उनले उल्लेख गरेका छन् । यस्तै, २०८० सालमा ५० हजार रूपैयाँमा एक थान मोतीको माला खरिद गरेको विवरणमा देखिन्छ । बैंक मौज्दाततर्फ मन्त्री तिमिल्सिनाको नाममा नबिल बैंकको बालाजु शाखामा १० लाख २४ हजार ३६५ रूपैयाँ छ ।

उनकी श्रीमतीको नाममा सानिमा बैंकमा १० हजार २१ रूपैयाँ मात्र मौज्दात छ । उक्त रकमको मुख्य स्रोत स्वदेश तथा विदेशमा कार्य गरेबापतको आम्दानी भएको उल्लेख छ । विवरण अनुसार मन्त्री तिमिल्सिनाले दुई जना व्यक्तिलाई ४८ लाख रूपैयाँ ऋण सापटी दिएका छन् । उनले २०८० जेठमा बलराम लामिछानेलाई १५ लाख र २०८० असारमा केशव राईलाई ३३ लाख रूपैयाँ ऋण दिएको उल्लेख छ । उनीसँग सन् २०२२ मा २३ लाख रूपैयाँमा खरिद गरिएको बा २६ च १७६८ नम्बरको कार छ । नुवाकोट पञ्चकन्या–१ स्थायी ठेगाना भएका मन्त्री तिमिल्सिनाले आफ्नो विवरणमा कुनै पनि कम्पनीको सेयर वा व्यावसायिक ऋण भने उल्लेख गरेका छैनन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग काठमाडौं महानगरपालिकामै चार ठाउँमा जग्गा रहेको देखिएको छ । विवरण अनुसार उद्योगमन्त्री गौरी यादवको काठमाडौं–९ मा १ रोपनी ३ आना २ पैसामा बनेको तीन तल्ले घर छ । त्यस्तै, वडा नम्बर १० मा १४ आना, ७ आना र ९ आना गरी तीनवटा जग्गा छन् । उनले बर्दिबास नगरपालिकामा १४ कट्ठा, १५ कट्ठा र साढे ५ बिघा गरी तीनवटा जग्गा देखाएकी छन् ।

त्यसबाहेक सम्सी गाउँपालिकामा १ बिघा र १ कट्ठा गरी दुई ठाउँमा र मनहराशिसवा गाउँपालिकामा एउटा पोखरी पनि रहेको उनले उल्लेख गरेकी छन् । सम्पत्ति विवरण अनुसार उनीसँग सुन १८० तोला र चाँदी २ किलो छ । विभिन्न बैंकमा १० लाख रूपैयाँ मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै, ३ करोड ३८ लाख ३५ हजार रूपैयाँ मूल्यको सेयर रहेको विवरण पनि उनले सार्वजनिक गरेकी छन् ।

स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहता

स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग विभिन्न बैंकमा १७ लाख रूपैयाँ देखिएको छ । प्रधानमन्त्री बालेन शाह सहित सरकारका सबै मन्त्रीको सम्पत्ति विवरण आइतबार साँझ सार्वजनिक गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार स्वास्थ्यमन्त्री मेहताको कीर्तिपुरको सौखेलमा ७ आना जग्गा देखिन्छ । यसबाहेक अरू जग्गा आफ्नो सासु र ससुराको नाममा रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै, उनले ३० तोला सुन, ५० तोला चाँदी र विभिन्न बैंकमा १७ लाख रूपैयाँ रहेको पनि उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : २०८२ चैत ३० गते सोमबार