२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday
विचार

समृद्धिको आधार ‘उत्तरदायी नेतृत्व’

नेतृत्वले तत्कालका लागि आर्थिक फाइदा हेरेर दीर्घकालीन क्षतिको बेवास्ता गर्नु दुर्भाग्यपूर्ण छ ।
सत्यपाटीसत्यपाटी । युवा नेता एवं समाजसेवी । २०८१ फागुन ५ गते सोमबार

समाज र राष्ट्रको समृद्धि नेतृत्वकर्ताको सोच, निर्णय र कार्यान्वयन क्षमतामै निर्भर रहन्छ । हिजोको पुस्ताले केही गरेन बिगार्यो भनेर मात्र दोष थोपर्दै बस्ने प्रवृत्तिले समृद्धि सम्भव हुँदैन । जब समाजले नयाँ नेतृत्व रोज्छ, तब त्यसले पुरानो पुस्ताले गरेका गल्ती नदोहोर्याई सुधारका उपाय अवलम्बन गर्नुपर्छ । कोहलपुरजस्तै कतिपय स्थानहरूले युवा नेतृत्वलाई अवसर दिएका छन्, तर पुस्ता परिवर्तनसँगै ब्यबहारिक कार्यशैली, नीति र प्रतिबद्धतामा परिवर्तन नआए समस्या झन् विकराल बन्न सक्छ ।

नेतृत्व परिवर्तन समाजको लागि एक आशाको संकेत हो । पुरानो पुस्ताले गरेका गल्तीलाई सुधार्ने, समाजलाई नयाँ दिशा दिने र समृद्धिको बाटोमा लैजाने आशा अपेक्षासहित कोहलपुरले ७० वर्ष उमेर समूहको नेतृत्वलाई विस्थापित गर्दै ३५ वर्षीय युवालाई नेतृत्वमा चयन गरेर जिम्मेवारी सुम्प्यो । तर पात्र परिवर्तनले मात्र समाधान दिन सक्दैन, जबसम्म नयाँ नेतृत्वले इमानदारिता, सुशासन र दूरदर्शी योजना ल्याउन सक्दैन ।

आज कोहलपुरको वास्तविकता के छ ? हिजोको पुस्ताले गरेका गल्तीलाई सुधार्ने काम भइरहेको छ कि नयाँ पुस्ता पनि पुरानै प्रवृत्तिलाई निरन्तरता दिइरहेको छ ? शिक्षा, स्वास्थ्य, दिगो विकास, प्राकृतिक स्रोतको उपयोग र प्रशासनिक सुधारमा नयाँ नेतृत्वको कार्यशैली कत्तिको प्रभावकारी छ भन्ने प्रश्न उठ्न जरुरी छ ।

१. शिक्षामा अनियमितता र बेथिति

शिक्षा कुनै पनि समाजको रुपान्तरण र समृद्धिको मेरुदण्ड हो, तर कोहलपुरमा शिक्षाको गुणस्तर आधारभूत शिक्षा परिक्षा नतिजादेखि छानबिन हुँदै त्रिभुवन माध्यमिक विद्यालयको शैक्षिक आन्दोलनको छानविन प्रतिवेदन तयारीमै रुमलिएको छ । लक्ष्य उद्देश्य र सपना महत्वाकांक्षी भए पनि अवस्था दिन प्रतिदिन खस्कँदो छ ।

निजी विद्यालयहरू मुनाफा आर्जन गर्ने केन्द्र मात्र बन्दैछन् भने सरकारी विद्यालयहरूमा नियोजितरूपमा बेथिति मौलाएको छ सामुदायिक बिद्यालयको भवनमा विद्यालय परिसरमा बिध्यार्थीको क्षमता वृद्धिको माध्यम साधन अतिरिक्त कक्षा टिउसन अनिवार्य गराइएको छ । बिध्यालयका सेवारत पूर्णकालिन शिक्षक कर्मचारी जनप्रतिनिधिको अनुकम्पाले मञ्चासिन महिनौं सहयात्री बनेको छ ।

राजनीतिक प्रवचनको दौडधुपले विद्यालयमा हाजिरी गरेर टाप कस्ने हतार गरेको छ । शिक्षकहरूको नियुक्ति प्रक्रियामा अनियमितता, विद्यार्थीहरूलाई दिइने सेवामा लापरबाही तथा शिक्षालाई व्यापारिकरण गर्ने प्रवृत्तिले कोहलपुरको भावी पुस्तालाई असर गरिरहेको छ । नयाँ नेतृत्वले शिक्षा सुधारका लागि ठोस रणनीति बनाएको देखिँदैन, जसका कारण गुणस्तरीय शिक्षा सबैका लागि सहज उपलब्ध छैन ।

२. स्वास्थ्य सेवामा लापरबाही र कमजोर पूर्वाधार

स्वास्थ्य नै धन हो भन्ने भनाइलाई पछिल्लो समय कोहलपुरमा चुनौती दिइएको छ । सरकारी अस्पतालहरूमा पर्याप्त औषधि छैन, चिकित्सकीय सेवा प्रभावकारी छैन र निजी अस्पतालहरू मनपरी शुल्क असुल्ने प्रवृत्तिमा छन् । स्थानीय सरकारको मातहतको आधारभूत नगर अस्पताल अस्तब्यस्त बनेको छ । स्वास्थ्य शाखा अन्तर्गतको अतिरिक्त कर्मचारी आन्दोलन बहस र ब्यबस्थापनको विषयले कुनै समय कोहलपुर तातिएको थियो तर आज सत्ताको स्वाद फेरिएको छ ।

तराईको जिल्लाको नगरपालिका कोहलपुर जहाँ विभिन्न समयमा प्राकृतिक मानवीय महामारी र जोखिम निम्तिरहेको हुन्छन । मलेरिया डेङ्गु जस्ता महामारीको समयमा स्वास्थ्य परिक्षण कीट चोरी हुन्छ महामारी नियन्त्रणपछि सोधभर्ना गरिएको देखिन्छ । सर्वसाधारण नागरिकहरू गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित भइरहेका छन् । नयाँ नेतृत्वले स्वास्थ्य क्षेत्रमा सुधारका लागि नीति त ल्यायो, तर तिनको कार्यान्वयन कमजोर छ ।

३. दिगो विकासमा गुणस्तरहीनता

कोहलपुरमा विकासका नाममा भौतिक संरचनाहरू धमाधम बनिरहेका छन् । तर ती संरचनाहरूको दीर्घकालीन प्रभावलाई ध्यानमा राखिएको छैन । निर्माण भएका सडकहरू छोटो समयमै जीर्ण बन्छन्, ढल व्यवस्थापन प्रभावकारी छैन र योजनाहरूमा दीर्घकालीन सोचको अभाव देखिन्छ । दिगो विकास भनेको केवल ठूला संरचना निर्माण मात्र होइन, प्रकृति र समाजसँग सन्तुलन मिलाउँदै भविष्यलाई सुरक्षित गर्ने प्रक्रिया हो ।

प्रकृतिको पर्यावरण र मानवीय स्वास्थ्य संबेदनसिलतालाई समेत बेवास्ता गरेर बहुबर्षिय हरित अभियान अन्तर्गत गरिएको कोनो कार्पस बृक्षारोपण तथा मानव बस्तीको बिचमा स्थापना गरिएको शबदाह स्थल नै किन नहोस् जसले कोहलपुरको प्राकृतिक र मानवीय स्वास्थ्यमा पार्ने दीर्घकालीन असरले कालान्तरमा समिक्षाको विषय बन्नेछ तर वर्तमान नेतृत्वले यो पक्षलाई गम्भीरतापूर्वक नलिएको देखिन्छ ।

४. प्राकृतिक स्रोतको पहिचान र उपयोग

कोहलपुर नगरपालिका क्षेत्रसँग जोडिएर रहेको निकुञ्ज मध्यवर्ती सामुदायिक वनजंगल, खोलानाला र जमिन समाजको साझा सम्पत्ति हुन् । तर पछिल्लो समय यी प्राकृतिक स्रोतहरूको सदुपयोग उपयोग भन्दा अनियमित अनियंत्रित दोहन तीव्र रूपमा भइरहेको छ । सामुदायिक वन सार्वजनिक क्षेत्र र खोलानालाहरु अतिक्रमणको चपेटामा परेका छन् । शहरको केन्द्र भएर बग्ने डुडुवा खोला चोरी तस्करीको केन्द्र भएको छ ।

माटो तथा बालुवा निकासीको कुनै मापदण्ड अवधारणा छैन, जथाभावी दोहन हुँदा बर्सेनि डुबान र कटान भैरहेको छ । अव्यवस्थित शहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदैछ, नदीजन्य पदार्थहरूको अनियन्त्रित उत्खननले पर्यावरणीय असन्तुलन निम्त्याइरहेको छ र वन फँडानीले मौसम चक्रमा परिवर्तन ल्याइरहेको छ । नेतृत्वले तत्कालका लागि आर्थिक फाइदा हेरेर दीर्घकालीन क्षतिको बेवास्ता गर्नु दुर्भाग्यपूर्ण छ ।

५. प्रशासनिक विकृति र अनियमितता

कोहलपुरमा प्रशासनिक सुशासन कायम गर्न नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । राज्यका अन्य निकायहरू जस्तै कामगर्ने प्रक्रियाहरू अझै जटिल बनेका छन सेवाग्राहीहरूले सहज रूपमा सेवा पाउन सकेका छैनन र भ्रष्टाचारले राज्यका सेवा प्रवाहलाई कमजोर बनाइरहेको छ ।

पालिकाको विषयमा कुनै समाचार आउँदैमा आत्तिएर अतालिँदै क्रियाप्रतिक्रिया व्यक्त गर्न तम्सिने जनप्रतिनिधि आफैंले कार्यसम्पादन गरेको कार्य राज्यको निर्देशक मापदण्ड विधि प्रक्रिया विपरित भएपछि समाचारका आधिकारिकता खोज्न तल्लीन कर्मचारी प्रशासनले परिवर्तन रुपान्तरण र समृद्धि सम्भव छैन । जब नेतृत्व परिवर्तन हुन्छ, तब पुराना विकृतिहरू सुधार्ने अपेक्षा गरिन्छ । तर कोहलपुरमा पुरानै प्रवृत्ति दोहोरिएको देखिन्छ । ब्यक्ति फेरिए विधि बदलिएन, पात्र फेरिए प्रवृत्ति उहि छ जसले नागरिकहरूमा स्थानीय सरकारप्रति विश्वास कमजोर बनाइरहेको छ ।

अब के गर्ने ?

पुरानो पुस्ताले बिगार्यो भनेर दोष थोपर्नु मात्र समाधान होइन । यदि नयाँ पुस्ताले पनि उही गलत अभ्यासलाई निरन्तरता दियो भने पुस्ता परिवर्तनको कुनै अर्थ रहँदैन । कोहलपुरमा भएका शिक्षा, स्वास्थ्य, दिगो विकास, प्रशासनिक सुधार र प्राकृतिक स्रोत संरक्षण सम्बन्धी समस्याहरूलाई समाधान गर्न उपायहरू अवलम्बन गर्नु सकिन्छ कि,

१. शिक्षामा सुधार सार्वजनिक विद्यालयहरूको सुदृढीकरण, शिक्षामा पारदर्शिता र व्यावसायिक शिक्षालाई प्रवद्र्धन गर्ने नीति बिधिमा छलफल बहस पैरवी आवश्यक पर्छ कि ?

२. स्वास्थ्य सेवाको सुधार सरकारी अस्पतालहरूमा दक्ष जनशक्ति, पर्याप्त औषधि,प्रशासनिक चुस्तता र सुलभ स्वास्थ्य सेवा सुनिश्चिताका लागि क्षेत्र विषयगत अनुगमन, नियमन, नियन्त्रण गर्नुपर्छ कि ?

३. गुणस्तरीय विकास योजना हचुवाको भरमा अवसरको आवश्यकता अथवा स्वार्थ केन्द्रित विकास नगरी दीर्घकालीन सोच, उपलब्धि र लाभांशको पुर्व समिक्षा र समृद्धिको संभावनाका पूर्वाधार निर्माण गर्नुपर्छ कि ?

४. प्राकृतिक स्रोत संरक्षण दिनप्रतिदिनको बढदो शहरीकरण जनसंख्या वृद्धि जलवायु परिवर्तनको असरसमेत प्रभाव असर र वातावरणीय सन्तुलनलाई ध्यानमा राखी स्रोतहरूको दीर्घकालीन संरक्षण उपयोग गर्नुपर्छ कि ?

५. प्रशासनिक सुधार पालिका कार्यालयको आन्तरिक प्रशासनिक चुस्त दुरुस्त कार्यसम्पादन सेवा प्रवाह अनियमितता बेथिति बिकृतिमुक्त प्रशासनका लागि दण्ड प्रोत्साहनको निति कडाइका साथ लागु गर्दै डिजिटल प्रविधिको प्रयोग र सेवा सहजता अनिवार्य गर्नुपर्छ कि ?

समाज समुदायको सामाजिक विकास समृद्धि र रुपान्तरणका लागि नेतृत्व परिवर्तन मात्र पर्याप्त छैन, सोच परिवर्तन जरुरी छ । कोहलपुरले नयाँ नेतृत्व रोजे पनि पुरानै गलत अभ्यासलाई निरन्तरता दिँदै गएमा समाजको समृद्धि असम्भव छ । पुस्ता परिवर्तनको वास्तविक मूल्य तब मात्र प्राप्त हुनेछ, जब नेतृत्वले इमानदारिता, पारदर्शीता र समाजप्रति उत्तरदायित्वका साथ काम गर्नेछ । नागरिकहरू पनि सचेत बन्दै, बहस गर्दै र नेतृत्वलाई जिम्मेवार बनाउन सक्रिय हुनुपर्छ । अन्यथा, भोलिका सन्ततिहरूले अझ गम्भीर मूल्य चुकाउनु पर्नेछ ।

प्रकाशित मिति : २०८१ फागुन ५ गते सोमबार