२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday

खपटे किरो र सिलसाको सङ्क्रमणले रित्तिँदै मौरीका घार

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ भदौ १ गते सोमबार

मह उत्पादनका लागि पालिएका मौरी खपटे किरोको सङ्क्रमणले मर्न थालेपछि यहाँका मौरीपालक किसान चिन्तित भएका छन् । खपटे किरोले घारमै मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी रित्तिने अवस्था आएको छ ।

बाँकेको कोहलपुरका मौरीपालक किसान पुरमल बस्नेतले भने, ‘अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, खपटे किरोले मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी जोगाउनै कठिन भएको छ । बाहिर आउँदा चराको आक्रमण छ भने घारभित्र खपटे कीराको सङ्क्रमण बढ्दो छ ।’

मौरीलाई खानपानको व्यवस्था गर्न सकिएन भने मौरीको घारमा किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने उल्लेख गर्दै बस्नेतले यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए । १०० घार मौरीपालन गर्दै आएका बढैयाताल गाउँपालिका मैनापोखर बर्दिया निवासी मौरीपालक किसान घनश्याम खत्रीले वर्षायाम मौरीको खाना अभाव हुने समयमा खपटे कीरा र सिलसाको सङ्क्रमणले मौरी जोगाउनै कठिन भएको बताए ।

उनकाअनुसार विगत दुई महिनादेखि मौरीको घारमा यो समस्या देखिएको छ । उपचारका लागि घरेलु विधि अपनाए पनि प्रभावकारी हुन सकेको छैन । ‘एउटा घारमा १० वटा ‘फ्रेम’ हुन्छ त्यसमध्ये दुईदेखि तीन फ्रेम खाली भएको छ,’ खत्रीले भने, ‘यसको प्रत्यक्ष असर मौरीपालक किसानलाई परेको छ ।’

यस्तै बर्दिया बढैयातालका किसान सिंहबहादुर शाहीले पहिला यस्तो सङ्क्रमण कहिल्यै नदेखिएको बताए । १५० घार मौरीपालन गरिरहेका उनले खपटे र सिलसा किरोको सङ्क्रमण नरोकिए १०० घार मौरी जोगाउन पनि कठिन हुने उल्लेख गरे । बाँके र बर्दिया जिल्लामा किसानले व्यावसायिक मौरीपालन गर्दै आएका छन् । यहाँका किसान मौरी चराउन दाङ लैजाने गरेका छन् ।

तोरी फुल्ने ‘सिजन’मा बाँके बर्दियाका विभिन्न क्षेत्रमा मौरीका घार राखेर चराउने गरिए पनि अधिकांश समय दाङ जिल्लामै मौरी चराउने गरिएको मौरीपालक किसान बताउँछन् । अहिले यहाँका अधिकांश किसानले मौरी चराउन दाङमा घार राखेका छन् । दाङमा चराउन लगिएको मौरीको घारमा खपटे किरो र सिलसाको सङ्क्रमण देखिएपछि मौरी जोगाउन कठिन भइरहेको छ ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार