२०८३ असोज ६ , मंगलबार 23, September 2026, Wednesday

सर्पदंश उपचार केन्द्रमा १२४ जनाको उपचार

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्ष २०८२–०८३ मा सर्प तथा बिच्छीको टोकाइका १२४ जना बिरामीले उपचार सेवा लिएका छन् । तीमध्ये ५५ जना सर्पदंशका बिरामी रहेका छन् । सर्पदंश उपचार केन्द्रका अहेब नन्दलाल पाण्डेका अनुसार सर्पदंशका ५५ बिरामीमध्ये २९ जना महिला र २६ जना पुरुष थिए ।

उनीहरूमध्ये अति विषालु सर्पले टोकेका पाँच जना उपचारका लागि समयमै स्वास्थ्य संस्थामा पुगेका कारण उपचार सफल भएको उनले बताए । यस्तै, सोही अवधिमा बिच्छीले टोकेका ६९ जनाले पनि सो उपचार केन्द्रबाट उपचार सेवा लिएको जनाउँदै उनले बिच्छीले टोकेकामध्ये ४२ जना महिला र २७ जना पुरुष रहेको बताए । साउनदेखि असोजसम्मको वर्षायाममा सर्पदंशका घटना बढी हुने गरेका छन् ।

सर्पले टोकेमा झारफुक, धामीझाँक्री वा घरेलु उपचारमा समय खर्च नगरी सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा पुग्नुपर्ने अहेब पाण्डेले बताए । वर्षाका कारण सर्पको बासस्थानमा पानी भरिएपछि सर्प सुरक्षित र सुख्खा स्थानको खोजीमा घर, गोठ, खेतबारी तथा मानिसको आवत–जावत हुने स्थानमा निस्कने भएकाले सोही समयमा सर्पदंशका घट्ना बढी हुने गर्छ ।

त्यस्तै, धान रोपाइँ, घाँस काट्ने, दाउरा संकलन गर्ने तथा खेतमा नाङ्गो खुट्टाले काम गर्ने क्रममा पनि सर्पदंशका घटना बढी हुने गरेको स्थानीयले बताए । राप्तीसोनारीको कचनापुरका स्थानीय भपेन्द्र खत्रीले अधिकांश सर्पले मानिसलाई आक्रमण गर्ने उद्देश्यले नभइ आत्मरक्षाका लागि टोक्ने गरेको देखिएको बताए । उनले तत्काल उपचार केन्द्रसम्म लग्न सकिए ज्यान जोगाउन सकिने रहेछ भन्ने पुष्टि भएको बताए ।

स्वास्थ्यकर्मीहरुका अनुसार सर्पदंशबाट बच्न रातिको समयमा टर्च वा बत्तीको प्रयोग गर्ने, खेतबारी वा झाडीमा काम गर्दा बुट र लामो पाइन्ट लगाउने, घर वरिपरि झाडी तथा फोहोर नराख्ने, मुसाको संख्या नियन्त्रण गर्ने, सुत्दा झुल प्रयोग गर्ने तथा सर्प देखिएमा समात्ने वा मार्ने प्रयास नगरी सुरक्षित दूरी कायम गर्नु आवश्यक छ ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार