द्रुत गतिमा निर्माण भइरहेको भनिएको नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गको मैनापोखर–गुलरिया खण्ड निर्माणमा ठेकेदार कम्पनीले बेवास्ता गर्दै आएको छ । समयमै सडक कालोपत्रे नहुँदा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । हुलाकी राजमार्गमा गाडीको आवागमनमा उडेको कुहिरीमण्डल धुलोले छेउछाउका घरहरूमा बस्नै नसकिने अवस्था छ ।
बढैयाताल गाउँपालिका–५ स्थानीय राजन भण्डारीले धुलोका कारण साइकल, मोटरसाइकल तथा पैदल यात्रुले सास्ती भोग्नुपरेको भण्डारीले बताए । ‘चारलेन सडक बन्छ भनेर यस क्षेत्रका नागरिक उत्साहित थिए, तर सडक भन्नु मात्रको छ,’ उनले भने, ‘यो रोगको भण्डार बनेको छ । सडकमा यात्रा गर्नेले मात्र होइन, सडक छेउका घरमा बस्नेहरूले समेत सास्ती पाएका छन् । घरभित्र राखिएका खाना, लुगाफाटा सबै धुलाम्मे हुने गरेका छन् ।’
सडक कालोपत्रेको गर्ने भन्दै सडकभरी गिट्टी थुपारिएको छ । ‘ठेकेदारले आफ्नो मनलाग्दी गरेका छन्,’ भण्डारी भन्छन् । नेपालगन्ज गुलरिया हुलाकी राजमार्गको ३५ किलोमिटर सडकमध्ये नेपालगन्ज–मैनापोखर २३ किलोमिटर सडक खण्डमात्रै कालोपत्रे भएको छ । बाँकी १२ किलोमिटर सडक खण्डमा धुलाम्मे र जोखिमपूर्ण अवस्थामा छाडिएको छ,’ बढैयाताल गाउँपालिका सितलाबजारका स्थानीय लोकेन्द्र शर्माले भने ।
शर्मा एण्ड कम्पनीले २०८० माघ १५ गतेदेखि निर्माण कार्य शुरु गरेको थियो । उक्त कम्पनीले मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा सडक निर्माणको जिम्मा पाएको थियो । एक वर्षको अवधिमा करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले दाबी गरेको छ । सम्झौता अनुसार नेपालगन्ज गुलरिया सडक अन्तर्गत २७ किलोमिटर कालोपत्रे, ११ किलोमिटर चार लेन र १६ किलोमिटर दुई लेनको सडक निर्माण गर्नुपर्नेछ ।
सुरुवातको चरणमा हुलाकी राजमार्गमा भौतिक निर्माणको काम उत्साहजनक रुपमा भए पनि अहिले मैनापोखर–गुलरिया खण्ड निर्माणमा ठेकेदार कम्पनीले बेवास्ता गरिएको स्थानीयहरुको आरोप छ । मैनापोखरका एक जना स्थानीयले सत्यपाटीलाई भने, ‘विकास निर्माणका कामहरूलाई समयमा नै सम्पन्न गर्नका लागि सरकारी पक्षबाट पहल हुन नसक्नु दुखद हो । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’
हुलाकी सडक हिउँदमा धुलाम्मे तथा वर्षायाममा हिलाम्मे हुने हुँदा मोटरसाइकल, साइकलजस्ता सवारीसाधन चलाएर सो बाटो पार गर्न स्थानीयले निकै कष्ट बेहोर्नुपर्छ । सवारीसाधनले उडाउने धुलोबाट स्थानीय आजित छन् । मैनापोखरदेखि गुलरियासम्मका आसपासका बस्तीका नागरिकहरु धुलाम्मे सडकका कारण निकै समस्यामा परिरहेको स्थानीयहरु बताउँछन् । ‘हुलाकी राजमार्गको काममा ढिलाई हुँदा त्यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरूले कष्ट बेहोर्नुपरेको छ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके