२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday
दसैं कविता

फेरि दसैं आयो !

सत्यपाटीसत्यपाटी । साहित्यकार । २०८० कात्तिक ५ गते आइतबार

फेरि दसैं आयो !
पर परदेशबाट आयो
पारि कालापहाडबाट आयो
आफ्नो गाउँ सम्झी
बिरानो शहरबाट
घर आँगन फर्की
फेरि दसैं आयो !

पर्खाईमा रहेका
पाखा पखेरा नदीनाला
आफ्ना आफन्त सम्झी
मान्यजनको आसिक पाउन
टीका लाउन
लडीबुडी गर्दै
पसिनाले सजिएको
मायाको पोका पन्तरा बोकेर
औकात अनुसारको
सौगात लिएर
फेरि दसैं आयो !

चङ्गाले आकाश छोयो
मन भयो चङ्ग
रोटे पिङ्गमा भेट हुँदा
साथीभाई दङ्ग
सम्बन्धको डोरीले
सानो एउटा संसारमा
हर्ष, उमङ्ग छायो
सबैसँगै बसेर
टीका, जमरा लायो
घुम्दै फिर्दै उस्तैगरी
फेरि दसैं आयो !

प्रकाशित मिति : २०८० कात्तिक ५ गते आइतबार