रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज, उद्धार, स्वास्थ्य सेवा तथा पूर्वाधार पुनःस्थापनाको अभियानलाई सेनाले उच्च जोखिमबीच सम्पन्न भएको ऐतिहासिक विपद् प्रतिकार्यका रूपमा प्रस्तुत गरेको छ ।
प्रतिकूल मौसम, साँघुरो र जोखिमपूर्ण पहाडी उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा बाढीको लेदो र ठूला चट्टानले पुरिएका जलविद्युत् आयोजनाका सुरुङभित्र प्रवेश गर्नुपर्ने चुनौतीका बीच सेनाले एक महिनासम्म उद्धार तथा पुनस्र्थापनाका विभिन्न काम सञ्चालन गरेको हो ।
सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भोटेकोशी बाढीले विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको बताए । उनका अनुसार सङ्कटको कठिन घडीमा अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले गरेको काम भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्त बन्नेछ ।
सेनाको विवरण अनुसार भोटेकोशी बाढीपछिको प्रतिकार्यमा सबैभन्दा जटिल र जोखिमपूर्ण काम जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको खोज तथा उद्धार थियो । बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङभित्र निरन्तर खोजी गर्दै सेनाले सात जनालाई जीवितै उद्धार गर्न सफल भएको जनाएको छ ।
विपद्को सूचना प्राप्त हुनासाथ रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासी लगायत क्षेत्रमा तैनाथ सैनिक युनिटलाई खोज तथा उद्धारमा परिचालन गरिएको थियो । अभियानलाई प्रभावकारी बनाउन नौ हजार ३०० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिनुका साथै कम्पोजित क्विक रियाक्सन टिम र आपत्कालीन मेडिकल टिमसहित चारवटा हेलिकप्टर तत्काल उद्धारमा खटाइएको सेनाले जनाएको छ ।
सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध भएपछि हवाई उद्धारलाई प्राथमिक माध्यम बनाइएको थियो । एमआई–१७ लगायत सातवटा सैनिक हेलिकप्टर तथा निजी क्षेत्रका हवाई साधन परिचालन गरी त्रिशूली र धुन्चेमा बेस स्थापना गरिएको थियो । एयर ट्राफिक कन्ट्रोल सञ्चालनसहित दैनिक १५ देखि २२ वटासम्म हेलिकप्टर उडान भएका थिए ।
सेनाका अनुसार एक महिनाको अवधिमा उक्त हवाई अभियानमार्फत तीन हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिकसहित कुल चार हजार २४२ जनाको सकुशल उद्धार गरिएको छ । उद्धारसँगै टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेँसी लगायत प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, रासन तथा अक्सिजन सिलिन्डर हवाई माध्यम र ड्रोनमार्फत पुर्याइएको थियो । सुरुङ क्षेत्रमा खोज तथा उद्धारका लागि आवश्यक उपकरण पुर्याउन स्लिङ अपरेसनसमेत सञ्चालन गरिएको थियो ।
जमिनी उद्धारतर्फ पनि सेनाले नदी किनार, जङ्गल, डाँडाकाँडा तथा बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा पैदल गस्ती सञ्चालन गरेको थियो । रसुवागढीदेखि पूर्वी नवलपरासीसम्मका प्रभावित क्षेत्रमा स्थानीय निकायसँग समन्वय गरी तुप्चे, दानसिङ, कालिकास्थान, स्याफ्रुबेँसीलगायत क्षेत्रमा खोजी तथा उद्धार गरिएको थियो । अप्ठ्यारो भूभागमा सम्भावित स्थान पहिचान गर्न थर्मल ड्रोन तथा आधुनिक उपकरण प्रयोग गरी रेकी गरिएको थियो । जमिनी उत्खनन तथा खोजीका क्रममा फेला परेका एक हजार ४५१ शवको व्यवस्थापनमा सेनाले सहयोग गरेको जनाएको छ ।
सुरुङभित्रको सबैभन्दा जोखिमपूर्ण उद्धार
भोटेकोशी बाढीपछिको उद्धार अभियानमा जलविद्युत् आयोजनाका सुरुङभित्र गरिएको खोजीलाई सेनाले सबैभन्दा चुनौतीपूर्ण कामका रूपमा उल्लेख गरेको छ । त्रिशूली–३ ‘ए’ आयोजनामा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर तथा नियन्त्रित विस्फोटमार्फत क्राउन हेड खोलेर अक्सिजन पम्प गरिएको थियो । यसक्रममा भदौ १९ गते सुरुङभित्र फसेका दुई जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ ।
माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट सुरुङमा २२५ मिटर गहिराइसम्म पुगेर रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो । सो आयोजनाबाट ३७ वटा शवसमेत सङ्कलन गरिएको सेनाको विवरणमा उल्लेख छ । त्यसैगरी करिब एक हजार ५० मिटर वैकल्पिक बाटो खोलेर चिलिमे सुरुङमा ब्रेकथ्रुप गरिएपछि पाँचवटा शव तथा मानव अङ्ग सङ्कलन गरिएको थियो । रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा पनि उत्खनन तथा खोजी जारी राखिएको थियो । यी कार्यमा छिमेकी तथा मित्रराष्ट्रका जनशक्ति र प्रविधिसमेत नेपाली सेनासँग संयुक्त रूपमा परिचालन भएका थिए ।
चार हजारभन्दा बढीलाई स्वास्थ्य सेवा
खोज तथा उद्धारसँगै बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई पनि सेनाले प्राथमिकतामा राखेको थियो । त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गरी चार हजार तीन जनालाई प्रत्यक्ष चिकित्सा सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।
सुरुङ तथा भौगोलिक रूपमा विकट क्षेत्रमा गम्भीर अवस्थामा फेला परेका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल पुर्याएर उपचार गरिएको थियो । विस्थापित नागरिकका लागि स्थापना गरिएका अस्थायी आवास तथा होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा उपलब्ध गराइनुका साथै सम्भावित महामारी रोक्न स्थानीय निकायसँगको समन्वयमा निसङ्क्रमण अभियानसमेत सञ्चालन गरिएको थियो ।
सडक र पुल पुनर्निर्माणमा पनि सेना
उद्धार र स्वास्थ्य सेवासँगै बाढीबाट प्रभावित जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनामा पनि सेनाले काम गरेको जनाएको छ । नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लामो र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासपछि जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । स्याफ्रुबेँसी–चिलिमे तथा इन्द्रेणीघाटमा तुइन र काठका अस्थायी फट्के निर्माण गरिएको छ ।
बेत्रावतीमा बेलीब्रिज निर्माणका लागि आवश्यक स्थानसम्म पुग्ने बाटो निर्माण गर्न विस्फोटक पदार्थ प्रयोग गरिएको सेनाले जनाएको छ । सेनाका अनुसार सम्पूर्ण प्रतिकार्यका क्रममा आफ्नै परिवार तथा सैनिकसमेत बाढीबाट प्रभावित भएको अवस्थामा पनि नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्दै सैनिक टोली निरन्तर अग्रपङ्क्तिमा खटिएको थियो ।
विशेषगरी जलविद्युत् आयोजनाका साँघुरा र जोखिमपूर्ण सुरुङमा लेदो, चट्टान, सीमित स्थान तथा थप दुर्घटनाको सम्भावनाबीच गरिएको जीवित उद्धार उच्च जोखिममा काम गर्नुपर्ने अवस्थाको उदाहरण बनेको सेनाको निष्कर्ष छ । भोटेकोशी बाढीको प्रतिकार्यले विपद्का समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय तह तथा स्थानीय समुदायबीचको समन्वय र सहकार्यको आवश्यकता पनि देखाएको सेनाले जनाएको छ ।
सेनाका अनुसार विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन भविष्यमा यस्ता घटनालाई सामान्य प्रशासनिक जिम्मेवारीका रूपमा मात्र नभई उच्च जोखिम, अनिश्चितता र बहुनिकाय समन्वय आवश्यक पर्ने संयुक्त अभियानका रूपमा लिनुपर्ने देखिएको छ । साथै, विपद् प्रतिकार्यमा नेपाल सरकारको निर्देशनबमोजिम नेपाली सेना लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय निकाय र स्थानीय समुदायबीच समन्वय र सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट देखिएको छ ।

