२०८३ भदौ २८ , आइतबार 13, September 2026, Sunday

घसियारन समुदायको पुर्ख्यौली पेशा सङ्कटमा

कुनै समय नेपालगन्जका गल्ली, चोक र बस्तीमा घाँसका भारी देखिन्थे । बिहानैदेखि महिलाहरू काँधमा घाँसको भारी बोकेर बजारतिर निस्कन्थे । घरघरमा पशुपालन सामान्य थियो । घाँस काट्नु, बेच्नु र त्यसैबाट परिवार चलाउनु घसियारा समुदायको पहिचानजस्तै थियो ।

समय फेरियो, सहर फैलियो, खेत र खुला जमिन घट्दै गए, पशुपालनको परम्परा कमजोर भयो, घाँस बेचेर परिवार पाल्ने पुरानो बाटो विस्तारै बन्द हुँदै गयो । तर त्यससँगै सङ्घर्ष भने रोकिएन । घाँस बेचेर गुजारा चलाउँदै आएका नेपालगन्ज उपमहानगरपालिका–८ महेन्द्र पार्क नजिकको घसियारन टोलका महिलाहरूले जीविकाको नयाँ बाटो खोजे—सालको पात ।

आज उनीहरूको हातमा घाँसको भारी होइन, सालका पातका मुठा देखिन्छन् । बिहान सबेरै उनीहरू पात बोकेर त्रिभुवन चोक पुग्छन् । कसैले मुठा बेचिरहेका हुन्छन्, कसैले त्यहीँ बसेर दुनाटपरी र टपरी बनाइरहेका हुन्छन् । घसियारन टोलकी ६० वर्षीया चमारन केवटले केही समय अघिदेखि घाँस बिक्री हुन छोडेपछि पात बेचेर गुजारा चलाउँदै आएको बताइन् ।

उनले भनिन्, ‘पहिला घाँस बेचेर बच्चाहरू हुर्काएँ, अहिले घाँस बिक्री हुन छोडेपछि पात बेचेर गुजारा चलाउँदै आएका छौँ ।’ चमारनका अनुसार पहिले सजिलै पाइने स्रोत अहिले कठिन बन्दै गएको छ । पात सङ्कलन गर्न जङ्गलसम्म पुग्नुपर्छ । घरदेखि टाढा जङ्गल पुगेर पात टिप्नु, बोकेर फर्कनु र बजारसम्म ल्याउनु आफैँमा ठुलो श्रम हो ।

४५ वर्षीया रेखा केवटले नेपालगन्जबाट करिब २५ किलोमिटर टाढा शमशेरगन्जबाट पात ल्याएर बिक्री गरिरहेको बताइन् । उनले दिनभरको मेहनतबाट करिब ५०० देखि ६०० रुपैयाँसम्म कमाइ हुने गरेको बताइन् । केवटले थपिन्, ‘दिनको ५०० देखि ६०० रुपैयाँ जति कमाइले सबै कुरा चलाउनुपर्छ, बचत गर्नै पाइँदैन ।’

घाँस बेचेर जीवन धान्ने अवस्था हराउँदै जाँदा चमारन र रेखाजस्ता अधिकांश घसियारा समुदायका मसहलाहरु सालको पाततिर मोडिएका छन् । तर पातको काम पनि उनीहरुका लागि स्थायी विकल्प बन्न सकेको छैन । कतिपय महिला १६ देखि १७ किलोमिटरसम्म पैदल यात्रा गरेर जंगल पुग्छन् । घण्टौँ लगाएर पात सङ्कलन गर्छन् र भारी बोकेर घर फर्किन्छन् ।

दिनभरको श्रमपछि हात पर्ने आम्दानी भने निकै थोरै छ । घसियारन समुदायका महिलाका लागि सालको पात अहिले वैकल्पिक जीविकाको आधार बने पनि यो पेशा व्यवस्थित व्यवसाय बन्न सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले नगरभित्रका घसियाराहरुको पेशालाई आधुनिकरण गर्ने योजना उपमहानगरले बनाइरहेको बताए ।

सहज रूपमा पात सङ्कलन गर्ने व्यवस्था, आधुनिक टपरी बनाउने उपकरण, सीप विकास, प्याकेजिङ, बजार व्यवस्थापन र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न सकेमा अहिले सडकछेउमा पात बेचिरहेका महिलाहरू आफ्नै उद्यम सञ्चालन गर्न सक्ने अवस्थामा पुग्न सक्छन् । यसमा स्थानीय सरकारले घसियारन समुदायको भविष्यको बारेमा गम्भीर भएर सोच्नुपर्छ ।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार