खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर गइरहेको बाँझो जमिनलाई वडाको मुख्य आम्दानीको स्रोत बनाएकाले उदाहरणीय काम गरेको हो । बाँकेको खजुरा गाउँपालिका–२ ले दुई बिघा सार्वजनिक जग्गामा अम्बा, आँप, लिची, कटहर, सुनकागती र ज्यामिरका बिरुवा रोपेर व्यावसायिक फलफूलखेती सुरु गरेको छ ।
ताजा तथा अर्गानिक फल स्थानीयलाई बिक्री गर्ने र वडाको आम्दानी बढाउने उद्देश्यले फलफूलखेती सुरु गरिएको गाँउपालिकाले जनाएको छ । वडाध्यक्ष धनराम ओलीले स्थानीयलाई कृषिप्रति आकर्षित गर्ने र जमिन बाँझो राख्न हुन्न भन्ने उदाहरण जनतालाई सिकाउने र देखाउने हाम्रो मुख्य उद्देश्य रहेको जानकारी दिए ।
अध्यक्ष ओलीले वडा कार्यालयको नाममा रहेको सार्वजनिक जग्गालाई ठेक्कामा दिने पुरानो अभ्यासको अन्त्य गरी वडा कार्यालयले उक्त खेती सुरु गरेको बताए । साविक सीतापुर गाविसको नाममा रहेको एक बिघा सात कठ्ठा जग्गा यसअघि वार्षिक १० हजार रुपैयाँमा ठेक्कामा दिने प्रचलन थियो ।
कतिपय वर्ष ठेक्का नलाग्दा जग्गा बाँझै रहने अवस्थाको भने हाल अन्त्य भएको छ । उनले जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासमा सार्वजनिक सम्पत्तिलाई उत्पादनसँग जोड्ने अवधारणाअनुसार बागवानी खेती सुरु गरिएको बताए । सार्वजनिक जग्गालाई उत्पादनसँग जोड्ने अभ्यास खजुरा गाँउपालिकाले सुरु गरेको भएको छ ।
उक्त अभियान वडामा मात्र सीमित नरही देशभरका वडाले अनुसरण गर्न सके सार्वजनिक सम्पत्तिको उपयोग बढ्नुका साथै कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने कृषि अभियन्ता कृष्ण पौडेलले बताउँछन् । नेपालमा युवा जनशक्ति रोजगारीका लागि विदेशपलायन भइरहेका बेला गाउँमा रहेका ज्येष्ठ नागरिकले खेती गर्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै बागवानी खेतीलाई वडाले प्राथमिकता दिइएकामा स्थानीयवासी खुसी छन् ।
अन्नबालीभन्दा बागवानी खेतीमा धेरै श्रम आवश्यक पर्दैन । आम्दानी पनि राम्रो हुन्छ । फलफूलखेती गर्नाले भिरालो जमिनको माटो समेत कसिले बन्छ । र पहिरो जाने सम्भावना कम रहन्छ । एकपटक बिरुवा रोपेपछि नियमित सिँचाइ, रोग नियन्त्रण र वर्षमा दुई पटक मल व्यवस्थापन गरे पुग्छ । त्यसैले कम श्रममा पनि राम्रो उत्पादन लिन सकिन्छ ।
हाल वडाले दुई बिघा क्षेत्रफलमा थाइवान पिङ्ग प्रजातिका ७५ वटा अम्बा, २०० वटा आँप, २१ वटा कटहर, १७ वटा सुनकागती, ज्यामिर तथा १०० वटा लिचीका बिरुवा समेत बाँझो जमिनमा लगाइएको छ । हाल रोपिएका बिरुवाको उमेर करिब २३ महिना पुगेको छ । बागवानी विज्ञ र कृषि प्राविधिकको सल्लाहअनुसार सुरुजवाती पाँच पटकसम्म बिरुवामा लागेको फूल र फल टिपेर हटाइएको थियो ।
कम उमेरमै फल राख्दा बिरुवाको वृद्धि कमजोर हुने भएकाले त्यसो गरिएको उनले बताए । वडाले उत्पादन हुने फलको बजारीकरणका लागि तयारी थालेको छ । वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा स्थानीय उपभोक्तालाई राजस्व रसिद काटेर फल बिक्री गर्ने योजना रहेको छ । बजारमा बिक्री योग्य भएपछि त्यसबेलाको बजार मूल्यलाई आधार मानेर मूल्य निर्धारण गरिने लक्ष्य छ ।
बाहिरबाट आउने उपभोक्ताले वडाबाटै फल खरिद गर्न सक्ने व्यवस्था गरिने भएको छ । वडा कार्यालयले यसअघि उत्पादनमूलक कृषि अभ्यास गर्दै टनेलमार्फत च्याउ उत्पादन गर्दै आएको थियो । पछिल्ला दुई वर्षदेखि प्रतिकिलो १२० रुपैयाँमा च्याउ बिक्री गर्दै राजस्व संकलन भइरहेको छ । त्यही अनुभवका आधारमा फलफूल खेतीलाई समेत राजस्वसँग जोड्ने योजना बनाइएको वडा अध्यक्ष ओलीले बताए ।
उनले सार्वजनिक स्थलमा रहेका सरकारी जग्गालाई उत्पादनसँग जोड्न सके आयातमा निर्भरता घट्ने, स्थानीयस्तरमै स्वच्छ तथा अर्गानिक उत्पादन उपलब्ध हुने र विदेशिने पुँजीलाई समेत रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । बाँझो जग्गा राख्ने प्रवृत्ति अन्त्य गरी नागरिकलाई फलफूल, बागवानी, मत्स्य तथा अन्य कृषि व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइने लक्ष्य वडाले लिएको छ ।
हाल वडा कार्यालय परिसरमा करिब दुई बिघा क्षेत्रफल बागवानी खेतीका लागि प्रयोग भइरहेको छ भने बाँकी करिब सात कठ्ठा क्षेत्रमा वडा कार्यालयका भौतिक संरचना रहेका छन् । सार्वजनिक सम्पत्तिलाई उत्पादनमूलक उपयोगसँग जोड्ने यो अभ्यास स्थानीय तहमा वैकल्पिक राजस्व स्रोत विकास गर्ने उदाहरणका रूपमा समेत हेरिएको छ ।
खजुरा गाउँपालिकाको १०१.७९ वर्ग किलोमिटर क्षेत्रफलमध्ये पाँच हजार ४४७ हेक्टर जमिनमा खेती भइरहेको छ । गाउँपालिकाको तथ्यांकअनुसार आठ हजार ८९८ हेक्टर खेतीयोग्य जमिनमध्ये आठ हजार ४५३ हेक्टर पाखोबारी रहेको छ । ४४५ हेक्टर जमिन बाँझो छ । झन्डै चार हेक्टर जमिन खेती योग्य भए पनि खेती गरिएको छैन ।
खेती नगरिएको जमिनमध्ये केही व्यक्तिको स्वामित्वमा छन् भने नदी–नाला तथा खोला किनार, विद्यालयका खाली जग्गा र सिँचाइका लागि उपयुक्त नभएका क्षेत्रसमेत रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको तथ्यांकअनुसार खेतीयोग्य तर खेती नगरिएको जमिनमध्ये वडा नं. २ को सरकारी जग्गामा ४०० हेक्टर बाँझो जमिनमा ताइवानी बेलौती खेती गरिएको छ । यसैगरी, वडा नं. ३ स्थित आदर्श माध्यमिक विद्यालयको बाँझो जमिनमा फलफूलखेती गरी राजस्व संकलन गर्न थालिएको छ ।
गाउँपालिकाका कृषि प्रसार अधिकृत युवराज ढकालका अनुसार चालु आर्थिक वर्षदेखि बाँझो जग्गाको व्यवस्थित उपयोगका लागि योजनाबद्ध रूपमा अभिलेख राख्ने काम अघि बढाइनेछ । बाँझो तथा खेतीयोग्य जमिनको पहिचान गरी सम्भाव्यता हेरेर कृषि उत्पादनमा प्रयोग गर्ने योजना गाउँपालिकाले बनाएको छ । स्थानीयस्तरमै उपलब्ध जमिनलाई उत्पादनसँग जोड्न सके कृषि क्षेत्रको विकाससँगै स्थानीयको आयआर्जन र गाउँपालिकाको राजस्वसमेत बढाउन सकिने अपेक्षा गरिएको छ ।
