२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday

भोटेकोशी बाढीमा सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता

भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेपनि नेपाली सेनाका ४५ जना अझै बेपत्ता रहेको नेपाली सेनाले जनाएको छ । बाढीपछि बेपत्ता भएकाहरुको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको नेपाली सेनाले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको भोटेकोशी बाढी तथा खोज तथा उद्धार कार्यसम्बन्धी पत्रकार सम्मेलनमा नेपाली सेनाका राजाराम बस्नेतका अनुसार नेपाली सेनाले हवाई, जमिन र टनेल गरी तीनवटा क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ ।

‘नेपाली सेनाले सरकारको निर्देशनबमोजिम सम्बन्धित सबै डिजास्टरमा इन्भल्भ भएका निकायहरूसँग एकदमै नजिकबाट समन्वय र सहकार्य गरेर काम गरेको छ । विशेषगरी हवाई, जमिन र टनेल खोज तथा उद्धार गरी तीनवटा सेक्टरमा बाँडेर काम गरिरहेका छौँ,’ बस्नेतले भने । परराष्ट्र मन्त्रालयको समन्वयमा छिमेकी तथा मित्रराष्ट्रबाट प्राप्त सहयोगलाई समेत खोज तथा उद्धारमा प्रयोग गरिएको उनले बताए ।

‘परराष्ट्र मन्त्रालयबाट समन्वय भएर सेनाले जोइन्ट्ली कार्य गर्ने गरी छिमेकी तथा फ्रेन्डली फरेन कन्ट्रीजबाट जुन सहयोग प्राप्त भएको छ, यसको लागि आभारी छौँ। उहाँहरूसँग नजिकबाट समन्वय र सहकार्य गरेर, काँधमा काँध मिलाएर टनेल इलाकामा खोज तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध छौँ,’ उनले भने ।

बस्नेतले खोज तथा उद्धारका क्रममा हिलो, माटो, लेदो तथा ठूला ढुंगा र चट्टानका अवशेष चुनौतीका रूपमा देखिएको बताए । ‘मुख्यगरी चुनौतीहरूमा हिलो, माटो, लेदो भरिएका स्थानहरू छन्। त्यससँगै आएका ठूला–ठूला ढुंगा र चट्टानका अवशेषहरू रहेका छन् । थ्री–एमा पनि करिब २० मिटर तल खनेपछि मात्रै पावरहाउसमा जाने इन्ट्री पोइन्ट फेला परेको थियो,’ उनले भने ।

उनका अनुसार त्रिशुली थ्री–ए पावरहाउस करिब १७५ मिटरभित्र रहेको थियो । सीमित भूगोल, एयर ट्राफिक तथा हवाई उडानका लागि कठिन अवस्था र बदलिइरहने मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको उनको भनाइ छ । नेपाली सेनाले प्रभावित क्षेत्रमा दैनिक १५ देखि २२ वटासम्म हेलिकप्टर परिचालन गरी खोज तथा उद्धार कार्य अघि बढाइरहेको जनाएको छ ।

‘हामीले १५ वटादेखि २२ वटासम्म हेलिकप्टरहरू त्यस्तो स्थानमा—जुन सानो एउटा खोल्चो छ—त्यो खोल्चोबाट कुनै पनि त्रुटिरहित ढङ्गले खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेका छौँ,’ बस्नेतले भने । बेपत्ता सैनिकको खोजीमा समेत सबै सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बल नेपालले पनि बाढी तथा विपद्पछि खोज तथा उद्धार र राहत वितरणका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको जानकारी दिएको छ । सशस्त्र प्रहरीका प्रतिनिधिका अनुसार हालसम्म चार हजार २०३ जना सशस्त्र प्रहरी विपद् प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।

त्यसमध्ये कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु, मेडिकल, ड्रोन, रोप रेस्क्यु, स्विफ्ट वाटर रेस्क्यु, डेड बडी म्यानेजमेन्ट, डिजास्टर म्यानेजमेन्ट तथा हाइअल्ट रेस्क्यु लगायतका विशेष तालिमप्राप्त ७७४ जना रहेका छन् । ‘यी टिमसँगै अन्य सशस्त्र प्रहरी बलका टिमहरू नेपाली सेनासँग र नेपाल प्रहरीसँग संयुक्त रूपमा र एकल रूपमा पनि खोज तथा उद्धार र राहत वितरण कार्यक्रममा परिचालन भएका छन्,’ सशस्त्र प्रहरीका रविन राजले भने ।

सशस्त्र प्रहरीले नुवाकोट, रसुवा र धादिङका विभिन्न १३ स्थानमा अस्थायी बेस स्थापना गरेर खोज तथा उद्धार तथा राहत वितरणको काम गरिरहेको जनाएको छ । यस्तै, सात स्थानमा हेल्थ क्याम्प स्थापना गरी स्वास्थ्य सेवा प्रदान भइरहेको छ । तीमध्ये रसुवामा दुई र नुवाकोटमा पाँचवटा हेल्थ क्याम्प छन् । हालसम्म स्वास्थ्य शिविरबाट दुई हजार ९७० जना लाभान्वित भएको सशस्त्र प्रहरीले जनाएको छ ।

राहत वितरणका लागि रसुवामा हालसम्म ११३ वटा उडान गरिएको छ । ती उडानमार्फत १०० स्थानमा राहत वितरण गरिएको र करिब १४ हजार जना लाभान्वित भएको जनाइएको छ । यस्तै, नुवाकोटमा ८६ वटा उडान गरी ५० स्थानमा राहत वितरण गरिएको छ । यसबाट करिब आठ हजार ४०० जना लाभान्वित भएको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनामा सशस्त्र प्रहरीका १३ जना बेपत्ता भएकामा एक जनाको शव फेला परेको र १२ जना अझै बेपत्ता रहेको जानकारी दिइएको छ । टनेल रेस्क्युका लागि पनि सशस्त्र प्रहरीले छुट्टै जनशक्ति परिचालन गरेको जनाएको छ । नुवाकोटमा १७ गते ६३ जना, १८ गते ४१ जना, २० गते १०४ जना र २१ गते २७ जना परिचालन गरिएको थियो ।

त्यस्तै रसुवामा १७ गते ६० जना, १८ गते ३९ जना र २० गते ९९ जना परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणको कामलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार