२०८३ भदौ १२ , शुक्रबार 28, August 2026, Friday
संकटका सारथी

विपदमा देखिँदैनन् दलका कार्यकर्ता, जहिल्यै अग्रमोर्चामा सुरक्षाकर्मी

यस्तो कठिन समयमा राजनीतिक दलका कार्यकर्ता भने मुस्किलले देखिन्छन् । जसरी कुनै राजनीतिक दलको पक्षमा सडकमा देखिन्छन्, त्यसरी युवाहरू आतप–विपदमा प्रभावित क्षेत्रमा देख्न पाइँदैन ।

भोटेकोशीमा बाढी आयो, कयौँ बस्ती बगायो, पुल र सडक भत्किए । कसैले आफन्त गुमाए, कोही घरबारविहीन बन्न पुगे । यस्तो बेला पीडितहरू उद्धारकर्ताको बाटो हेरिरहेका छन्, त्यहीँ जोखिमसँग जुध्दै अगाडि बढिरहेका छन् नेपालका सुरक्षा निकाय । जो, जनताको साथको लागि जहिल्यै अग्रमोर्चामा खटिरहन्छन् ।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यतिबेला ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । बाढीले बस्ती, सडक, पुल र पूर्वाधार तहसनहस बनाएको छ । कतिपय नागरिक बेपत्ता छन् भने सयौँ परिवार विस्थापित भएका छन् । यस्तो पीडादायी परिस्थितिमा प्रभावित नागरिकको उद्धार, खोजी तथा राहत वितरणको काम तीव्र रूपमा अघि बढिरहेको छ ।

र, यो अभियानको अग्रमोर्चामा उभिएका छन्, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल । विपद् आएपछि सबैभन्दा पहिले सम्झिइने राज्य संयन्त्रमध्ये सुरक्षा निकाय अग्रस्थानमा पर्छ । रसुवादेखि चितवनसम्म अहिले हजारौँ सुरक्षाकर्मी जोखिम मोलेर उद्धारमा खटिएका छन् । नेपाली सेनाका हेलिकोप्टरदेखि स्थलमार्गमा परिचालित सुरक्षा टोलीसम्मले ज्यानको परवाह नगरी नागरिकको जीवन जोगाउने प्रयास गरिरहेका छन् ।

बाढीको भेल, भत्किएका संरचना र जोखिमपूर्ण भूगोलबीच उद्धार गर्नु आफैँमा अत्यन्त चुनौतीपूर्ण काम हो । तर, यही चुनौतीबीच सुरक्षाकर्मीले देखाएको साहस र समर्पण प्रशंसनीय छ । नेपालमा विपद् कुनै नयाँ विषय होइन । बाढी, पहिरो, भूकम्प, आगलागी, हिमपहिरो, सडक दुर्घटना वा अन्य ठूला दुर्घटना हुँदा उद्धारको पहिलो जिम्मेवारी प्रायः सुरक्षा निकायको काँधमा आइपुग्छ ।

प्राकृतिक विपद् मात्र होइन, हुलदङ्गा, झैझगडा, अशान्ति र राष्ट्रिय संकटका बेलासमेत सुरक्षा निकाय अग्रमोर्चामा उभिँदै आएको छ । कठिन परिस्थितिमा राज्यको उपस्थिति देखाउने महत्त्वपूर्ण माध्यम पनि सुरक्षा निकाय नै बनेको छ । विपद्को क्षणमा पीडित परिवारलाई तत्काल चाहिने कुरा भाषण नभई उद्धार हो, आश्वासन नभई साथ र सहयोग हो ।

यही काम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरिरहेको छ । जोखिममा परेका नागरिकसम्म पुग्ने, बेपत्ताको खोजी गर्ने, घाइतेलाई सुरक्षित स्थानमा ल्याउने, शव व्यवस्थापन गर्ने, बाटो खुलाउने र राहत सामग्री पुर्याउने काममा उनीहरूको प्रत्यक्ष भूमिका रहन्छ । राजनीतिक दलहरूले आफूसँग हजारौँ कार्यकर्ता रहेको दाबी गर्ने गर्छन् ।

तर, यस्तो कठिन समयमा राजनीतिक दलका कार्यकर्ता भने मुस्किलले देखिन्छन् । जसरी कुनै राजनीतिक दलको पक्षमा सडकमा देखिन्छन्, त्यसरी युवाहरू आतप–विपदमा प्रभावित क्षेत्रमा देख्न पाइँदैन । अप्ठ्यारोमा जहिल्यै जहाँ पनि सुरक्षा निकाय नै अग्रमोर्चामा देखिन्छ । बाढीको भेल कति शक्तिशाली छ भन्ने थाहा हुँदाहुँदै त्यसैमा प्रवेश गर्नुपर्ने हुन्छ ।

पहिरो खसिरहेको ठाउँमा पुग्नुपर्ने हुन्छ । भत्किएको सडक र पुल पार गर्दै प्रभावितसम्म पुग्नुपर्ने हुन्छ । कहिलेकाहीँ उद्धारमा खटिएकै सुरक्षाकर्मी आफैँ दुर्घटनाको जोखिममा पर्छन् । तर, नागरिकको जीवन जोगाउने जिम्मेवारी उनीहरूलाई पछाडि हट्न दिँदैन । यही कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सुरक्षाको दृष्टिले मात्र हेर्नु पर्याप्त हुँदैन ।

उनीहरू विपद्को समयमा नागरिकका सारथि पनि हुन् । संकटमा राज्यको भरोसा बन्ने संस्था हुन् । नागरिकले सबैभन्दा कठिन अवस्थामा गुहार्ने र तत्काल विश्वास गर्ने संयन्त्र हुन् । तर, सुरक्षा निकायको साहस र समर्पणको प्रशंसा गर्दै गर्दा उनीहरूलाई आवश्यक स्रोत, साधन, प्रविधि र तालिम उपलब्ध गराउने विषयलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ ।

विपद् व्यवस्थापनमा हेलिकोप्टर, उद्धार उपकरण, सञ्चार प्रणाली, स्वास्थ्य सामग्री र आधुनिक प्रविधिको पर्याप्त व्यवस्था भए उद्धार अझ प्रभावकारी बन्न सक्छ । जोखिममा खटिने सुरक्षाकर्मीको सुरक्षा पनि राज्यको जिम्मेवारी हो । बाढीले धेरै कुरा बगाएर लग्यो, तर यही कठिन घडीमा सुरक्षाकर्मीले देखाएको साहसले नागरिकमा आशा जगाइरहेको छ ।

जोखिमको बीचमा अरूको जीवन जोगाउन खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रत्येक सदस्यसँग यो कठिन घडीमा हातमा हात, काँधमा काँध थप्ने जो कोही प्रशंसालायक छन् । विपद्को बेला सुरक्षाकर्मी, सुरक्षाकर्मी मात्रै होइनन्, नागरिकका रक्षक, उद्धारका सारथि र संकटका साहसी साथी बनिरहेका छन् । यो समयमा सुरक्षा निकाय मात्रै होइन, सबैले सक्दो सहयोग गर्नैपर्छ, सबै जना एकताबद्ध भएर यो कठिन समयको सामना गर्नुपर्छ ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार