भारतमा बढ्दो स्वास्थ्य सेवाको माग अनुसार डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीको ठुलो अभाव रहेको एक अध्ययनले देखाएको छ । हाल भारतमा प्रत्येक १० हजार जनसङ्ख्यामा औसत १०.५ डाक्टर र १०.८ नर्समात्र उपलब्ध छन् । सबै नागरिकलाई पर्याप्त स्वास्थ्य सेवा उपलब्ध गराउन भारतलाई करिब १९ लाख थप डाक्टर र ७६ लाख नर्स आवश्यक पर्ने देखिएको छ ।
‘द ल्यान्सेट पब्लिक हेल्थ’को रिपोर्टअनुसार भारतमा प्रत्येक १० हजार जनसङ्ख्यामा सबै प्रकारका स्वास्थ्यकर्मीको सङ्ख्या औसत ७३.१ छ । यसमा ८.१ फार्मासिस्ट तथा फार्मेसी सहायक र २.५ दन्त चिकित्सक छन्, तर स्वास्थ्य प्रणालीमा आवश्यक अन्य विशेषज्ञ जनशक्तिको उपलब्धता निकै कम रहेको रिपोर्टले जनाएको छ ।
मानसिक स्वास्थ्य, पोषण, पुनस्र्थापना, दृष्टि उपचार तथा चिकित्सा प्राविधिक सेवाका विशेषज्ञको अभाव अझ गम्भीर छ । प्रत्येक १० हजार जनसङ्ख्यामा आहार तथा पोषण विशेषज्ञ र मनोवैज्ञानिकको सङ्ख्या केवल ०.३ रहेको रिपोर्टमा उल्लेख छ ।
चीन र अमेरिकाभन्दा भारत निकै पछाडि
स्वास्थ्य जनशक्तिको उपलब्धतामा भारत चीन र अमेरिकाभन्दा निकै पछाडि रहेको देखिएको छ । चीनमा प्रत्येक १० हजार जनसङ्ख्यामा १२९ स्वास्थ्यकर्मी छन् । चीनमा प्रत्येक १० हजार जनसङ्ख्यामा डाक्टरको सङ्ख्या ३१ भन्दा बढी र नर्सको सङ्ख्या ५१ छ ।
अमेरिकामा अवस्था अझ फरक छ । त्यहाँ प्रत्येक १० हजार जनसङ्ख्यामा ६७८ स्वास्थ्यकर्मी छन्, जसमा करिब ३० डाक्टर र १६१ नर्सिङ कर्मचारी छन् । रिपोर्टअनुसार मध्यमस्तरको सार्वभौमिक स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रत्येक १० हजार जनसङ्ख्यामा कम्तीमा २३.८ डाक्टर, ६४.५ नर्स तथा दाइ, ५.२ दन्त चिकित्सक र ५.६ फार्मासिस्ट आवश्यक पर्छ ।
स्वास्थ्य क्षेत्रमा महिलाको ठुलो भूमिका
भारतको स्वास्थ्य प्रणालीमा महिलाको भूमिका पनि उल्लेखनीय छ । त्यहाँ कुल स्वास्थ्यकर्मीमध्ये ६२ प्रतिशत महिला छन्, तर विभिन्न पेसामा महिलाको सहभागिता समान छैन । डाक्टरमध्ये महिलाको हिस्सा ३५.३ प्रतिशत रहे पनि नर्सिङ क्षेत्रमा यो ९० प्रतिशत र दाइ तथा प्रसूति सहयोगीमा ८९ प्रतिशत छ । दन्त चिकित्सकमा महिलाको हिस्सा ३१ प्रतिशत छ भने फार्मासिस्टमा केवल ५.२ प्रतिशत छ ।
नेपालमा प्रतिहजार जनसङ्ख्यामा १.८६ चिकित्सक र ४.४२ नर्स
नेपालमा भने सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२–०८३ अनुसार, हाल देशभर प्रतिहजार जनसङ्ख्यामा १.८६ चिकित्सक र ४.४२ नर्स उपलब्ध छन् । फागुन २०८२ सम्म नेपाल मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिलमा दर्ता स्वास्थ्यकर्मीको विवरणका आधारमा तयार गरिएको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा प्रतिहजार जनसङ्ख्यामा नर्सको संख्या २.८६ थियो ।
विभिन्न अध्ययनका अनुसार, नेपालमा स्वास्थ्य प्रणालीलाई सुचारु राख्न र नागरिकलाई गुणस्तरीय सेवा दिन ६५ हजारभन्दा बढी नर्सहरूको आवश्यकता देखिन्छ । स्वास्थ्य मन्त्रालय तथा सरोकारवाला निकायहरूको पछिल्लो प्रतिवेदन अनुसार, नेपालमा हाल करिब ५० हजार ५०० नर्समात्र कार्यरत छन् । जसले गर्दा तत्कालै १५ हजार नर्सहरूको प्रत्यक्ष अभाव छ ।
सन् २०३० सम्ममा नेपाल सरकारको प्रक्षेपण अनुसार देशको स्वास्थ्य प्रणालीलाई धान्न सन् २०३० सम्ममा ८१ हजार नर्स आवश्यक पर्नेछन् । त्यसो त नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ८८ हजार ५८३ भन्दा बढी रजिष्टर्ड नर्स दर्ता भइसकेका छन्, तर न्यून तलब र अत्यधिक कार्यबोझका कारण ठुलो सङ्ख्यामा नर्सहरू बेलायत, अष्ट्रेलिया र अमेरिका पलायन भइरहेकाले आन्तरिक अस्पतालहरूमा दरबन्दी खाली नै छन् ।
जनसङ्ख्या अनुपातः पछिल्लो आर्थिक सर्वेक्षण अनुसार हाल नेपालमा प्रति १,००० जनसङ्ख्या बराबर ४.४२ नर्सहरू उपलब्ध छन् । सर्वेक्षण अनुसार देशभर सरकारीस्तरमा ८ हजार ९७६ स्वास्थ्य संस्था सञ्चालनमा छन् । ती संस्थामा ४२० अस्पताल, १८१ प्राथमिक स्वास्थ्य केन्द्र, ३ हजार ६०३ स्वास्थ्य चौकी, ४२६ आयुर्वेद औषधालय तथा ४ हजार ३४६ उपस्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र छन् ।
सरकारी स्वास्थ्य संस्थामा १८ हजार ६४० शय्या र एक लाख ४७ हजार ७५६ स्वास्थ्य जनशक्ति कार्यरत छन् । यद्यपि विशेषज्ञ चिकित्सकको अभाव, दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी टिकाउन चुनौती तथा अस्पतालमा आवश्यक उपकरणको कमीका कारण, विशेषगरी काठमाडौँ बाहिरका जिल्लामा स्वास्थ्य सेवा प्रभावित भइरहेको सर्वेक्षणले औँल्याएको छ ।
विश्वभर नर्सको अभाव
स्वास्थ्यकर्मीको अभाव नेपाल तथा भारतमा मात्र सीमित छैन । सन् १९९० देखि २०२३ सम्म विश्वको स्वास्थ्य श्रमशक्ति तीन गुणाले बढेर ४.०९ करोडबाट १२.२१ करोड पुगे पनि सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउन अझै ३.४४ करोड थप स्वास्थ्यकर्मी आवश्यक रहेको रिपोर्टले जनाएको छ । विश्वव्यापी रूपमा सबैभन्दा ठुलो अभाव नर्स र दाइको रहेको छ । स्वास्थ्य सेवा प्रणालीको आवश्यकता पूरा गर्न विश्वलाई थप २.३९ करोड नर्स तथा दाइ आवश्यक पर्ने अध्ययनले देखाएको छ ।

