२०८३ भदौ १२ , शुक्रबार 28, August 2026, Friday

भोटेकोशी बाढीले बगाएका २८ जनाको शव तनहुँमा फेला

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले बगाएका व्यक्तिको खोजीका क्रममा तनहुँमा हालसम्म २८ जनाको शव फेला परेको छ । बाढीले बगाएर त्रिशूली नदी हुँदै तनहुँसम्म आइपुगेका शव देवघाट र आँबुखैरेनी क्षेत्रबाट फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार बुधबार नौ जनाको शव फेला परेको थियो ।

ती शवलाई पहिचान तथा आवश्यक प्रक्रियाका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ । बिहीबार थप १९ जनाको शव फेला परेको छ । तीमध्ये १४ जनाको शव गण्डकी अस्पताल पोखरा पठाइएको छ भने पाँच जनाको शव दमौली अस्पतालमा राखिएको छ । तनहुँ जिल्लाभित्र हालसम्म २८ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । शव पहिचान भएपछि सम्बन्धित परिवारसँग समन्वय गरी जिम्मा लगाउने तयारी गरिएको छ । बाढीबाट बगाएर ल्याएका थप शव खोज्न शुक्रबार पनि त्रिशूली नदी किनार क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ । प्रहरी उपरीक्षक कार्कीको नेतृत्वमा विभिन्न स्थानमा खोज तथा उद्धार कार्य भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे, प्रहरी निरीक्षक प्रदीप सुवेदी, प्रहरी निरीक्षक आशीष पोखरेल र प्रहरी निरीक्षक अमृत लामिछानेको कमाण्डमा समेत विभिन्न स्थानमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रिशूली नदी किनार तथा आसपासका क्षेत्रमा थप शव हुन सक्ने भएकाले शुक्रबार पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । नदी किनार वा आसपासमा शव देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन जिल्ला प्रहरी कार्यालय तनहुँले सबैसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार