२०८३ भदौ १२ , शुक्रबार 28, August 2026, Friday

भोटेकोशीमा जोखिम कायमै, अर्को बाढीको खतरा

भोटेकोशीमा भीषण बाढी निम्त्याएको लाङटाङ लिरुङ क्षेत्रबाट अर्को बाढी आउन सक्ने उच्च जोखिम देखिएको छ । नेपाल र चीन दुवैतर्फ सतर्क रहनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । नेपाल तथा चीनका विज्ञहरूबिच उक्त क्षेत्रमा सम्भावित जोखिम र न्यूनीकरणका उपायबारे गम्भीर छलफल अझै जारी छ ।

चीनमा रहेका नेपालका विपतविज्ञ वसन्तराज अधिकारीका अनुसार हिमनदीको मुहानको ठुलो हिस्सा खसेर बनेका खाल्टामा ताल बनेको छ । पानी भरिएर विस्फोट भयो भने अर्को बाढी आउने प्रबल सम्भावना रहेको उनले औँल्याए ।

उनले भने, ‘माथिबाट हिउँको ढिक्कासहितको पहिरो बजारिँदा नदी छेउमै बनेका खाल्टाखुल्टीमा पानी जमेको देखिएको छ । वरिपरि बुधबारको बाढीले कच्चा ड्याम सिर्जना गरेको छ । पानी भरिएको खण्डमा त्यो फुटेर बाढी आउने जोखिम कायमै छ ।’

बुधबार लेदोसहितको बाढी ल्हेन्दे खोला हुँदै नेपालको भोटेकोशीमा मिसिएको थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जलस्रोतविज्ञ राजेन्द्र शर्माले पनि उक्त क्षेत्रमा पोखरीमा पानी जमेको पुष्टि गरे ।

प्राधिकरणको उच्चस्तरीय टोली र चिनियाँ पक्षबिच बिहीबार उक्त विषयमा छलफल भएको छ । नेपाल र चीन दुवैतर्फ भविष्यमा सम्भावित क्षति हुन नदिन सतर्कता अपनाउनुपर्नेमा दुई देशका टोली सदस्यहरूले जोड दिएको जानकारी उनले दिए ।

चिनियाँ पक्षले दिएको जानकारी सुनाउँदै शर्माले भने, ‘चट्टानसहित हिउँको ढिक्का खसेको स्थानमा बिहीबार दिउँसोसम्ममा २० लाख घनमिटर पानी जम्मा भइसकेको अवस्था छ, माथिबाट थप ३० लाख घनमिटर पानी खसेर जम्मा हुने सम्भावना उच्च छ ।’ उक्त मात्रामा पानी जमेको खण्डमा पोखरी फुटेर अर्को बाढी निम्तिन सक्ने उच्च सम्भावना छ ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार